खोपबारे गन्तव्य देशको विभेदकारी नीति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोपबारे गन्तव्य देशको विभेदकारी नीति

सरोकारवाला भन्छन्– ‘आफूले मान्यता दिएको खोप नेपालमा उपलब्ध छैन भन्ने थाहा हुँदाहुँदै कामदारलाई अप्ठ्यारोमा पार्नु न्यायोचित भएन’
होम कार्की

काठमाडौँ — खाडीसहितका गन्तव्य देशले आफ्नो मुलुकमा प्रयोग भएको खोप लगाएका श्रमिकलाई मात्रै लैजाने नीति बनाएपछि नेपाली युवा समस्यामा पर्ने भएका छन् । गन्तव्य देशहरूले प्रयोग गरेका सबै खोप नेपालमा उपलब्ध छैनन् । नेपाल ल्याइएका कोभिसिल्ड र भेरोसेल खोप पनि सबैले लगाउन पाएका छैनन् ।

फाइल तस्बिर : रोयटर्स

खोटाङ दिक्तेलका २३ वर्षीय रमेश राई वैशाख २४ गते संयुक्त अरब इमिरेट्स (यूएई) उड्दै थिए । यूएई जान उनी डेढ वर्षदेखि प्रतीक्षारत थिए । उनी जानु एक दिनअगाडि मात्रै रोकिएको अन्तर्राष्ट्रिय उडान अझै सुचारु भएको छैन । ‘म अभागी रैछु । एउटै कम्पनीमा ३० जनाको भिसा लागेर आएको थियो । अघिल्लो दिन १५ जनाको टिकट थियो, उनीहरू उड्न पाए,’ उनले भने, ‘हामी १५ जना भने उड्न पाएनौं ।’

पहिला यूएईले उडानमा प्रतिबन्ध लगाएको थिएन, नेपालले लगाएको थियो । अहिले नेपालले खोलेको छ तर यूएईले खोलेको छैन । ‘यूएई जान भनेर मेरो पैसा मात्रै होइन, समय पनि खेर गयो, काठमाडौं आउजाउ, स्वास्थ्य परीक्षणलगायत म्यानपावरलाई तिर्दा दुई लाख रुपैयाँ सकियो,’ उनले भने, ‘अब कहिले कमाउने ? कहिले त्यत्रो ऋण तिर्ने ? बेकार तनाव मात्रै थपियो ।’

यूएईले आफूहरूले मान्यता दिएको खोप नेपालमा छैन भनेर प्रवेशमा निषेध गरेको छ । यूएई, कुवेतलगायत प्रमुख गन्तव्य देशहरूले बिदामा आएका कामदारलाई नयाँ भिसा प्रदान गरे पनि लगेको छैन । आप्रवासी कामदारको सवालमा अध्ययन गर्ने इक्विडियम नेपालका अनुसार गन्तव्य देशहरूको नीतिका कारण कामदारहरूको समय र लगानी खेर गइरहेको छ । ‘खोप लगाउने कार्यमा विश्वमै अगाडि देखिएका यूएईजस्ता देशहरूले विकल्पबेगरको निषेधकारी नीति लागू गरेको देखियो,’ इक्विडियम नेपालका प्रमुख रामेश्वर नेपालले भने, ‘गन्तव्य देशहरूलाई नेपालमा आफूहरूले मान्यता दिएको खोप छैन भन्ने थाहा छ । कि त उनीहरूले जति जना कामदार लैजाने हो, त्यति नै खोप पठाइदिनुपर्थ्यो । विकल्प नदिई सर्त मात्रै राखेर समस्या समाधान हुँदैन ।’

अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा संक्रमण निरोधकलगायतका स्वास्थ्य सेवामा आप्रवासीलाई विभेद गर्न नहुने उल्लेख छ । ‘कामदार पठाउने देशले केही कारणले खोप ल्याउन सकेको छैन, खोप नपाउँदा कामदारले दुःख पाइरहेका छन्,’ दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले भने, ‘अहिले गन्तव्य देशहरूको नीति विभेदकारी छ । २० औं वर्षदेखि नेपालीबाट सेवा लिइरहेका, आर्थिक रूपमा सक्षम ती देशहरूले नेपाललाई खोप पठाउनुपर्थ्यो र खोप लगाएर कामदारलाई लैजानुपर्थ्यो ।’

गन्तव्य देशहरूले आफ्नो फाइदा मात्रै हेरेको बस्नेतको बुझाइ छ । ‘गन्तव्य देशमा धेरै नेपालीले ज्यान गुमाए । अंगभंग भए । पेसाजन्य रोग लिएर स्वदेश फिरे । नेपालले त्यसको कहिल्यै क्षतिपूर्ति मागेन तर यस्तो महामारीका बेला खोप नलगाए हामी लैजाँदैनौं भन्नु अमानवीय कार्य हो,’ उनले भने, ‘यो अवस्थामा गन्तव्य देशहरूले ध्यान दिनुपर्छ । मिलाउनुपर्छ । यसलाई कुनै कारणले ठूलो विषय बनाउनु हुँदैन ।’ नेपालले तत्काल खोप ल्याइहाल्ने अवस्था आए पनि वैदेशिक रोजगारीमा जाने उमेर समूहले पाउने अवस्था छैन । अहिले उड्न तयार भएर बसेका र भर्ना प्रक्रियामा रहेका कामदार समस्यामा छन् । वैदेशिक रोजगार विभागका अनुसार खाडीमा मात्रै झन्डै एक लाख कामदारको माग छ । तर, वैदेशिक रोजगारीमा जानेलाई खोप दिने मोडालिटी बनेको छैन । ‘यहाँबाट खोप लगाएर उड्ने कि गन्तव्य देशको कार्यस्थलमा पुगेपछि खोप लगाउने भन्ने विषयमा स्पष्ट हुनुपर्छ, यहाँबाट दुई डोज खोप लगाएर जान कामदारले कम्तीमा दुई महिना पर्खनुपर्छ,’ विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले भने, ‘रोजगारदातालाई छिटो कामदार चाहिएको हो भने हामी यहाँबाट पीसीआर परीक्षण गरेर पठाउँछौं । उनीहरूले उता लगेर क्वारेन्टाइनमा राखून् ।’

उनले नेपालमा उपलब्ध हुने खोपलाई गन्तव्य मुलुकले मान्यता दिनुको विकल्प नरहेको बताए । विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई खोपको विषयमा परराष्ट्र मन्त्रालयमार्फत प्रस्ट पार्न ढिलाइ भइसकेको जानकारी गराएको छ । ‘हामी त मान्छे मात्रै पठाइदिन्छौं, त्यसभित्रको प्राविधिक पाटो विभागले बुझ्दैन । त्यसका लागि परराष्ट्रले सम्बन्धित देशसँग उच्चस्तरीय छलफलका लागि समन्वय गर्न जरुरी भइसकेको छ,’ उनले भने । ‘खोपको खाकाको कुरा गरेन भने वैदेशिक रोजगारीलाई असर पुर्‍याउँछ ।’

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार सरकारले रोजगारीमा जाने कामदारलाई गन्तव्य देशबाट लिइएको नीतिबारे बेखबरझैं देखिन्छ । ‘अहिले जुन तहमा समन्वय, छलफल वा पहल हुनुपर्दथ्यो, त्यसमा सरकार निकै पछाडि पर्‍यो,’ संघका महासचिव सुजित श्रेष्ठले भने, ‘समाधानका लागि बलियो श्रम कूटनीति आवश्यक छ ।’

प्रकाशित : असार २४, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारीमा खोप मुख्य सर्त

दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतमा कामदार आपूर्ति बन्द
कुवेतले साउन १७ देखि कामदार लिने तर खोप लगाएका मात्रै, साउदी अरबमा खोप वा १० दिन क्वारेन्टाइन
कतार र बहराइनमा १० र ओमनमा ७ दिन क्वारेन्टाइन
होम कार्की

काठमाडौँ — प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् ।

कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लगिरहेका छन् ।

कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो । कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । ‘खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी,’ उनले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड भयो ।’ कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।

यूएईले वैशाख २३ देखि नेपालबाट कामदार लिएको छैन । कोरोनाको ठूलो मारमा परेको भारतलाई भने उसले खुला गरेको छ । कात्तिकयता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको छ । कामदार छनोट गरी उडान भर्ने बेला यूएईले नेपालमाथि प्रतिबन्ध लगाएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालमा कोरोनाको संक्रमण दर घटिरहेको हुनाले प्रतिबन्ध खोल्न यूएई सरकारलाई अनुरोध भइसकेको बताए । ‘नेपालले खोप उपलब्ध नगराएसम्म यूएईले कामदार लिने सम्भावना देखिँदैन,’ त्यहाँ कार्यरत एक नेपाली व्यवसायीले भने, ‘यूएईको सर्त नै खोप हो ।’ यूएईको स्वास्थ्य मन्त्रालयले गत असार ९ मा जारी गरेको सूचनाअनुसार फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड– अस्ट्राजेनेकाको खोपलाई मात्रै त्यहाँ मान्यता दिइएको छ । अक्सफोर्ड– अस्ट्राजेनेकाको कोभिसिल्ड खोप पहिले भारतबाट ल्याइए पनि हाल उपलब्ध छैन । सिनोफार्मको भेरोसेल खोप नेपालमा ल्याइए पनि पर्याप्त छैन ।

कुवेतले कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै नेपालबाट कामदार लगेको छैन । आउँदो साउन १७ गतेदेखि भने खोप लगाइसकेका कामदार आउन पाउने सूचना जारी गरेको छ । कुवेतले पहिला नै भिसा भएका तर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । तर कुवेत जान त्यहाँको सरकारले अनुमोदन गरेका अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोप लगाउनुपर्नेछ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने कुवेत सरकारले जनाएको छ । ‘कुवेतले भनेको खोप हाम्रोमा छैन । हामी नेपालको यथार्थता जानकारी गराउने प्रयासमा छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने ।

सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरबले एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रु नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । नागरिक उड्डयन प्राधिकरण, साउदीका अनुसार त्यहाँ जाने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको आधिकारिक प्रमाणपत्र पेस गर्नुपर्छ ।

‘अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, मोडर्नाको दुई डोज खोप र जोन्सनको एक डोज लगाएको यात्रुलाई मात्रै बोक्ने अनुमति छ,’ निर्देशनमा उल्लेख छ, ‘अन्तिम डोज लगाएको भने १४ दिन घटी हुनुहँॅदैन ।’ खोप नलगाएका कामदारलाई भने १० दिन अनिवार्य क्वारेन्टाइनमा राखिएको साउदीको रियादस्थित जिओल्यान्ड ट्राभलका प्रतिनिधि सुरेशराज त्रिपाठीले बताए । ‘खोप लगाएकाहरू सिधै कम्पनीको क्याम्पमा जान पाउँछन् । खोप नलगाएकाहरू आउने हो भने टिकट काट्ने समयमा नै क्वारेन्टाइनबापतको शुल्क भुक्तानी गर्नुपर्छ । जसले गर्दा साउदी आउन सामान्यतया एक लाख ६० हजार रुपैयाँ परिरहेको छ,’ उनले भने, ‘कम्पनीले नतिरेको खण्डमा कामदार आफैंले यो रकम तिर्नुपरेको छ । रकम तिर्न नसक्नेहरू नेपालमै अड्किएर बसेका छन् ।’ साउदीको जेद्दास्थित कार्यवाहक कन्सुलर जेनेरल शत्रुवन पोखरेलका अनुसार मागपत्र प्रमाणीकरण गर्ने बेलामा नै कम्पनीले क्वारेन्टाइनको खर्चको जिम्मेवारी लिएको छ । साउदीको आन्तरिक मन्त्रालयको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएकाले मात्रै काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिए जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

कतारले भने खोप नलगाएका कामदारलाई पनि प्रवेश अनुमति दिएको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार कतारमा दिनमा ४० हजारलाई खोप दिइँदै छ । ‘क्वारेन्टाइन बसेकालाई कतार सरकारले नै खोपको प्रबन्ध गरिदिएको छ’, उनले भने, ‘कतार आएपछि १० दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।’ ओमान र बहराइनले नयाँ भिसा जारी गरेका छैनन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले आवासीय भिसा भएका कामदार आउन भने रोक नभएको बताइन् । ‘जोसँग रोजगारको भिसा छ । उनीहरू क्वारेन्टाइनमा ७ दिन बस्ने गरी आउन पाउँछन्,’ उनले भनिन् । गैरआवासीय नेपाली संघ बहाराइनकी अध्यक्ष लक्ष्मी गिरीका अनुसार यूएईले नेपाली आउन नदिँदा बहराइनमा समेत नेपाली जान नपाएको बताइन् । ‘बहराइनसँग सिधा उडान छैन । यूएई ट्रान्जिट भएर आउनेमा त्यहाँको उडानले नेपाली बोक्दैनन्,’ उनले भनिन् ।

गन्तव्य मुलुकहरूले खोपलाई सर्त बनाएपछि नयाँ र बिदामा आएका नेपाली रोजगारविहीन छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले समस्यमै खोप व्यवस्थापन गर्न नसके नेपालको वैदेशिक रोजगार धराशायी बन्न सक्ने बताए । ‘खोप नलगाएका देशका कामदार गन्तव्य मुलुकहरूको प्राथमिकतामा परेका छैनन् । हामीले आवश्यक खोप व्यवस्थापन गर्न सकेको भए कामदारमाथि रोक लाग्ने थिएन,’ उनले भने । वैदेशिक रोजगारीमा गएका नेपालीले गत आर्थिक वर्षमा मात्रै झन्डै ८ सय ७५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।

प्रकाशित : असार २१, २०७८ ०६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×