१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सार्वजनिक सवारी र सरकारी सेवास्थलमै लागू भएन स्वास्थ्य मापदण्ड

विद्या राई

काठमाडौँ — बुधबार दिउँसो १ बजे लगनखेल रुट चल्ने टेम्पो रत्नपार्कमा यात्रु कुरिरहेको थियो । केहीबेरमा पछाडिका सिटमा पाँच जना चढे । टेम्पो गुड्नै आँटेको थियो, एक जना हस्याङफस्याङ गर्दै आइपुगे । सिटको छेउपट्टि बसे । टेम्पो अघि बढ्यो । 

सार्वजनिक सवारी र सरकारी सेवास्थलमै लागू भएन स्वास्थ्य मापदण्ड

भर्खरै चढेका एक यात्रु मुखको मास्क चिउँडोमा सारेर पसिना पुछ्न थाले । यो देखेर अरू यात्रु उनैलाई एकोहोरो हेर्न लागे । टेम्पोको पछाडि तेर्सो सिटको बीचमा पारदर्शी प्लास्टिकले बार लगाइएको भए पनि हावाले सरेर छेउमा पुगेको थियो । ‘गाडी–टेम्पो नचढौं आफ्नो साधन छैन, बाध्यताले चढ्नै पर्‍यो,’ थापाथली ओर्लिएकी रविना घिमिरेले भनिन्, ‘भौतिक दूरी त कुरै छोडौं, मान्छेहरू मास्कसमेत मजाले लगाइदिन्नन्, डरमर्दो छ ।’

उनले भनेजस्तै सबैजसो सार्वजनिक सवारीमा तोकिएको सिट क्षमताअनुसार यात्रु चढाएको पाइए पनि पर्याप्त स्वास्थ्य मापदण्ड अपनाइएको छैन । उपत्यकाका तीनै जिल्ला प्रशासनले असार २२ गतेबाट लागू हुने गरी सार्वजनिक सवारीमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्क लगाउनुपर्ने, नलगाउनेलाई सवारी प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने, सवारीसाधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने, दैनिक डिसइन्फेक्सन गर्नुपर्ने मापदण्ड तोकेको छ । तर एकदमै थोरै चालक र सहचालकहरूले मात्रै भाइजर र पन्जा प्रयोग गरेको पाइएको छ । मास्क लगाए पनि कतिपयले चिउँडोतिर अल्झाउने, गाडीमा यात्रु चढाउने, ओराल्ने र ट्राफिक चेकिङ हुने ठाउँमा मात्रै लगाउने गर्छन् । ‘असुरक्षित होऔं भन्ने हाम्रो नि रहर होइन, सेनिटाइजर प्रयोग गरिराखेका हुन्छौं, गर्मीले गर्दा मास्क, पन्जा, भाइजर लगाइराख्नचाहिँ झिजो लाग्छ,’ चालक हरि तामाङले भने, ‘घरीघरी त हावा खानुपर्‍यो नि हैन र ?’

सफा टेम्पो तथा नीलो माइक्रोको मध्य भागमा प्लास्टिक लगाउने, पछाडि तेर्सो सिटमा ४/४ जना र चालकको छेउमा एक जना गरी ९ जनाभन्दा नचढाउने जिल्ला प्रशासनले जारी गरेको मापदण्डमा उल्लेख छ । तर प्लास्टिक राखिए पनि कतै झरेको त कतै सरेर छेउमा पुगेको हुन्छ । सवारीसाधनको ढोकामा सेनिटाइजर राखिएको हुँदैन । यात्रु आफैंले पनि चढ्ने, ओर्लिन क्रममा कमले मात्रै सेनिटाइजरको प्रयोग गर्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सार्वजनिक सवारीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको कडा निगरानी राख्न उपत्यकाभरि दैनिक करिब १४ सय ट्राफिक प्रहरी परिचालन गरिएको बताए । स्वास्थ्य मापदण्ड पालना गर्न हेलचक्य्राइँ गर्ने करिब ५० जति सवारीसाधन दैनिक कारबाहीमा पर्दै आएको उनको भनाइ छ । सार्वजनिक यातायातमा मात्रै होइन, सार्वजनिक थलो, सरकारी कार्यालयमा समेत स्वास्थ्य मापदण्ड पालना भएको छैन । मापदण्डमा सर्वसाधारण घरबाहिर निस्कँदा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा मास्कको प्रयोग, पटकपटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने उल्लेख छ ।

बुधबार दिउँसो ११ बजे मीनभवनस्थित निजामती कर्मचारी अस्पतालभित्र सेवाग्राहीले खचाखच भरिएको थियो । कुरुवा बस्ने, बिल काउन्टर, ओपीडी सबैतिर सेवाग्राहीको भीड देखिन्थ्यो । अस्पतालको बाहिरपट्टि कम्पाउन्डमा कोरोना खोप लगाउनेको लाइन थियो । भीड व्यवस्थापन गर्न सुरक्षा गार्डसमेत खटाइएको थिएन । अस्पताल नजिकै रहेको नागरिक लगानी कोषमा दर्ता/चलानी, सोधपुछ, ई–सेवा र मोबाइल एप प्रयोगसम्बन्धी जानकारी लिने, दर्ता परिचयपत्र नम्बरलगायत सेवा प्रवाह गर्ने सबैजसो कोठाका झ्यालमा सेवाग्राही झुम्मिएका थिए । बबरमहलस्थित हुलाक सेवा विभागमा पनि उस्तै अस्तव्यस्त भीड देखिन्थ्यो ।

जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित कोरोना खोपले गर्दा अस्पतालमा बढेको भीडभाडले जोखिम निम्तिरहेकाले वडा कार्यालयबाटै व्यवस्थित सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिन्छन् । उनले बुधबार बिहान ट्वीट गरेका छन्, ‘अस्पतालहरू अगाडि खोप लिनेहरूको लाइन देख्दा त तेस्रो लहरको सुरुवात त्यतैबाट पो होला जस्तो १ त्यसमाथि गर्मी, हिलो, पानीमा उभिनुपर्ने बाध्यता । वडा वडामै यो सेवा व्यवस्थित हिसाबले प्रदान गर्नबाट केले रोक्यो राज्यलाई ? अब भीडभाड भयो भनेर फेरि पनि खोप कार्यक्रम नै रोक्ने त होइन ?’

उपत्यकाभित्र साँझ ७ बजेभित्र रेस्टुरेन्ट एवं फास्टफुडमा टेक अवे वा होम डेलिभरी सञ्चालन गर्ने भनिए पनि उक्त मापदण्ड लागू भएको छैन । रेस्टुरेन्ट, खाजा पसल, बेकरीहरूमा भीडभाड बढेको छ । स्वास्थ्य मापदण्ड अपनाउने सर्तमा व्यवसाय, यातायात सञ्चालन तथा आवतजावत खुला गरिएपछि उपत्यकामा अस्पताल, यातायात, सरकारी कार्यालय, तरकारी पसल, सपिङ सेन्टर, बजार पसलहरूमा भीडभाड बढेको छ । चोक, गल्लीहरूमा सवारी जाम देखिन्छ । बिहान–बेलुकी फुटपाथ पसलले गर्दा पैदल यात्रुले सहजै हिँड्न पाउँदैनन् ।

दैनिक दुई हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको अवस्थामा बढ्दो चहलपहलले झन् जोखिम निम्त्याउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताए । ‘स्वास्थ्य मापदण्डका बारेमा कति सर्वसाधारणलाई जानकारी नै छैन, जानकारी भएकाले पनि पालना गरिरहेका छैनन्,’ उनले भने, ‘दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्, उनीहरू आइसोलेसनमा बसेका छन् भन्ने ग्यारेन्टी गर्ने सरकारी मेकानिजम छैन ।’

प्रकाशित : असार २४, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?