१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जोखिममा ३ सय पुल

मुख्य राजमार्गका ८ सय पुल ४० वर्षभन्दा पुराना, मर्मतमा बर्सेनि करोडौं खर्च
विमल खतिवडा

काठमाडौँ — सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित चीन जोड्ने उत्तरी तातोपानी नाका अहिले ठप्प छ । अविरल वर्षासँगै आएको पहिरोले असार २ मा लिपिङ खोलामा पुलको ‘एप्रोच’ सडक बगाएपछि सवारी आउजाउ बन्द भएको हो । भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाका अनुसार पुलपारिसम्म चीनबाट कन्टेनरमा सामान आउँछ ।

जोखिममा ३ सय पुल

त्यहाँबाट स्थानीयले बोकेर कोदारी बजारसम्म सामान ल्याउँछन् । सडक डिभिजन चरिकोटका इन्जिनियर गोविन्द दुमरुले अरनिको राजमार्गको कोदारी खण्डमा ५० मिटर सडक भासिएकाले लिपिङमा पुगेर सडक–पुल मर्मत गर्ने अवस्था नरहेको बताए । बर्खालगत्तै जिर्ण बनेको पुलमा थप क्षति नहोस् भनेर व्यापारीले भत्किएको ठाउँमा त्रिपालले ढाकेका छन् ।

अविरल वर्षाले सडक–पुलमा क्षति गराएको यो एउटा उदाहरण मात्रै हो । मुख्य राजमार्गका पुराना पुल सामान्य प्राकृतिक प्रकोप वा अन्य कुनै धक्काले जुनसुकै बेला भत्किने अवस्थामा छन् । हरेक बर्खामा पुल भासिने, भत्किने र दुर्घटना हुने जोखिम छ । मुख्य राजमार्गमा करिब २ हजार र भित्री राजमार्गमा ४ सय पुल छन् । मुख्य राजमार्गका ८ सय पुल ४० वर्षभन्दा पुराना छन् । तिनैमध्ये पर्छ, चितवनको नारायणगढ–गैंडाकोट जोड्ने नारायणी नदीको पुल । यो पुल २०३८ सालमा सञ्चालनमा आएको हो । पुलबाट दिनमा करिब १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । बल्ल नयाँ पुलको निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको सडक विभागअन्तर्गतको पुल महाशाखाले जनाएको छ ।

पुल महाशाखाका अनुसार प्रत्येक वर्ष कम्तीमा ३/४ वटा ठूला पुलमा समस्या आउने गरेको छ । साँघुरो पुलमा मर्मत गर्नसमेत समस्या हुने गरेको छ । पुलमा समस्या आउनासाथ सवारी आवागमन रोक्नुपर्ने बाध्यता छ । महाशाखाले साढे दुई वर्षअघि नै पुरानामध्ये कम्तीमा ३ सय वटा पुलको मर्मत वा विस्थापन गर्नुपर्ने औंल्याएको थियो । यीमध्ये धेरैलाई मर्मत गरेर चलाइएको छ । केहीको नयाँ ठेक्का लागेको छ । ठूला पुल मर्मतमा मात्र बर्सेनि करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ ।

पुराना पुल बढी पूर्व–पश्चिम राजमार्गमा छन् । काँकडभिट्टादेखि ढल्केबर खण्डका पुलमा बेलाबेला समस्या आउने गरेको छ । रुसले बनाएको पथलैयादेखि ढल्केबरसम्मका ५५ पुलमा भने बढी समस्या आउने गरेको सडक विभागले जनाएको छ । त्यहाँका प्रायः पुल सन् १९७४ मा हस्तान्तरण गरिएका हुन् । प्रायः पुराना पुल ‘सिंगल लेन’ (एकतर्फी सवारीसाधन गुड्ने) प्रकृतिका छन् । सडक भने २ लेनको छ ।

पुलमा ठूलो लगानी हुने भएकाले राम्रो अध्ययन गरेर मात्र ठेक्का लगाउनुपर्ने पूर्वभौतिक सचिव तुलसी सिटौला बताउँछन् । ‘डिजाइन गर्नेले सबै कुरा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘निर्माण गर्नेले ठीक समयमा निर्माण नगरेर पनि समस्या आएको छ । हतारमा डिजाइन गर्ने प्रवृत्तिले निकै समस्या छ ।’ उनले क्षमताभन्दा बढी संख्यामा बनाउँदा पनि त्रुटि देखिने गरेको बताए । उनले ५० वर्षका लागि पुलको डिजाइन गरिने हुनाले पुराना पुल विस्थापन गर्नुपर्नेमा जोड दिए ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ खण्डस्थित दुधौरा पुलमा नयाँ ठेक्का लगाएर काम भइरहेको जानकारी दिए । ‘पथलैयादेखि कमलासम्म ७६ वटा नयाँ पुल निर्माण गर्दै छौं,’ उनले भने, ‘यो खण्डमा रसियनले ५५ र भारतले २१ वटा पुल बनाएका छन् । भारतले बनाएका पुलमा धेरै मर्मत गर्नुपरेको छैन, रसियनले बनाएका पुलमा बढी समस्या छ ।’ कोसीदेखि काँकडभिट्टासम्म करिब ४५ वटा पुल छन् । नारायणगढ–बुटवल खण्डमा ३३ वटा पुल छन् । थापाका अनुसार बुटवल–नारायणगढ सडक विस्तारसँगै यो खण्डका साना सबै पुल भत्काएर नयाँ बनाइँदै छ । ‘पुराना २० मिटरसम्मका पुल भत्काइएको हो,’ उनले भने, ‘एउटा पुलको ठाउँमा दुइटा निर्माण गर्न लागिएको छ ।’

महानिर्देशक थापाले सन् २०२४ भित्र मेचीदेखि बुटवलसम्म सबै नयाँ पुलको ठेक्का हुने दाबी गरे । बुटवल–नारायणगढ खण्डमा भने ठेक्का भएर काम सुरु भएको छ । कमलादेखि कञ्चनपुर खण्डमा पनि ठेक्का लागिसकेको थापाले बताए ।

पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठले पूर्व–पश्चिम राजमार्गमा धेरै पुराना पुलमा सवारी चलिरहेको जानकारी दिए । यसपालिको बाढीपहिरोले १५ र हावाहुरीले ३ वटा पक्की पुलमा क्षति पुगेको उनले बताए । हावाहुरीका कारण बन्दै गरेका पुलसमेत ढलेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त पुलको एक महिनाभित्र प्रतिवेदन पेस गर्न पुल महाशाखाका उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । पुल महाशाखाले क्षतिबारे अहिलेसम्म खुलाएको छैन । नेपाल निर्माण व्यवसायी महासंघले भने १८ वटा पुलमा अनुमानित ५० करोड रुपैयाँको क्षति भएको जनाएको छ ।

पप्पुकै कब्जामा निर्माणाधीन पुल

हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा नआउँदै भासिएको छ । यो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले लिएको हो । २४ करोड ९० लाख ९७ हजार रुपैयाँमा बनाउने यसको ठेक्का सम्झौता २०६८ जेठ ३१ मा भएको थियो । २०७१ मंसिरमा सम्झौताको म्याद सकिए पनि पुल बनिसकेको छैन । पुल कसरी भासियो भन्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन गर्दै छ । पप्पुले ठेक्का लिएर पुल भासिएको यो पहिलो घटना भने होइन । जहाँ पप्पु कन्स्ट्रक्सन जोडिन्छ, त्यहाँ केही न केही समस्या आइरहने सडक विभाग स्रोतले जनायो ।

पप्पुले एक्लै र अरूसँग मिलेर ठेक्का लिएका पुलमा कतै निर्माणको काम अघि बढ्न सकेको छैन भने कतै काम थालेर निर्माण अलपत्र छ । थोरै संख्यामा मात्र निर्माण सकिएको छ । बनिसकेका पुलको गुणस्तरमा समेत बारम्बार प्रश्न उठ्दै आएको छ । पप्पुले निर्माणको जिम्मा लिएको काठमाडौंको तीनकुनेको पुल समयमै नसक्दा र गुणस्तरीय काम नगर्दा ठेक्का तोडियो । पप्पुले नै निर्माण गरेको टेकु पुल सञ्चालनमा आउन सकेको छैन । उक्त पुल प्राविधिक रूपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको हो ।

सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार स्थानीय सडक पुलतर्फ ७ र रणनीतिकतर्फ २८ वटा पुलको ठेक्का पप्पुले एक्लै र अरूसँग मिलेर लिएको छ । पुलमा मात्र पप्पु संलग्न ठेक्का ७ अर्ब ७१ करोड ६८ लाख ३४ हजार रुपैयाँको छ । पप्पुले गर्दा नै आयोजना सम्पन्न हुन ढिलाइ भइरहेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक रोहितकुमार बिसुरालले बताए । पप्पुले मात्र सिंगल ठेक्का लिएकामा लामो समय काम अलपत्र हुने गरेको उनको भनाइ छ । गुणस्तरहीन काम गरेको भन्दै २०७९ साउन १२ सम्मका लागि पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ । यो अवधिमा उसले नयाँ ठेक्का पाउँदैन । पुराना चालु ठेक्कामा भने काम गर्न पाउँछ ।

प्रकाशित : असार २४, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?