कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वत बाढी : मोदीखोलामा देखियो गाडी, बेपत्ताहरूको खोजी जारी [अपडेट]

अगन्धर तिवारी

पर्वत — कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा मंगलबार राति पहिरोपछि आएको बाढीले बगाएको गाडी फेला परेको छ । गाडीसँगै बेपत्ता भएकाहरूको अवस्था भने अझै अज्ञात छ । 

पर्वत बाढी : मोदीखोलामा देखियो गाडी, बेपत्ताहरूको खोजी जारी [अपडेट]

घटनास्थलदेखि करिब ७०० मिटर तल मोदीखोलामा डुबेको अवस्थामा बुधबार दिउँसो गाडी भेटिएको हो । प्रदेश ३–०१–०२३–३६४२ नम्बरको हाइलक्स गाडी उर्लिएको मोदीखोलाको दोबिल्लातर्फको भागमा थोरै मात्र देखिएको छ । बागलुङस्थित विपत् व्यवस्थापन गुल्मको टोलीले गाडी बाहिर निकाल्ने प्रयास गरिरहेको छ । ‘गाडीको केही भाग देखिएपछि डोरी लगाएर पुलीले तान्ने प्रयास भइरहेको छ,’ पर्वत प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले भने, ‘ठूलो ढुंगामा अड्किएकाले निकाल्न कठिन भइरहेको छ ।’

सुन्दरे खोलामा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै आएका विश्व श्रेष्ठका अनुसार बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्गको पर्वतखण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर राजाराम आचार्य र गाडी चालकलगायत छन् । ‘राजाराम सर र उहाँको ड्राइभर मेरोमा बसेर केही खाजा खाँदै हुनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘पानी ठूलो परेको थियो । माथिबाट खोलाको ठुल्ठूलो आवाज आयो । सरले हामीलाई यहाँ बस्न खतरा छ । तपाईं भाग्नुस्, हामी पनि गइहाल्छौं भन्नुभयो । उहाँहरू गाडी चढ्नुभयो । हामी हाइवेतिर भाग्यौं । भाग्दाभाग्दै गाडी बगेको देख्यौं ।’ गाडीमा कति जना थिए भन्ने यकिन नभएको उनले बताए ।

श्रेष्ठका अनुसार घटना राति साढे १० बजेतिरको हो । बेपत्ता हुनेमा इन्जिनियर आचार्यसहित चालक इन्द्र थारू र अन्य एक जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा उनीहरूबाहेक थप व्यक्ति रहे/नरहेको यकिन भइसकेको छैन । नेपाली सेनाको टोलीले पुलीको सहायताले गाडी निकाल्ने प्रयास गरिरहे पनि सफल नभएपछि बागलुङबाट नेपाल प्रहरीको तालिमप्राप्त टोली डाकिएको हो ।

राजमार्ग क्षतविक्षत

सुन्दरे खोलाको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत दोबिल्लामा करिब ५० मिटर सडक क्षतविक्षत बनाएको छ । पहिरोसहित आएको बाढीले खोलामाथिको कल्भर्ट, ग्याभिन जाली र मेसिनरी वाल बगाउँदा सडक रातिदेखि नै अवरुद्ध छ । धौलागिरि र कास्की जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि धौलागिरिबाट छुट्ने सवारीसाधन कुस्माको खरेहा र चुवा तथा अन्य जिल्लाबाट आउने गाडी परादीमा रोकिएका छन् ।

सुन्दरे खोलाको बहाव कम नभएको र भत्काउने क्रम नरोकिएकोले तत्काल राजमार्ग खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । बाढीले खोला किनारमा टहरो बनाएर व्यवसाय गर्दै आएका चारवटा पसलसमेत बगाएको छ ।

पसलमा रहेका सामान, नगदलगायत केही पनि जोगाउन नसकिएको श्रेष्ठले बताए । ‘बाढीले रोकिएका मान्छे थिए । पानी परिरहेका कारण जागै भएकोले भागेर बाच्यौं । नत्र के हुन्थ्यो के ?,’ उनले भने । खोलाले बगाएर ल्याएका ठूल्ठूला ढुंगाले गर्दा दोबिल्ला–फलेबास सडक समेत अवरुद्ध छ ।

युनाइटेड मोदीमा क्षति, उत्पादन बन्द

बाढीले मोदीखोलामा सञ्चालित १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रोपावरमा समेत क्षति पुर्‍याएको छ । खोलाको बाँधदेखि पावरहाउससम्म पुग्ने नहरमा सुन्दरे खोलाको बाढीले क्षति पुर्‍याएपछि रातिदेखि नै उत्पादन रोकिएको हो । नहरमा बाढीसहित ठूल्ठूला ढुंगा पसेपछि राति नै पानी सुकाइएको त्यहाँ कार्यरत कर्मचारी भुवन अधिकारीले बताए ।

प्रकाशित : असार २३, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?