२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

धुजा बने नरहरिनाथका कृति

‘आश्रमभित्रका झन्डै तीन ट्रक किताब सडे’
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति मृगस्थलीस्थित योगी नरहरिनाथको आश्रममा रहेका उनका कृति धुजाधुजा भएका छन् । वेद, वेदान्त, पुराण, पुरातत्त्व, इतिहास, कला, साहित्यजस्ता विषयको अन्वेषण गरेर उनले पुस्तक लेखेका थिए । योगी नरहरिनाथबारे बहस चलाइरहेको बृहत् आध्यात्मिक परिषद्का अनुसार योगीले ५ सय ७१ पुस्तक लेखेका थिए । त्यसमध्ये ३ सय ९५ पुस्तक प्रकाशित छन् भने १ सय ७६ वटा अप्रकाशित अवस्थामा छन् ।

धुजा बने नरहरिनाथका कृति

योगी नरहरिनाथको २०५९ सालमा निधन भएपछि मृगस्थलीस्थित उनको आश्रमको स्वामित्व र उत्तराधिकारीबारे विवाद उत्पन्न भएको छ । त्यसपछि गुठी संस्थानले आश्रममा १३ वर्षसम्म ताला लगाएर राख्यो । त्यही क्रममा यहाँका कृति नष्ट हुन पुगेका हुन् । ‘हामीले आश्रम खोलेर कृति संरक्षण गर्न आवाज उठाइरह्यौं,’ परिषद्का पूर्वमहासचिव विश्व पोख्रेलले भने, ‘तर गुठीले टेरपुच्छर लगाएन । न आफू संरक्षण गर्छ न अरूलाई नै दिन्छ ।’ आश्रममा ताला लागेपछि भित्रको अवस्था थाहा नपाएको पोख्रेलले बताए । २०७२ चैत १५ गतेको हुरीले आश्रमको छाना उठाइदिएपछि मात्र भित्री अवस्थाबारे जानकारी भएको हो । ‘हावाहुरीसँगै आएको पानीले आश्रमभित्र धेरै नै क्षति पुर्‍याएछ । किताब त सखाप छन्,’ पोख्रेलले भने, ‘आश्रमभित्रका झन्डै तीन ट्रक किताब सडेका छन् ।’

नरहरिनाथको दाहसंस्कार गर्ने बेलामा उत्तराधिकारी चाहिने भए पनि उनको उत्तराधिकारी तोकिएको थिएन । तत्काल समस्या आउन नदिन चिन्तामणि योगीलाई समाधि व्यवस्थापन समितिको संयोजक तोकिएको थियो । उनकै अगुवाइमा समाधि र काजकिरियासमेत भएको थियो । काजकिरिया सकेपछि गुठीले आश्रममा ताला लगाइदिएको हो । ‘गुरुको आश्रममा बिनाकारण ताला लगाइयो,’ योगीले भने, ‘ताला लगाएपछि उहाँको जीवन दर्शन, ज्ञान र योगदानमै ताला लगाएजत्तिकै भयो ।’

नरहरिनाथको निधनपछि पनि गोरखनाथ पीठमा नित्य पूजा भने रोकिएको थिएन । आश्रममा ताला लागेपछि अखडामा गुरुकी सेविका हुँ भन्दै तिमिला श्रेष्ठ बसेकी थिइन् । नरहरिनाथले भने योगी श्रीषनाथलाई उत्तराधिकारी तोकेको धेरैपछि मात्रै थाहा भएको थियो । अहिले गोरखनाथ अखडाको मठाधीश योग श्रीषनाथ नै छन् । छानो उठाएर आश्रम खोलेको दिनदेखि नै योगीले आश्रमको मठाधीश पद सम्हालेका छन् ।

गोरखनाथ परम्परामा अखडा र दर्शन गरी दुई पक्ष हुन्छ । योगी नरहरिनाथले यी दुवै पक्ष सम्हालेका थिए । उनको देहावसानपछि अखडा परम्परा जोगिए पनि विचार पक्ष भने ओझेल परेको चिन्तामणि योगीले गुनासो गरे । परिषद्ले योगीका केही पुस्तक भने संग्रह गरेर पुस्तकालय स्थापना गरेको थियो । २०७२ सालमा योगी नरहरि स्मृति पुस्तकालय तथा संग्रहालय स्थापना भएको थियो । पुस्तकालयमा ३ सय ५९ वटा पुस्तक संग्रहीत छन् । राष्ट्रिय गुरु, शास्त्री, वेलविद्यालंकार, आशुकवित, धर्मशास्त्राचार्य, पुरातत्त्वविद्, इतिहास लेखक, गोभक्त, आजीवन योगाभ्यासी, आवाल ब्रह्माचारी, तीर्थयात्री, वनस्पति परिचयज्ञ, सहस्राधिक पुस्तक लेखक जस्ता विशेषण दिइएका योगीको चर्चित पुस्तक शिखरिणी, सन्धिपत्र संग्रह, हिमवत् खण्डलगायत छन् ।

पशुपति क्षेत्र विकास कोषले नरहरिनाथका कृतिको प्रभावबारे अध्ययन गरेको जनाएको छ । ‘योगीका कृतिले कस्तो प्रभाव पार्‍यो भनेर अध्ययन भएको छ,’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘उहाँको कृतिको समितिले रिभ्यु गरिराखेको छ ।’ कृतिको अध्ययन भए पनि कृतिको संरक्षण कसरी गर्ने र कसले गर्ने भन्नेचाहिँ विवादै छ । सम्पदा संरक्षण अभियन्ता अर्जुन लामिछाने पशुपति क्षेत्रको संरक्षण गर्ने दायित्व कोषको भएकाले नरहरिको कृतिको संरक्षण गर्ने जिम्मा पनि कोषकै भएको बताउँछन् ।

योगीका पुस्तक प्रकाशनको जिम्मा गोरक्ष ग्रन्थमालाले गर्दै आएको थियो । २०४९ सालमा छापिएको उनको चर्चित पुस्तक शिखरिणी यात्रामा प्रकृतिको चित्रण, नेपालको इतिहास, भूगोल, पुराण, पुरातत्त्व, धर्म, दर्शन, जनवजीवन, पशुपन्छी, वनस्पति, पर्यटकीय स्थललगायत समेटिएका छन् । उनको चर्चित पुस्तक सन्धिपत्र संग्रहमा नेपालले विभिन्न समयमा विभिन्न देशसँग गरेका सन्धि–सम्झौता संग्रह गरिएको छ । हिमवत् खण्डमा नेपालमा सबै तीर्थस्थल समेटिएको छ ।

कोटीहोमबाट उठेको पैसाले उनले ठाउँठाउँमा गुरुकुल स्थापना गरेका थिए । उनले वेद र उपनिषद्को उपदेशलाई सरल र सहज रूपमा अर्थ लगाएका थिए । उनी १९७१ सालमा कालीकोटमा जन्मिएका हुन् । ८ वर्षको उमेरमा व्रतबन्ध गरेपछि बलवीरसिंह थापा नै योगी नरहरिनाथ भए । जुम्ला चन्दननाथ मन्दिरका महन्थ छिप्रनाथ योगीका चेला नरहरिनाथले त्यहींको पाठशालामा प्रारम्भिक शिक्षा लिए । पछि भारतमा उच्च शिक्षा लिएपछि गोहत्या निषेध आन्दोलन चलाए । भारतको स्वतन्त्रता आन्दोलनमा समेत सामेल भएका नरहरिनाथलाई भारतले समेत स्वतन्त्रता सेनानी उपाधि दिएको थियो । भारतले जीवनवृत्तिसमेत दिने प्रस्ताव राखे पनि त्यसलाई अस्वीकार गरेर उनी नेपाल फर्किएका थिए ।

नरहरिनाथ २००४ सालदेखि नै मृगस्थलीमा बस्दै आएका थिए । मृगस्थलीमा चार रोपनी जग्गामा जुद्धशमशेरले गौशालासहितको दुई अखडा बनाइदिएका थिए । २०१८ सालसम्म गोरखनाथ अखडाको मठाधीश भएपछि आफ्नै गुरु छिप्रनाथलाई अखडा सुम्पिएर उनी देश दौडाहामा निस्किए । २०१७ सालमा उनको सम्पत्ति नष्ट गराइएको थियो । २०३३ सालमा ‘छाता ओड्न सक्नेले छाता बोक्न पनि सक्नुपर्छ’ भनेर राजालाई लक्षित गरेर अभिव्यक्ति दिएको आरोपमा उनी ६ महिना जेल परेका थिए ।

प्रकाशित : असार २३, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?