कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विद्यार्थी चाप निजीबाट सामुदायिकतर्फ

कोरोना महामारीपछि सामुदायिकले पठनपाठनको स्तरमा सुधार गरेर अभिभावक र विद्यार्थीलाई आकर्षित गरिरहेका छन्

काठमाडौँ — रूपन्देहीको तिलोत्तमाका किस्मत भुसाल निजी विद्यालयमा पढ्छन् । ४ कक्षा उत्तीर्ण गरेपछि अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गरिदिने निर्णय गरे । अभिभावकले विद्यालयमा पुगेर भर्ना प्रक्रियाबारे बुझे । कक्षा ५ का सबै सिट पूर्ण भइसकेको थाहा भयो ।

विद्यार्थी चाप निजीबाट सामुदायिकतर्फ

‘घरै नजिकको शान्ति नमुना माविमा भर्ना पाउन गाह्रो भयो,’ किस्मतका पिता मित्रमणिले भने, ‘जोडबल गरेर त्यहीं पढाउने रहर छ ।’ मित्रमणिले शान्ति नमुनामै पढेका हुन् । प्राथमिक कक्षा छोरालाई निजीमा भर्ना गरेका उनी अहिले सामुदायिक विद्यालय नमुना बनेपछि जसरी हुन्छ भर्ना गराउन लागिपरेका छन् ।

तिलोत्तमा–१ का अप्सन गौतमले सामुदायिक विद्यालय रोजेका छन् । निजीमा ७ कक्षासम्म पढेका उनका मिल्ने साथी सबै शान्ति नमुनामा गएपछि त्यहीं भर्ना हुन चाहेका थिए । कोटा पूरा भइसकेकाले भर्ना पाएनन् । अन्य विद्यालयमा सोधखोज गर्दासमेत भर्ना नपाएको उनले बताए । ‘सेक्सन छुट्याएर भए पनि स्कुलले बोलाउँछ कि भनेर पर्खिएका छौं,’ अप्सनकी आमा अनुजाले भनिन्, ‘पाउँदै नपाए पहिलेकै स्कुलमा भर्ना गर्ने त होला ।’ छोराछोरीले चाहेको विद्यालयमा पढाउन बेलैमा निर्णय लिन सक्नुपर्ने अनुभव भएको उनले बताइन् । कोरोनाको दोस्रो लहर आएयता सबैजसो विद्यालयले अनलाइन पढाएका छन् । यतिबेला नयाँ भर्ना लिँदा पनि अभिभावक भेट्ने र विद्यार्थीलाई प्रवेश परीक्षा लिनेमा सतर्कता अपनाएका छन् ।

पछिल्लो समय रूपन्देहीमा सामुदायिक विद्यालयले निजीलाई प्रतिस्पर्धामा पछि पार्न थालेका छन् । राम्रो पढाइ, पूर्वाधार र सुविधा उपलब्ध भएपछि विद्यार्थी र अभिभावकको रोजाइमा सामुदायिक परेका हुन् । रूपन्देहीका सामुदायिकमा पढ्न जिल्लाबाहिरबाट पनि विद्यार्थी आइरहेका छन् । चाहना राख्नेजति सबैले भर्ना हुन पाउने अवस्था भने छैन ।

सरकारी विद्यालयमा पढ्दा भविष्यमा छात्रवृत्तिलगायत सुविधा मिल्ने र सरकारी सेवाका सवालमा अवसर प्राप्त हुने भएकाले रोजाइमा परेको सरोकारवालाले बताए । शान्ति नमुनामा चालु शैक्षिक सत्रमा ६ सय ६२ नयाँ विद्यार्थी भर्ना भएका छन् । १ हजार ७ सयभन्दा बढी नयाँ विद्यार्थी आए पनि पूर्वाधार अभावले भर्ना लिन नसकिएको विद्यालयले जनाएको छ । ‘गुन्द्री पठाइदिन्छौं, भुइँमै बसालेर पढाइदिनूस् भनेर पनि अभिभावकहरू आउनुभयो,’ प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भने, ‘५० जनाभन्दा बढी राख्न नपाइने संरचनामा ५५ जनासम्म राखेका छौं ।’ स्थानीय र प्रदेश सरकारसँग कोठा थपका लागि आग्रह गरिरहे पनि सुनुवाइ नभएको उनले बताए । ‘पूर्वाधार अभावले सीमित संख्यामा मात्रै भर्ना लिनुपर्ने बाध्यता छ,’ उनले भने ।

गुल्मीका मन्दिका र महिमा अर्यालले बुटवलस्थित कालिका मानवज्ञान माविमा प्रवेश परीक्षा दिए तर, पढ्न पाउने/नपाउने निश्चित छैन । धेरै विद्यार्थी आएपछि प्रवेश परीक्षा दिनुपरेको मन्दिका पिता दुर्गाबहादुरले बताए । सानो छोरा पनि शिशु कक्षा उत्तीर्ण भएकाले उसलाई पनि कालिकामै पढाउन सहज हुने भन्दै नतिजाको पर्खाइमा रहेको उनले बताए । ‘नाम निस्किए नजिकै कोठा खोजेर बस्ने भनेका छौं,’ उनले भने ।

कालिका मानवज्ञान माविले चालु शैक्षिक सत्रका लागि भर्ना नखुलाउने योजना बनाएको थियो । विद्यार्थी पर्याप्त संख्यामा भएकाले यस पटक भर्ना नखोल्ने निर्णयमा पुगेको सहायक प्रधानाध्यापक पीताम्बर बन्जाडेले बताए । तर, क्याम्पस सञ्चालनमा रहेको भवनका केही कक्षाकोठा खालि भएपछि सीमित सिटमा भर्ना खोलिएको उनले बताए । ‘हामीसँग ३ सय विद्यार्थीको सिट छ,’ उनले भने, ‘८ सय विद्यार्थी भर्नाका लागि आएका छन् ।’ कोरोना महामारीले गर्दा बिना परीक्षा भर्ना लिने योजना थियो । धेरै निवेदन आएकाले पाँच सिफ्टमा परीक्षा गराएर भर्ना लिन बाध्य भएको उनले बताए ।

भैरहवास्थित नमुना माविका प्रधानाध्यापक चुन्नप्रसाद पाण्डेले बुधबारबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरिने बताए । अहिले १३ सय विद्यार्थी छन्, नयाँ भर्नाले अझ थपिने अवस्थ छ । ‘साढे दुई सयजति नयाँ थप हुन्छन्,’ उनले भने, ‘भर्ना खुल्नेबित्तिकै त सिट नै नपुग्ने भन्ने स्थिति आउँछ ।’ नमुना मात्र नभई भैरहवाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको चाप छ । बुटवलको कान्ति माविले यस पटक ६ सय नयाँ विद्यार्थी भर्ना लियो । अहिले थपिएका विद्यार्थी २५ जिल्लाका रहेको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । ‘हजारौं विद्यार्थी आएका थिए, सीमित मात्रै भर्ना लियौं,’ उनले भने, ‘सरकारी दरबन्दीअनुसार ४ सय जनामात्रै पढाए पनि पुग्छ तर आएका जति सबैलाई फर्काउनुभन्दा कोटा बढायौं ।’ अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइने भएकाले सामुदायिक रोजाइ बन्दै गएको उनले बताए ।

‘विद्यालयको भौतिक क्षमताअनुसार विद्यार्थी भर्ना गर्न पाउने नीति छ,’ जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दीपेन्द्र ढकालले भने, ‘कोरोना अवधिमा संस्थागततर्फका केही कमजोर विद्यालयले राम्रो व्यवस्थापन गर्न नसक्दा पनि सामुदायिकमा नयाँ विद्यार्थी बढिरहेका हुन् ।’ सहज परिस्थितिका बेला सहरमा डेरा गरी छोराछोरी पढाउने अभिभावकले कोरोना संक्रमणका कारण गाउँकै स्कुलमा भर्ना गर्न थालेका छन् । गाउँमा फर्किएर सामुदायिक स्कुलमा भर्ना हुने विद्यार्थीको संख्या अर्घाखाँचीमा पनि बढ्दो छ । मालारानी–५ बाँगीकी विमला भुसालले छोरी अनिशालाई कक्षा १ र २ मा बुटवलको निजी स्कुलमा पढाइन् । कोभिड–१९ का कारण घरमा आएकी उनले अनिशालाई ३ कक्षामा शान्ति मावि आरुखोरमा भर्ना गरिन् । सहरमा खर्च महँगो र कोरोनाका कारण जोखिम भएकाले गाउँ फर्किएको उनले बताइन् । तल्लो कक्षामा बुटवल, सन्धिखर्कका निजी स्कुल छाडेर गाउँकै स्कुलमा भर्ना हुने विद्यार्थी अहिले बढिरहेका छन् । कोरोना संक्रमणबाट जोगिन आएका अभिभावक आफ्ना छोराछोरीलाई गाउँकै निजी र सामुदायिक स्कुलमा भर्ना गर्न थालेका छन् ।

सहरमा डेराभाडा, खाने खर्च, पानी सबै किन्नुपर्छ । गाउँमा आफ्नै घरमा बस्ने, खेतबारीमा अन्न खेती गरेर छोराछोरीलाई गाउँकै स्कुलमा पढाउँदा धेरै खर्च बचत हुने अभिभावक वसन्ता घिमिरेले बताइन् । ‘गाउँ र सहरका स्कुलमा पढाइ उस्तै उस्तै हो,’ उनले भनिन्, ‘सहरमा कोठाभाडा, खाने खर्च जोहो गरेर मासिक रूपमा छोरीको बैंक खातामा कोष जम्मा गरिदिन्छु । छोरालाई पनि गाउँमै पढाउँछु ।’ शान्ति माविका प्रधानाध्यापक मानबहादुर पाण्डेले बुटवल र सन्धिखर्कका बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थी यहाँ भर्ना हुन आएकाले भर्ना अवधि एक साता थपिएको बताएका छन् । अहिलेसम्म २० जना विद्यार्थी सहरबाट आएर यहाँ भर्ना भएको उनले बताए । विद्यालयमा अंग्रेजी माध्यमसँगै कम्प्युटर इन्जिनियरिङसमेत पढाइ हुन्छ । छत्रदेव गाउँपालिकाका सबै स्कुलमा अंग्रेजी माध्यममा पढाइ सुरु भएको छ ।

यहाँको बल्कोटस्थित महेन्द्र विद्याबोध माविमा निजी छाडेर १० जना विद्यार्थी भर्ना भए । विगतका वर्षमा सामुदायिकका केही विद्यार्थी निजीमा जान्थे । ‘अहिले निजीका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका छन्,’ महेन्द्र विद्याबोध माविका प्रधानाध्यापक डिल्लीराज भुसालले भने, ‘अब किताब वितरण गर्दैछौं, कोरोनाको अवस्था हरेर कक्षामा पढाउने वा अनलाइन र चौरमा पढाउने भनेर छलफल गर्दैछौं ।’ अघिल्लो कोरोनाका बेला जिल्लाका सबैजसो स्कुलले भौतिक दूरी राखेर चौर, बारी र जंगलमा पढाएका थिए । गाउँका सबै विद्यार्थीका घरमा इन्टरनेट पहुँच सहज छैन । त्यसैले अनसाइनको साटो चौरमै पढाउने तयारी रहेको उनले बताए । २०७१ सालमा ८ सय ७१ जना विद्यार्थी रहेको पश्चिम नवलपरासीको महाकवि देवकोटा माविको वार्षिक नतिजा जम्मा १९ प्रतिशत थियो । जिल्लाकै खराब नतिजा दिने विद्यालयमा पर्ने यो विद्यालय अहिले लुम्बिनी प्रदेशकै उत्कृष्ट सामुदायिकमा पर्छ । अघिल्लो शैक्षिक सत्रमा यहाँ २ हजार १ सय ९ जना विद्यार्थी थिए । विद्यालयमा आफ्नै स्वास्थ्यकर्मी छन् । खेलकुद, व्यायामदेखि अतिरिक्त क्रियाकलाप नियमित गराइन्छ । सीमित संख्यामा भर्ना लिने भनिए पनि विद्यार्थीको चाप हुने गरेको छ । चालु शैक्षिक सत्रमा पनि विद्यार्थीको चाप बढ्दो छ ।

देवकोटाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरि अर्यालका अनुसार शैक्षिक गुणस्तर राम्रो भएको, सवारी साधनको उपलब्धता र सस्तो शुल्कमा निजीसरह अंग्रेजी माध्यमको अध्यापन हुने भएपछि अभिभावक र विद्यार्थीको आकर्षण सामुदायिकमा बढेको हो । ‘सरकारी विद्यालयमा शैक्षिक गुणस्तर हुँदैन भन्ने भ्रमलाई हामीले चिरेका छौं,’ उनले भने ।

प्रकाशित : असार २३, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?