कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मनसुनको पहिलो महिनामै औसतभन्दा बढी वर्षा

करिब तीन सातामा ३७९.५ मिमि वर्षा, सबैभन्दा बढी कास्कीको लुम्लेमा
अब्दुल्लाह मियाँ

काठमाडौँ — यो वर्ष मनसुनको पहिलो महिना (जुन) मै औसतभन्दा बढी वर्षा भएको छ । विगतमा मनसुनको पहिलो महिना मनसुन यति धेरै सक्रिय हुँदैनथ्यो । मनसुन सुरु भएलगत्तै लगातार भएको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु, मनाङ–मुस्ताङमा बढी क्षति गरेको छ । 

मनसुनको पहिलो महिनामै औसतभन्दा बढी वर्षा

यसपालि जेठ २८ (जुन ११) मा मनसुन भित्रिएको थियो । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर करिब १ सय दिन वर्षा हुन्छ । मनसुन अवधिमा दिनहुँ वर्षा हुनैपर्छ भन्नेचाहिँ छैन । जुन महिनाभरिमा औसत (सन् १९९१ यता) २७१.६ मिमि वर्षा हुने गरेकामा यो वर्षको जुनका करिब तीन सातामा ३७९.५ मिमि वर्षा भएको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् । मुलुकका मुख्य २० वटा स्टेसनमा रेकर्ड भएको वर्षाका आधारमा यो तथ्यांक निकालिएको हो । ‘जुनमा सामान्यतया १९.३ प्रतिशत वर्षा हुनुपर्ने हो,’ कँडेलले भनिन्, ‘यो वर्ष जुनमा २७ प्रतिशत वर्षा भएको छ ।’ जुलाईमा ३३.४, अगस्टमा २९.१ र सेप्टेम्बरमा १८ प्रतिशत औसत वर्षा हुन्छ ।

यस वर्ष कर्णाली, लुम्बिनी, सुदूरपश्चिमका जिल्लामा बढी वर्षा भएको कँडेलले बताइन् । उनका अनुसार जेठ १८ देखि असार २१ सम्म (जुन १ देखि जुलाई ५ सम्म) मात्र ५१४.४ मिमि वर्षा भएको छ । यो औसतभन्दा बढी वर्षा हो । २० वटा स्टेशनको आँकडालाई विश्लेषण गर्दा मनसुनका करिब १ सय दिनमा १ हजार ४ सय २ मिमि वर्षा हुन्छ । यो वर्षभरिमा पर्ने वर्षाको करिब ८० प्रतिशत वर्षा ।

विभागका अनुसार यसपालि सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा भएको छ । मनसुन सुरु भएदेखि असार २१ सम्म लुम्लेमा १५१६.३, पोखरामा १२८५, सिमरामा ८१२.५, भैरहवामा ७०५.१, दाङमा ६०१.८, धरानमा ५२६.८ र विराटनगरमा ५१६.७ मिमि वर्षा भएको छ । यस्तै, जनकपुरमा ४९०.६, सुर्खेतमा ४८३.८, जिरीमा ४६७.९, डडेलधुरामा ३९५.९, काठमाडौंमा ३७०.२, धनगढीमा ३५३.७, ताप्लेजुङमा ३३०.४ र दिपायलमा २९६.८ मिमि वर्षा भएको छ । नेपालगन्जमा २७५.५, ओखलढुंगामा २५९, धनकुटामा २०३.५, जुम्लामा १९९ र जोमसोममा १९७ मिमि वर्षा भएको छ ।

केही वर्षयता पहाडी र हिमाली क्षेत्रसम्मै थोरै ठाउँमा केन्द्रित भएर वर्षा हुने क्रम बढेको र त्यसले बाढीपहिरोजन्य विपद् निम्त्याएको विज्ञहरूको विश्लेषण छ । विज्ञहरूले त्यस्तो वर्षालाई हाँडीघोप्टे–मुसलधारे वर्षा भन्ने गरेका छन् । ‘मनाङ र सिन्धुपाल्चोकमा पनि थोरै अवधिमा धेरै वर्षा भएको देखिन्छ,’ कँडेलले भनिन्, ‘त्यही वर्षाले विपद् निम्त्यायो ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान गरे पनि कुन क्षेत्रमा बढी वर्षा हुन सक्छ भन्ने गरेको छैन ।

महाशाखाले हरेक दिन बेलुकी ६ बजे मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्ने गरेको छ । बुलेटिनमा ३ दिनसम्म कुन प्रदेशमा वर्षा, भारी वर्षा र चट्याङको सम्भावना छ भन्ने उल्लेख हुन्छ । वर्षाको सम्भावना भएको क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (डेब्रिस फ्लो) को जोखिम हुने र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्ने गरिएको छ ।

विभागका महानिर्देशक सरजुकुमार वैद्य केही वर्षयता सानो क्षेत्र भएर हुने वर्षाको संख्या बढेको सुनाउँछन् । तर, मौसमी मोडलहरूमा सुधार नगरी हामीले स–सानो क्षेत्रको वर्षाको आकलन गर्न सक्दैनौं,’ उनले भने । वैद्यले केही वर्षयता विभागले प्रदेशस्तरमा हुने वर्षा, भारी वर्षा र अति वर्षाको सम्भावनाबारे आकलन गरिरहेको र त्यो धेरै हदसम्म मिलेको समेत बताए । ‘यो क्षेत्रमा ठ्याक्कै यो स्तरको वर्षा हुन सक्छ भनेर त विश्वमा कहीं पनि आकलन गर्ने गरिएको छैन,’ उनले भने ।

प्रकाशित : असार २३, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?