राजकीय इतिहासको खबर पोका–पोकामा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजकीय इतिहासको खबर पोका–पोकामा

नारायणहिटी दरबारमा भेटिएका सामग्रीको सूचीकरण गरिँदै 
देवेन्द्र भट्टराई

काठमाडौँ — २०५८ सालको दरबार हत्याकाण्डले परिवर्तन ल्याएको नेपालको राजनीतिक र सामाजिक इतिहासमा धेरै अध्येता र सर्वसाधारणको रुचि रहँदै आएको छ । नेपालको इतिहासमा अढाई शताब्दी लामो राजतन्त्रको कालखण्ड र यसबीचका उल्लेख्य गतिविधिबारे जोकोहीलाई चासो हुने गरेको छ ।

नारायणहिटी दरबार परिसरको श्रीसदन पछाडि पोकैपोकामा असरल्ल ऐतिहासिक महत्त्वका कागजात र त्यसलाई अभिलेखीकरण गर्दै राष्ट्रिय अभिलेखालयका कर्मचारी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

तर इतिहासको यो पाटो यसरी गोदाममा थन्किएको छ कि राष्ट्रिय अभिलेखालय वा पुरातत्त्व विभागलाई नै यो पहिल्याउन वर्षौं लाग्ने देखिएको छ ।

नारायणहिटी दरबार परिसरमा श्रीसदन पछाडिको एउटा गोदामजस्तो घरमा कागजी पोकैपोकाको भण्डारण भेटिन्छ । अहिले भने पुराना कागजातको अभिलेखीकरण गरिँदै छ । यसमा राष्ट्रिय अभिलेखालयबाट अवकाश पाइसकेका तीन कर्मचारी जुटेका छन् । ‘२०६३ सालको राजनीतिक परिवर्तनपछि र राजदरबारबाट तत्कालीन राजा ज्ञानेन्द्र बाहिरिएपछि यहाँका असंख्य कागजात र ऐतिहासिक महत्त्वका शोध–सामग्री यसै अलपत्रै राखिएको पायौं,’ नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘कतै कुनै भण्डार कोठामा त कतै भान्सातिर राखिएका कागजात भेला गरेर खोजतलास थालेका छौं ।’

कागजातको टिपोट उतार्न दुई वर्षयता सक्रिय हिरारत्न वज्राचार्यले राजकाजमा चलेका बिर्ता र मोहीको हिसाब, सतुंगलदेखि साँखुसम्मको राजकीय जग्गाजमिनको भोगचलनसम्बन्धी कागजात पाएको जानकारी दिए । ‘यहाँ इतिहासको भण्डार छ,’ उनले भने । उनले दरबारमा थुप्रिएका सामग्रीको लगत उतार्न र चाहिने/नचाहिने कागजातको फर्स्योट गर्नै अझै केही समय लाग्ने बताए । ‘सतुंगलको बोसीगाउँदेखि कीर्तिपुरको न गाउँसम्म कान्छा मुमा बडामहारानी र अन्य राजकीय सदस्यका नाममा जग्गाजमिन रहेको वृत्तान्त अहिले उतारिरहेका छौं,’ अभिलेखीकरणमा संलग्न अर्की कर्मचारी बिन्दिया भण्डारीले भनिन्, ‘भोगचलन गरिआएको जग्गाबाट आएको धानचामलको लगत, घिउ–तेल र अन्य सामग्रीको हिसाबकिताब पनि यहाँ भेटिएको छ ।’

अभिलेखीकरणमा राजेन्द्रमान स्थापित पनि खटिएका छन् । संग्रहालयका कार्यकारी निर्देशक दाहालका अनुसार यी ऐतिहासिक कागजातको अभिलेखीकरणका लागि अभिलेखालयले वार्षिक ५ लाख रुपैयाँ बजेट दिएको छ । केही स्वयंसेवी कर्मचारीलाई दरबार संग्रहालयले समेत खटाएको छ । राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांगले बजेटको अभावका कारण अहिले दरबारमा भेटिएका सामग्रीको ‘सूचीकरण’ मात्रै भइरहेको उल्लेख गर्दै डिजिटल–स्क्यानिङ वा ‘अर्काइभिङ’ को थप काम हुन नसकिरहेको बताइन् ।

‘राजारानीको तस्बिरको बाकसै भेटिएको छ, अरू दुर्लभ सामग्री पनि भेटिएका छन्,’ उनले भनिन्, ‘बजेट अभावका कारण यी ऐतिहासिक सामग्रीको स्थायी अभिलेखीकरण गर्न सकिएकै छैन ।’ अहिलेसम्म छानबिन गरिएका आधारमा कम्तीमा पछिल्ला ५० वर्षको राजकीयसहित नेपाली समाज र घटनाक्रमको इतिहास अध्ययन गर्न सकिने अभिलेखालयले जनाएको छ ।

संग्रहालयका कार्यकारी निर्देशक दाहालका अनुसार नारायणहिटी दरबारमा परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखा राखिएपछि कुनै व्यवस्थापकीय तर्जुमा र प्रबन्धबिनै तत्कालीन राजदरबारसम्बन्धी कागजात यत्रतत्र फालिएको थियो । ‘त्यो बिजोग देखेर दरबार संग्रहालयको तत्त्वावधानमा अभिलेखालयलाई अनुरोध गर्दै कागजातको सूचीकरण थालिएको हो, तर यत्तिकै सीमित जनशक्ति र साधनस्रोतका भरमा यो काम सक्न अरू ५/७ वर्ष लाग्न सक्छ,’ दाहालले भने ।

दरबारको भण्डारणमा भेटिएको पोका–पोकामा तत्कालीन राजा वीरेन्द्र र महेन्द्र शाहले पढ्ने पुस्तक–पत्रिकाको सूची पनि छ । उत्तर कोरियाली नेता किम इल सुङका ‘सेलेक्टेड वर्क’ देखि ‘धिमाल लोक जीवन अध्ययन’ सम्म राजाहरूको अध्ययन सूचीमा भेटिएका छन् । ‘श्री ५ युवराजाधिराज वीरेन्द्रको शुभविवाह समारोह समिति (२०२६) को बैठक निर्णय’ देखि ‘श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी सरकारको शुभविवाहसम्बन्धी फाइल (२०५४)’ सम्मका कागजात पनि यही थुप्रोमा भेटिएका छन् ।



प्रकाशित : असार २३, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

चोरिएका तीन सम्पदा फर्काइए

देवेन्द्र भट्टराई

काठमाडौँ — सन् १९८० को दशकमा काठमाडौं उपत्यकाबाट हराएका, पाँच वर्षअघि मात्रै अमेरिकाको न्युयोर्कस्थित निजी संग्रहालयमा भेटिएका र न्युयोर्ककै न्यायाधिवक्ता कार्यालयले कानुनी लडाइँ लडेर ‘उत्पत्तिको मुलुक’ फर्काउने सहमतिमा जोडिएका भूस्पर्श मुद्राका बुद्ध, भुइँमा बसेका गणेश र अप्सराको रंगीन टुँडाल आइतबार काठमाडौं ल्याइएको छ ।

‘काठमाडौं उपत्यकाबाट यी सम्पदा कसरी चोरिएर अमेरिका पुगेका थिए भन्नेबारेमा केही नखुलाई हामीलाई न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास कार्यालयले डिप्लोम्याटिक–कार्गो पठाएको सूचना आएको छ,’ पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कान्तिपुरसँग भने, ‘अब भन्सार छुटाउने प्रक्रिया पूरा गरेर पुरातत्त्वमा ल्याइनेछ ।’

धातुमूर्तिका रूपमा रहेका चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूस्पर्श मुद्राका बुद्ध, पन्ध्रौं–सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश र १३ औं शताब्दीको रंगीन अप्सरा काष्ठकला (टुँडाल) को तस्करीमा भारतीय मूलका सुभाष कपुर नामका व्यक्ति संलग्न रहेको भन्दै कपुरलाई सुपुर्दगी गर्न अमेरिकाले भारतलाई पत्राचार गरिसकेको जनाइएको छ । पुरातात्त्विक महत्त्वका यी सम्पदाको ‘उत्पत्तिको मूल र पहिचान’ पहिल्याउँदै गत वैशाख महिनायता सम्पदा घर फर्काउने पहल सुरु भएको थियो ।

सन् १९७० को युनेस्को अभिसन्धिअनुसार हराएका वा चोरिएका यस्ता सांस्कृतिक सम्पदा भेटिएमा ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) मा फिर्ता गर्नैपर्ने प्रावधान छ । नेपाल र अमेरिका उक्त अभिसन्धिका हस्ताक्षरकर्ता हुन् । गत वैशाख पहिलो साता पाटन, पट्को टोलको वासुदेव–कमलाजा मूर्ति अमेरिकाबाट फर्काइएको खबरले अमेरिका तथा युरोपमा रहेका यस्ता सम्पदाजन्य मूर्तिका ‘कलेक्टर’ ले पुरातत्त्व विभागमा स्वेच्छापूर्वक पत्राचार गर्न थालेको विभागका महानिर्देशक गौतमले बताए । ‘अमेरिका, बेलायत, फ्रान्स, जर्मनीसहितका मुलुकबाट नेपाली सम्पदाको अवस्थितिसहित संग्रहकर्तासँग रहेको नेपाली बहुमूल्य चिजबिजको डिटेल पाउन थालिएको छ,’ गौतमले भने, ‘कतिपय संग्रहकर्ताले आफ्नो परिचय नखुलाई सम्पदा फर्काउनेबारे सरोकारसमेत राखेका छन् ।’

न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूतका अनुसार अहिले फर्काइएका तीन सम्पदालाई गिरोहको हातबाट उम्काउन झन्डै ४ वर्ष अदालती न्यायिक सुनुवाइ गर्नुपरेको थियो । न्युयोर्क, म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयले दिएको सूचनामा सुवास कपुर समूहको संग्रहमा २५ सयभन्दा बढी पुरातात्त्विक सम्पदा पाइएको र यसमध्ये उत्पत्तिको मुलुक पहिचान भएर केही सम्पदा श्रीलंका, इजिप्ट पठाइएको छ ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अहिले घर फर्किएकोमध्ये टुँडालमा कुँदिएकी अप्सरा भने ‘सालभन्जिका’ मुद्रामा उभिएकी छन् । उनले यो टुँडाल एउटै सग्लो काठमा कुँदिएको र यसमा रतिरागात्मक बिम्ब नरहेका कारण यो सिर्जना तेह्रौं शताब्दीताकाको हुन सक्ने दाबी गरेका छन् । यस्ता ‘सालभन्जिका’ मुद्राका केही टुँडाल नरदेवीबाट स्वयम्भू जाने बाटोमा पर्ने ‘वास्याद्यो’ नजिकैको नारायण मन्दिरबाट ४ दशकअघि हराएको थियो । पाटनको रुद्रवर्ण महाविहार र काठमाडौंको इटुम्बहालमा पनि यस्तै मुद्राका टुँडाल इतिहासमा थिए, अहिले पाउनै मुस्किल छ ।

न्युयोर्क, म्यानहटन जिल्ला न्यायाधिवक्ता कार्यालयले यसअघि जारी गरेको विज्ञप्तिमा यी सम्पदाको मूल्य दुईवटा मूर्तिको १ लाख डलर र टुँडालको २५ हजार डलर तोकिएकोमा सोहीअनुसार बिमा रकम बुझाएर यी सम्पदा नेपाल ल्याउन सकिएको हो । यसअघि डल्लास म्युजियममा भेटिएको वासुदेव–कमलाजा मूर्ति घर फिर्ता ल्याउन अमेरिकी कार्गो कम्पनीले सहयोग गरे पनि यस पटक नेपाल सरकारले आफ्नै खर्चमा घर फिर्ता ल्याएको हो ।

सम्बन्धित समाचार

प्रकाशित : असार २१, २०७८ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×