जोखिम मोलेर भारततिरै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिम मोलेर भारततिरै

मोहन बुढाऐर

धनगढी — डडेलधुरा जोगबुढाका वीरबहादुर धामी कामका लागि भारत पस्न कञ्चनपुरको गड्डाचौकी नाका पुगे । त्यहाँ भारतीय स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले कोरोना परीक्षण रिपोर्ट नभएकाले जान नमिल्ने भन्दै फर्काएपछि उनी आइतबार कैलालीको त्रिनगर गौरीफन्टा सीमा नाकाबाट भारत पसे । 

कैलालीको गौरीफन्टा सीमा नाकामा भारत पस्ने नेपालीहरुको भीड । तस्बिर : मोहन बुढाऐर/कान्तिपुर

भारतको उत्तराखण्ड राज्य सरकारले प्रवेश गर्ने नेपालीसँग कोरोना परीक्षण रिपोर्ट माग्न सुरु गरेको छ । भारतकै उत्तरप्रदेश सरकारले भने आफ्नो परिचय खुल्ने कागजातका भरमा जान दिएको छ । सुदूरपश्चिमको गौरीफन्टा भारतको उत्तरप्रदेशसँग जोडिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षण रिपोर्ट देखाउनु नपर्ने नभएकाले कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाटबाट भारत पस्ने नेपाली पनि यतिबेला गौरीफन्टा पुग्न थालेका हुन् । जसका कारण गौरीफन्टा नाकामा भीड लाग्ने गरेको छ । अहिले दैनिक दुई हजारभन्दा बढी नेपाली यो नाका भएर भारत गइरहेका छन् । उत्तराखण्ड सरकारले परीक्षण रिपोर्ट अनिवार्य भनेपछि नेपालीले रोजगार गन्तव्यमा पुग्न सास्ती र भाडा बढी तिर्नुपरिरहेको उनीहरूले बताए ।

कोरोना कालअघि जोगबुढाका धामी घरनजिकै बग्ने महाकाली नदी तरेर भारत जान्थे । भारततर्फ बस्ने सुरक्षाकर्मीले महाकाली तरेर हुने प्रवेशलाई कडाइका साथ रोकेको छ । ‘डडेलधुराबाट कञ्चनपुर हुँदै धनगढी आउँदा तीन दिनको समय र भाडा पनि बढी लाग्यो,’ उनले भने । झुलाघाट नाकामा परीक्षण रिपोर्टबिना प्रवेश गर्न नदिएपछि बैतडीको पुर्चौडीका दिलबहादुर बमले पनि गौरीफन्टामै पुगे । ‘हाम्रो गाउँघरमा पनि कोरोनाको महामारी छ,’ उनले भने, ‘परीक्षण कसैको छैन, बिरामी पर्छन्, निको हुन्छन्, म पनि निको भएर पुनः काम गर्न भनेर भारत जान्छु भनेको झुलाघाटमा रिपोर्ट नभएर जान दिएन, यताबाट जान दिन्छ भनेको सुनेर आएको हुँ ।’ उनले रोजगारस्थलमा पनि परीक्षण रिपोर्ट र खोप लगाएको रिपोर्ट माग्न थालेकाले रोजगारी नपाइने चिन्ता बढेको बताए ।

‘अहिले उत्तराखण्ड सरकारले कोरोना परीक्षणको रिपोर्ट मात्र मागेको छ,’ उनले भने, ‘भारतका अन्य राज्य सरकारले पनि यसैगरी परीक्षण रिपोर्ट मागेपछि रोजगारीका लागि कहाँ जाने ?’ उनका अनुसार भारतमा काम गर्न जाने नेपालीको न कोरोना परीक्षण भएको छ, न खोप लगाएका छन् । बमले भोलिका दिन खोप लगाएकाले मात्रै रोजगारी पाउने स्थिति आए भएको काम पनि गुम्ने डर रहेको बताए । ‘उत्तराखण्ड सरकारले कोरोना परीक्षण रिपोर्ट माग्न सुरु गरेको छ । भोलि परीक्षण रिपोर्टसँगै खोप लगाएको हुनुपर्ने भन्यो भने हामी नेपालीको रोजगारस्थल पुग्ने बाटो नै गुम्ने डर छ,’ उनले भने ।

नेपालमा बूढापाकालाई पहिले खोप दिनु राम्रो भए पनि युवा जनशक्तिलाई पनि प्राथमिकता दिन आवश्यक भएको उनीसँगै रहेका सुरतबहादुर बमले बताए । ‘घरपरिवारको जीवन धान्न हामी नै भारत वा तेस्रो मुलुक काम गर्न जानुपर्छ,’ उनले भने, ‘सरकारले न रोजगारी दियो, न भ्याक्सिन दिन सकेको छ ।’ अब खोप लगाएकालाई मात्रै रोजगारी दिने भनेपछि अझ बढी बेरोजगारीको समस्या खेप्नुपर्ने उनको भनाइ छ । सरकारले भारतसहित तेस्रो मुलुक जाने जनशक्तिलाई पनि प्राथमिकतामा राखेर खोप लगाउन उनले सुझाए । सरकारले खोपको व्यवस्था नगर्दा आफूहरू तनावमा परेको अछाम रिठापाताका लक्ष्मण साउदले गुनासो गरे । उनी बालबच्चासहित भारतको गुजरात सहर जान लागेका हुन् ।

प्रकाशित : असार २२, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

निषेधाज्ञामा काठ तस्करी

मोहन बुढाऐर

धनगढी — निषेधाज्ञाको मौका छोपी कैलालीका विभिन्न वनक्षेत्रबाट काठ चोरीतस्करी बढेको छ । कैलाली वन प्रशासनले निषेधाज्ञाको दुई महिनामा मात्रै २ हजार क्युफिट अवैध काठ बरामद गरेको छ । काठ चोरीमा रंगेहात १२ जनालाई पक्राउ गरी कारबाहीका लागि मुद्दासमेत दायर गरेको छ ।कैलालीको वसन्ता संरक्षित वनक्षेत्र र चुरेको गोदावरीदेखि चिसापानीसम्मको फेदमा काठ चोरीनिकासी भइरहेको स्थानीयले बताएका छन् ।

निषेधाज्ञामा घरबाहिर कोही ननिस्कने भएकाले जंगलभित्र रूख ढाल्ने र राति गोलिया नजिकको सः मिल वा कसैको घरमा लुकाउने गरेका छन् । ‘वनभित्र पस्यो भने चोरबाटोबाट ट्र्याक्टर, मोटरसाइकल र डनलपमा काठका गोलिया बोकेर लगिरहेका दिउँसो पनि देख्न सकिन्छ,’ कैलारी–७ का एक स्थानीयले भने, ‘उनीहरूको डरधम्कीका कारण काठ चोरीतस्करीको विरोध कसैले गर्न सकेका छैनन् ।’ कसैले बाहिर भने तस्करहरूले मार्ने धम्की दिएर जाने गरेको उनले बताए । वनका कर्मचारीसमेत काठतस्करसँंग मिलेको उनले सुनाए ।

गत वर्ष काठ चोरी भइरहेको खबर वन कार्यालयलाई पुर्‍याउने एक जनालाई झूटो खबर दिएको भन्दै उल्टै फूलबारी सव–डिभिजन वन कार्यालयका कर्मचारीले धम्काएको स्थानीयले बताए । ‘वसन्ता वनसंँग जोडिएका बासिन्दाले ऐलानी थोरबहुत कमाएकै हुन्छन्,’ कैलारी–७ का बासिन्दामध्ये एक भन्छन्, ‘वन कर्मचारीको मिलोमतोमा हुने चोरीतस्करीविरुद्ध स्थानीयले आवाज उठाए उल्टै अतिक्रमणको धम्की र मुद्दा खेप्नुपरेको छ ।’ कैलारी–७ का वडाध्यक्ष खेमराज चौधरीले निषेधाज्ञा अघिपछि पनि काठ तस्करी भइरहेकाले वनक्षेत्रमा थप कडाइ गर्नुपर्ने देखिएको बताए । उनले कोहिलिया ताल आसपासको वन क्षेत्रमा सयौं रूख काटिएको दाबी गरे ।

वडाध्यक्ष चौधरीले राष्ट्रिय र सामुदायिक वनभित्र व्यापक रूपमा काठचोरी तस्करी भइरहेको खबर प्राप्त भएको बताए । ‘काठचोरी तस्करी भइरहेको भन्ने सूचना आउँछ,’ उनले भने, ‘वनका कर्मचारी र वन उपभोक्ता समितिलगायत सरोकार पक्षको ध्यानाकर्षण गर्दा कुनै सुनवाइ भएको देखिँदैन ।’ उनले तस्कर समूहबाट आफूमात्रै तारो हुने गरेको बताए ।

डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले लकडाउनमा पनि वन कर्मचारीद्वारा गस्ती टोली परिचालन गरेर अतिक्रमण र वनभित्रको काठचोरी तस्करीलाई नियन्त्रण गर्न लागेको बताए । उनले कोरोनाका कारण भारत र नेपालकै सहरी क्षेत्रमा रोजगारी गुमाएर घर फर्केकाहरूलाई तस्करहरूले काठ चोरीतस्करीमा प्रयोग गरेको पाइएको दाबी गरे । उनका अनुसार एक थान गोलियाको २०/३० हजार पाइने भएपछि रोजगारी गुमाएपछि काठ चोरीतस्करीको धन्दा सुरु भएको छ ।

उनले एउटै वन कार्यालयले मात्रै नभएर उपभोक्ता समितिलगायत सरोकार पक्ष सबैको सहयोगबिना अवैध वन दोहन नियन्त्रण गर्न नसकिने बताए । निषेधाज्ञा, लकडाउन, बाढीपहिरोको समयमा वन अतिक्रमण र काठचोरी बढ्ने गरेकोले नियन्त्रणका लागि पनि सबैको सहयोग चाहिने डीएफओ कँडेलले सुनाए ।

प्रकाशित : असार २१, २०७८ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×