'राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ'- समाचार - कान्तिपुर समाचार

'राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ'

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको संविधान पढ्न भन्दै विभिन्न नारासहितका प्लेकार्डहरु प्रस्तुत गरेका थिए । प्रदर्शनमा उनीहरु संविधानसहित प्रस्तुत भएका थिए ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले सरकार विरोधी प्रदर्शन गर्दै आइरहेका छन् ।


प्रकाशित : असार २१, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति र प्रधानमन्त्री मिलेर देशलाई प्रतिगमनको दिशामा धकेल्नुभयो : नारायणकाजी श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सहयोगमा एकपछि अर्को प्रतिगामी कदम चालेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेलेका कारण अहिले प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबीचबाट देश गुज्रिराखेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप निम्त्याएको आरोप पनि श्रेष्ठले लगाएका छन् । विदेशीसँग मिलेमतोमा प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको श्रेष्ठको दाबी छ ।

‘विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ,’ श्रेष्ठले भने, ‘उहाँले राष्ट्रिय स्वाधिनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’

अहिले प्रतिगमन पूर्णरुपमा परास्त नभएको भन्दै श्रेष्ठले हरहालतमा परास्त गर्ने दाबी गरे । ‘हामीले एकपटक प्रतिनिधिसभा विघटनको कदमलाई असफल बनायौं । तर प्रतिगामी कदम पूर्णरुपमा असफल हुन सकेन । अहिले पनि प्रतिगामी कदम फेरी प्रतिनिधिसभा विघटन–२ अन्तर्गत चालिएको छ । र, हामीले त्यसलाई पूरा परास्त गर्न सकेका छैनौं,’ श्रेष्ठले भने, ‘अर्कोतिर प्रतिगमन पनि आफ्नो योजना अनुसार सम्पूर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर प्रतिगामी निरंकुश राजनीतिक प्रणाली स्थापित गर्ने उत्कर्ष विन्दुमा पुगिसकेको छैन । म चेतावनी दिन चाहन्छु, त्यो कहिले पुग्नेपनि छैन । त्यस्तो सपना कसैले नदेखेपनि हुन्छ ।’

तर, प्रतिगमन र निरंकुशताको छिटा राष्ट्रिय सभाभित्र पनि आउन थालेको भन्दै श्रेष्ठले आफूलाई बोल्न २० मिनेट समय हुँदाहुँदै राष्ट्रिय सभा अध्यक्षले समय घटाएको भन्दै आपत्ति जनाए । ‘यही सदनमा मैले आघा घण्टा बोलेको छु । तर आज २० मिनेट समय हुँदाहुँदै नदिएर घटाइयो । राष्ट्रिय सभामा भएका पार्टीहरुबीच सहमति गर्नुपर्दैन ? परम्परा हेर्नुपर्दैन । यहाँ कुण्ठित गर्ने दिशातिर गइराखेको छ,’ श्रेष्ठले भने ।

प्रकाशित : असार २१, २०७८ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×