२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पीर बोकेर परदेश

कोरोना महामारीका कारण रोकिएका युवा रोजीरोटीका लागि जोखिम मोलेरै भारत जान थालेका छन्

रुपन्देही, बाँके, कपिलवस्तु — जिल्लाभित्र यातायातका साधन सञ्चालन भएकाले आइतबार ओहोरदोहोर गर्नेको निकै भीड थियो । कोरोना संक्रमणमा कमी आएपछि बजार, कार्यालय र सर्वसाधारणका गतिविधि खुला गरिएका छन् । त्यसैले रूपन्देहीस्थित बेलहिया–सुनौली नाका हुँदै भारततर्फ प्रवेश गर्ने सर्वसाधारण आइतबार मध्याह्न लामबद्ध देखिए ।

पीर बोकेर परदेश

दशगजामा तैनाथ भारतीय सुरक्षाकर्मीले सामान र व्यक्तिको परिचय खुल्ने कागजपत्र हेरेर आफ्नो मुलुक प्रवेश गर्न दिइरहेका थिए । महामारीका कारण रोकिएका सर्वसाधारण रोजीरोटीका लागि पुनः भारत प्रवेश गर्न लाम लागेका हुन् ।

नेपालतर्फ रहेको हेल्थ डेस्कमा खटिएका रेडक्रसका स्वयंसेवीले सर्वसाधारणलाई रोकेर पानी दिइरहेका थिए । बेलहिया नाका हुँदै अहिले भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको दिनहुँ लर्को लाग्ने गरेको छ । आइतबार दिउँसो तनहुँका रामबहादुर कटुवाल भारत जाने क्रममा थिए । काँधमा गुन्टागुन्टी बोकेका उनले बिदामा घर आएको र अहिले काममा फर्किन थालेको सुनाए । एक महिना बिदा बसेर फर्किन लागेका उनी भारतीय सेनामा कार्यरत छन् । ‘महामारीमा बिदा पाए पनि घर आउन डर लागेको थियो,’ उनले भने, ‘परिवारले बोलाएपछि आएँ ।’ उनका अनुसार कार्यक्षेत्रमा महामारीको प्रभाव थिएन । ‘परिवार नेपालमा भएकाले आत्तिन थालें,’ उनले भने, ‘अहिले भेटघाट भएपछि फर्किन थालें ।’

कटुवालसँगै म्याग्दीका ३५ वर्षीय हर्कबहादुर थापा पनि थिए । उनी भारतीय सेनामै कार्यरत छन् । एकै ठाउँमा पोस्टिङ कायम नरहने बताउँदै उनले भने, ‘अब गएर कार्यालयले जहाँ खटाउँछ, त्यहीं जाने हो ।’ आफू कार्यरत क्याम्प प्रवेश गर्ने बेला भने कोरोना जाँच गर्नुपर्ने उनले बताए । भारतमा धेरै नागरिकले खोप लगाइसकेकाले धेरै जोखिम नहुने उनले बताए ।

चितवनका राम ढकाल झोला बोकेर सीमा पार गर्दै थिए । परिवारका सदस्य नयाँदिल्लीमा रहेकाले भेटघाट गर्न जान लागेको उनले बताए । ‘धेरै समय भयो, नेपाल आएर अड्किएको,’ उनले भने, ‘त्यसैले दिल्ली पुगेर फर्किने निर्णय गरें ।’ १५ वर्षदेखि दिल्लीको एक होटलमा काम गरिरहेका कृष्ण परियारले आर्थिक अभाव भएपछि महामारीको डर भए पनि कमाउन जान बाध्य भएको सुनाए । ‘घरभरि खाने मानिस छन्,’ उनले भने, ‘नकमाए उनीहरूलाई कसले पाल्ने भन्ने चिन्ता छ ।’

सीमावर्ती प्रहरीका अनुसार अहिले बेलहिया नाका हुँदै दैनिक ६ सयको हाराहारीमा भारत प्रवेश गरिरहेका छन् । यो संख्या वैशाखको तुलनामा धेरै रहेको इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए । भारतबाट मुलुक आउनेको हकमा नेपालीबाहेक नागरिकलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको उनले जानकारी दिए । ‘भारत प्रवेशका लागि पीसीआर जरुरी छैन,’ उनले भने, ‘सहजै उता जान दिइरहेका छन् ।’ अधिकांश भारतीयले खोप लगाइसकेकाले नेपालमा संक्रमण बढेको खण्डमा उनीहरूले पीसीआर रिपोर्ट माग्न सक्ने उनको भनाइ छ ।
अर्घाखाँचीको शीतगंगाका रमेश घिमिरे भारतमा कोरोनाको दोस्रो लहर व्यापक भएका बेला गत वैशाखमा घर फर्किएका थिए । ‘भारतमा संक्रमण कम भए पनि डर लागिरहेको छ,’ आइतबार सीमामा भेटिएका उनले भने, ‘तर, एक छाक टार्न र परिवार पाल्नका लागि भारत नगई नहुने अवस्था भयो ।’ पाँच जना परिवारको आफ्नै मिहिनेतले नुनतेल चलेको उनले बताए ।

ज्याला मजदुरी गर्न भारत पुगेकाहरू त्यहाँ संक्रमणको दोस्रो लहर फैलिएसँगै दुई महिनाअघि नेपाल फर्किए । अहिले उनीहरू फेरि भारत जान थालेका हुन् । रोगको डरले स्वदेश फर्केका नेपाली अहिले भोकको पीडाले फेरि भारत जान बाध्य भएको बताए । उनीहरूलाई भारतमा कोरोनाको अझै जोखिम रहेको थाहा छ । तर, यता घरमा बसेर पनि त केही गर्न सकिँदैन । ज्याला मजदुरीको काम पनि पाइँदैन । कृष्णनगरबाट दुई सयदेखि अढाई सय नेपाली दैनिक फर्किरहेका छन् । ‘सीमा प्रहरी चौकी लिंकगेट कृष्णनगरका नायब निरीक्षक तारा खनालले भारतीयलाई पनि कुनै जाँच नगरी आउन दिएको बताए । सजिलो भएकाले धेरै नेपाली यतैबाट भारत पस्छन् । असार १ गतेदेखि अहिलेसम्म ४ हजारभन्दा बढी नेपाली भारत फर्किसकेका छन् ।

खुलेआम ओहोरदोहोर
दुई सातायता बाँकेको जमुनाह नाका खुला छ । जिल्लामा निषेधाज्ञा पूर्ण रूपमा खुलेको छैन । मुखमा मास्क नलगाएर नाका पार गर्ने र आउनेको दैनिक भीड लाग्छ । पुलिसको नजर छल्न मास्क लगाएजस्तो गरे पनि कोरोना संक्रमणको जोखिमबाट जोगिन सर्वसाधारण संवेदनशील भएको देखिँदैन । भारतबाट आउनेलाई एन्टिजेन जाँच गराउने व्यवस्था सीमा नाकामा छ । तर, खुलेआम दिनको तीन–चारपटक रूपैडिया र नेपालगन्ज ओहोरदोहोर गर्नेलाई रोक्न मुस्किल रहेको प्रहरीले बताए ।

रूपैडिया बजारसँग यहाँको जनजीवन अडिएको छ । त्यसैले दैनिक खाद्यान्न ल्याउन, औषधि उपचार गर्न र लत्ताकपडा खरिद गर्न रूपैडिया धाउने चलन छ । नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय सन्तोषी श्रेष्ठ दिनमा तीनपटक रूपैडिया नाका पुग्छिन् । किराना पसल गरेकी उनले व्यवसाय धान्न पनि सीमापारि नपुगी हुँदैन । उनलाई कोरोना लाग्ला भन्ने डर छैन, बरु व्यापार नचल्ने चिन्ता छ । ‘अरू ठाउँ प्रहरीले चेक गर्न छोडिसके,’ उनले भनिन्, ‘नाकामा मास्क नलगाए किचकिच गर्छन्, त्यसैले झोलामा राखेर ल्याउँछु ।’ बिहेमा जाने, औषधि उपचार गर्ने, दैनिक सामग्री खरिद गर्ने भन्दै मान्छेको ओहोरदोहोर सीमामा बढेको हो । प्रहरीले परिचयपत्र हेर्छ । भीडभाड नियन्त्रणमा कुनै व्यवस्थापन गरेको देखिँदैन ।

भारतबाट आएकालाई एन्टिजेन जाँच गर्न हेल्थ डेस्क र ल्याब राखिए पनि आवतजावत गर्ने स्थानीयलाई कुनै रोकटोक नगरिएको हेल्थ डेस्कमा खटिएका अहेव हेमन्त रानाले बताए । दुई सातायता संक्रमितको संख्यामा कमी देखिएपछि सर्वसाधारण खुलेर हिँड्न थालेका छन् । ‘रूपैडियामा पुगेर तीन–चार घण्टा बजार डुल्नेले संक्रमण नल्याउलान् भन्न सकिन्न,’ उनले भने, ‘तर, मास्क लगाउन पनि अटेरी गर्छन् ।’ तीन दिनयता भारतबाट नेपाल आउने हजारमाथिको संख्यामा एन्टिजेन जाँच गराउँदा एक जना मात्रै संक्रमित पुष्टि भएको उनले सुनाए ।

निषेधाज्ञा खुकुलो बनाएर सवारीसाधन खुलाएपछि भीडभाड नियन्त्रणभन्दा बाहिर गएको जमुनाह नाकाका असई सन्तोष खनालले बताए । सवारीसाधनले जिल्लाभरि र स्थानीयसमेत रूपैडिया बजार भर्न आउन थालेका छन् । ‘आवश्यक खाद्यान्न, दैनिक उपभोग्य सामग्री खरिद गर्न प्रशासनले अनुमति दिएपछि रोक्न पनि नमिल्ने,’ उनले भने, ‘भीड नियन्त्रण गर्न सम्भव छैन । बरु मास्क लगाउनु भन्दै कराउँछौं, त्यही पनि टेर्दैनन् ।’

प्रकाशित : असार २१, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?