तलेजुको लगतसमेत ‘बेपत्ता’

देवेन्द्र भट्टराई

काठमाडौँ — तलेजु भवानी मन्दिरको सम्पूर्ण सम्पदाको ‘लगत’ गुठी संस्थानमा रहेको भनिए पनि गुठीको केन्द्रीय लगत तथा अभिलेख शाखामा त्यस प्रकारका कुनै पनि लगत नरहेको खुलेको छ ।

तलेजुको लगतसमेत ‘बेपत्ता’

मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्ने तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोस्थित एक कला संग्रहालयमा भेटिएकोबारे एक महिनाअघि समाचार सार्वजनिक भएपछि तलेजुका मूल पुजारीले मन्दिरको गरगहना, अभिलेख तथा कागजातसहितको सम्पूर्ण ‘लगत’ गुठी संस्थानमा रहेको जानकारी दिएका थिए । २०२७ सालमा तलेजुको गरगहना छानबिन तथा लगत निर्धारण भनेर तत्कालीन राजदरबारले गठन गरेको समितिले तलेजु हार तथा अन्य गरगहना यहाँबाट उठाएर लगेको थियो । ३ सय ८० वर्षअघि (संवत् १६९८) राजा प्रताप मल्ल काठमाडौं उपत्यकामा शासन गर्न आएपछि सुरु भएको तलेजु मन्दिरको इतिहासमा कर्माचार्यहरू यो मन्दिरमा मूल पुजारी रहिआएका छन् ।

‘२०२६ सालको वरपर हनुमानढोका परिसरकै देउ–तलेजुमा मूर्ति चोरी भएपछि, मूलचोक तलेजुको तोरण र तलेजु भवानीकै ‘किकिम्पा’ (टाउकोमा लगाइने गहना) का ‘क्लिप’ समेत चोरी भएको थियो । त्यसपछि बनेको एउटा उच्चस्तरीय छानबिन समितिले एक महिनाभन्दा बढी समय लगाएर काम गरेको थियो,’ तलेजु भवानीका मूल पुजारी उद्धव कर्माचार्यले कान्तिपुरसँग भने, ‘गरगहना छानबिन गर्ने भनेर आएको टोलीमा राजदरबारका सदस्यसहित गुठी संस्थान, अञ्चलाधीश कार्यालय, संस्कृति मन्त्रालयसमेतका अधिकारी थिए । तलेजुको लगत राख्ने भनेर यहाँ रहेका ३ सयभन्दा बढी गरगहना, प्राचीन भाँडाकुँडा र सम्पत्तिको अभिलेख (लिखत) पनि राखिएको थियो । ती सरसामान कता लगियो थाहा भएन, सामानको लगत भने गुठी संस्थानमा बुझाइएको थियो ।’

‘तलेजु भवानीको हार हराएको र यो अमेरिकामा भेटिएकोबारे समाचार आएपछि हामीले दुई सातायता २०२७ सालको लगत पहिल्याउने काम गर्‍यौं तर कतै फेला परेको छैन,’ केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय, भद्रकालीका प्रमुख राजेन्द्र दाहालले कान्तिपुरसँग भने । दरबारकै आदेशमा बनेको उच्चस्तरीय छानबिन टोली भएकाले सायद संकलित सामान तथा लगत विवरण पनि त्यसबेला उतै लगिएको हुन सक्ने अनुमान उनले गरे । ‘त्यसबेला निर्धारण भएको लगत तथा सामग्रीहरू गुठीमा बुझाइएकोबारे कुनै जानकारी पाउन सकिएन,’ उनले भने, ‘दरबार मातहतमै ती सम्पदा रहेको हुन सक्नेबारे कहिल्यै खोजबिन नभएको हुन सक्छ ।’

२०४६ सालको राजनीतिक परिवर्तन र २०६३ साल वैशाखमा नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि विगतमा राजदरबारमा रहेका भनिएका कागजात, सामग्री, विभूषण नेपाल सरकारलाई फिर्ता गरिएको थियो । केही अभिलेख–सामग्री र सम्पदा भने नारायणहिटीमा स्थापित दरबार संग्रहालयमै राख्ने प्रबन्ध भइरहेको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

‘दरबारमा रहेकामध्ये केही तमसुक, पुराना अभिलेख र पहाडे कागजमा लेखिएका लेखोटबारे अहिले पनि अभिलेखालयका विज्ञ कर्मचारीहरूले अध्ययन–छानबिन गरिरहेकै छन्,’ उनले भने, ‘त्यसमा तलेजु भवानीबारे लगत पाइएको अवस्था छैन । यसबारेमा सरोकार राख्दै कागजातको छानबिन गरिनेछ ।’

प्रकाशित : असार २०, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?