पहाडमा पहिरो, तराईमा बाढी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडमा पहिरो, तराईमा बाढी

पृथ्वी राजमार्गमा ५ गाडी पुरिए, सवार दुई जनाको ज्यान गयो
गोरखामा घरसँगै पुरिए दम्पती
बगाएका व्यक्तिको उद्धारपछि मृत्यु 
सप्तरीमा ५ सयभन्दा बढी घर डुबानमा
प्रदेश ब्युरो

काठमाडौँ — निरन्तर वर्षाका कारण पहाडमा पहिरो बढेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरोमा परेर धादिङ र गोरखामा पाँच जनाको मृत्यु भएको छ । 

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी–१२ मा पर्ने माम्ती खोलामा शनिबार बाढीमा फसेका सवारीसाधन तारिँदै । बाढी र लेदोले अवरुद्ध राजमार्गमा १५ घण्टापछि सवारीआवागमन एकतर्फी सञ्चालनमा आएको छ । तस्बिर : नगेन्द्र अधिकारी/कान्तिपुर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का अन्दाजी १८ वर्षीय वीरबल चेपाङ र चितवनबाट काठमाडौं जाँदै गरेको ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको गजुरीस्थित इलाका प्रहरीका नायब उपरीक्षक युवराज खड्काले बताए ।

पहिरोले पुरिँदा ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का ४० वर्षीय हरिबहादुर चेपाङ, चितवन भण्डाराका ३६ वर्षीय सुदीप चेपाङ घाइते भएका छन् । घाइतेको चितवनमा उपचार भइरहेको छ । ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजकुमार घाइते भएका छन् । उनीहरूको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, धादिङमा पृथ्वी राजमार्गस्थित महेश खोलाले थाक्रे–२ सिम्ले र वडा–११ जोड्ने निर्माणाधीन पक्की पुल भाँचेको छ ।

उता, सप्तरीको विभिन्न पालिकामा गरी पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी–९, १०, ११ र १२ का करिब ३ सय डुबानमा परेको नगर प्रमुख शैलेशकुमार साहले बताए । निरन्तरको वर्षाका कारण सप्तकोसीमा जलस्तर बढेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहानदेखि प्रतिसेकेन्ड २ लाख क्युसेकभन्दा बढीका दरले कोसी ब्यारेजबाट बहाव भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ ।

सप्तकोसीमा बहाव उच्च हुँदै गएपछि हनुमाननगर कंकालिनी–१३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो । गोबरगाढाका वडाध्यक्ष विन्देश्वर यादवका अनुसार उक्त बस्तीमा महिला, बालबालिकासमेत गरी पाँच सय जना छन् । कोसीमा पानी बढेसँगै आफूहरू असुरक्षित भएको उनले बताए । त्यहाँका स्थानीयले भने अझै पनि घर छोड्न मानेका छैनन् । हरेक बर्खामा गोबरगाढामा सप्तकोसीको पानी पस्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गोबरगाढा अहिलेसम्म सुरक्षित रहेको र खतराको अवस्था आए स्थानीयलाई उद्धार गर्ने बताए ।

यसैबीच त्रियुगा, अमहा, टेंग्रा, गंगाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिका–१, २, ३ र ४ का करिब दुई सय घर डुबानमा परेको नगर प्रमुख उत्तम गौतमले बताए । त्रियुगा र टेंग्रा नदीले वडा–२ सिद्धिपुर र वडा–३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको गौतमले बताए । बलान बिहुल अध्यक्ष दयानन्द गोइतका अनुसार बलान नदीले वडा–२ र ४ मा कटान गरिरहेको छ । यता डाकनेश्वरी नगरपालिका–६ कटैयामा खड्ग खोलाले तटबन्ध कटान सुरु गरेको नगर प्रमुख शिवनारायण साहले जानकारी दिए । त्यस्तै, लगातारको वर्षाले रौतहटका विभिन्न स्थानमा तीन घर भत्किएका छन् । लालबकैया, वाग्मती र झाँझ नदीमा आएको बाढीले शनिबार सदरमुकाम गौरलगायतका क्षेत्र डुबानमा परेका छन् । दुर्गाभगवती गाउँपालिका–५ गढैयाका सञ्जीवकुमार गिरी र राजपुर नगरपालिका–३ बलुवाका शेख अबु महम्मद र यमुनामाई गाउँपालिका–२ भेडियाहीका आनन्दी ठाकुरको घर भत्किएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

धनुषास्थित कमला नदीको बाढीले तटीय क्षेत्रमा पनि डुबानको खतरा बढेर गएको छ । ५ दिनयता ३० बिघाभन्दा बढी खेत कटान गर्दै जलस्तर बाँधछेउमा आइपुगेको छ । एक सय मिटरभन्दा बढी उब्जाउ जग्गा कटान गरी बाँधनजिकै आएको बाढीले बस्ती बगाउला कि भन्ने त्रास स्थानीयमा परेको छ ।

उता, शुक्रबार राति र शनिबार बिहानको भारीले वीरगन्ज महानगरका अधिकांश वडा जलमग्न भएका छन् । यता, पहिरोले मकवानपुरका तीन पालिकामा १२ घर पुरिएका छन् । थाहा नगरपालिकामा ५, राक्सिराङ र कैलाश गाउँपालिका–४ र ३ गरी एक दर्जन घर भत्किएका हुन् ।

निर्माण सकिन लागेको पुल भत्कियो

बाढीले शनिबार दिउँसो उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइस्थित त्रियुगा नदीमा बनाइँदै गरेको पक्की पुल भत्किएको छ । पुल भत्किएर एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पुलको दुई स्पानमा क्षति हुँदा समस्या भएको छ । साता यतामात्र सर्वसाधारणलाई पैदल यात्रा अनुमति दिइएको पुल भत्किँदा एक स्थानीय घाइते भएका छन् । चौदण्डीगढी नगरपालिका–५ सिवाइका ४८ वर्षीय अख्तर मियाँ घाइते भएको इलाका प्रहरी बेल्टारले जनाएको छ । उनको अनुहार र खुट्टामा चोट लागेको छ । मियाँ पैदल यात्रा गरेर बेल्टारबाट घर जाँदै गर्दा पुलको स्लाब नदीमा झरेको थियो ।

घरसँगै पुरिए

२०७२ को भूकम्पले घर भत्काएको थियो । गत माघमा नयाँ घर बनाएर वृद्ध दम्पती सरेका थिए । वर्षायाम सुरु भएदेखि नै ८० वर्षीय रमन पाण्डे पहिरो आएर केही हुने हो कि भन्ने चिन्ता जनाइरहन्थे । ७० वर्षीया श्रीमती नन्दकुमारी साथमै थिइन् । पाण्डेले एक साताअघि मात्रै घर बनाएको अन्तिम किस्ता निकासाका लागि पहल गरिदिन छिमेकी विनोद पाण्डेलाई आग्रह गरेका थिए । ‘भूकम्पको घरको तेस्रो किस्ताको पर्खाइमा हुनुहुन्थ्यो,’ स्थानीय विनोदले भने, ‘किस्ता लिन नपाउँदै त्यही घरले पुरिएर उहाँहरूको मृत्यु भयो ।’

भूकम्पले घर भत्काएपछि झन्डै साढे ५ लाख रुपैयाँ खर्चेर बनाएको नयाँ घरमै सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेका पाण्डे दम्पतीको पुरिएर मृत्यु भयो । दुवै जना घरमा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराति माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको हो । शनिबार बिहान मात्रै दुवैको शव निकालिएको हो । घरमा वृद्ध दम्पती मात्र थिए । ‘पहिरो आउँछ भन्ने अनुमानै थिएन,’ छिमेकी विनोदले भने, ‘घरमाथि सडक र सडकछेउमा माटोको ढिस्को खसेको थियो, त्यही ढिस्कोसहित पहिरो खसेछ । उहाँहरूले पनि पहिरो जान्छ कि भनेर यसअघि पनि चिन्ता जनाइरहनुहुन्थ्यो । नभन्दै सोही पहिरोले ज्यान लग्यो ।’ घर पुरिएको छिमेकीले शनिबार बिहान मात्र थाहा पाएका थिए । मध्यराततिर पहिरो गएको हुन सक्ने स्थानीयको अनुमान छ । शनिबार बिहान घर पहिरोले पुरेको देखेपछि वृद्ध दम्पतीको खोजीमा गाउँले जुटे, जौबारीबाट प्रहरी बोलाए र झन्डै चार घण्टाको प्रयासपछि शव निकाले । ‘ढुंगासहितको लेदोले घर पुरिएको थियो,’ स्थानीय विश्वनाथ पाण्डेले भने, ‘खोजी गर्ने क्रममा दम्पतीको शव एकै ठाउँमा भेटियो । नजिकै टर्चलाइट देखिएकाले पहिरो आएको थाहा पाएपछि बाहिर निक्लन प्रयास गरेजस्तो देखिन्छ । शनिबार बिहान करिब साढे नौ बजे मात्र शव भेटिएको उनले बताए ।

मृतकको घरनजिकै ३ छिमेकीको घर छ । तर वर्षाका कारण पहिरोबारे थाहा पाउन नसकेको विश्वनाथले बताए । ‘जस्ताको छाना पानी परेपछि बाहिरको आवाज सुनिएन,’ उनले भने । केराघारी–चिप्लेटी सडकको छेउबाट पहिरो खसेको हो । ‘दम्पतीका ४ भाइ छोरामध्ये जेठा वैदेशिक रोजगारमा, माइला चितवनमा, साइँला गोरखामा र कान्छा पोखरामा छन् । वडाध्यक्ष सुरज ढकालले ६० मिटरमाथिबाट पहिरो खसेको बताए । ‘भौगोलिक अवस्था हेर्दा पहिरोले क्षति गर्छ भनेर अनुमान पनि थिएन,’ उनले भने ।

यसैगरी आरुघाट गाउँपालिका–३ सोतीस्थित फुङ्गी खोलाले बगाएर बेहोस अवस्थामा उद्धार गरिएका आरुघाट–१ श्याम्चेतका २६ वर्षीय किरण लामाको मृत्यु भएको छ । शनिबार बिहान खोला तर्ने क्रममा उनलाई बगाएर २० मिटर तल पुर्‍याएको थियो । बेहोस अवस्थाका लामालाई स्थानीयले उद्धार गरी उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र पठाएकामा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

बीपी राजमार्गमा जोखिम

काभ्रे– राजमार्ग आसपास मापदण्डविपरीत सञ्चालन हुँदै आएका खानी तथा क्रसर उद्योगका कारण बीपी राजमार्गमा जोखिम बढेको छ । बिनायोजना ट्र्याक मात्र खोलिएका कच्ची सडकका कारण पनि वर्षैपिच्छे राजमार्ग अवरुद्ध हुने गरेको छ ।

वर्षासँगै रोशी–१२ माम्ती हुँदै हर्कपुर जाने कच्ची बाटोबाट बगेर आएको लेदोका कारण शनिबार झन्डै १५ घण्टा बीपी राजमार्ग अवरुद्ध बन्यो । जसका कारण पूर्वका जिल्लातर्फ लागेका र काठमाडौं आउँदै गरेका हजारभन्दा बढी सवारीसाधन राजमार्गमै रोकिएका थिए । मध्यरातदेखि लेदो झरेर अवरुद्ध राजमार्ग शनिबार दिउँसो पौने ३ बजेबाट मात्रै एकतर्फी सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामाले जानकारी दिए । राजमार्ग हुँदै बग्ने माम्ती खोलामा वर्षासँगै जलस्तर बढेपछि प्रत्येक वर्ष यातायात अवरुद्ध हुँदै आएको छ ।

नमोबुद्ध–५ स्थित लास्कोटमा पशुपति रोडा ढुंगा उद्योग (खानी) र मनकामना एग्रिगेट प्रालि (क्रसर) ले राजमार्ग छेउमा थुपारेको धूलो (डस्ट) पानीले बगाएर राजमार्गमा थुप्रिँदा यातायात सेवा नै अवरुद्ध हुने गरेको छ । यसकै कारण शनिबार पनि साना सवारीसाधन लास्कोटमा रोकिए । खोला मिचेर सञ्चालनमा रहेका खानी तथा क्रसरले थुपारेको धूलोका कारण खोलामा जलस्तर बढेको छ भने बहाव परिवर्तन हुँदा राजमार्गका पुल जोखिममा छन् । खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

पशुपति रोडाढुंगा उद्योगकै कारण दाप्चा खोलास्थित १ नं पुल जोखिममा परेको छ । खोलाको सिमाना मिचेर धूलो थुपारिएका कारण पुलमा प्रत्यक्ष असर परेको हो । सञ्चालक भने मापदण्डअनुसारै काम गरिरहेको बताउँछन् । रोशी–८ स्थित नाङसाल रोडाढुंगा उद्योग, मंगल रोडाढुंगा उद्योग र गौरीशंकर रोडाढुंगा उद्योगले थुपारेको धूलोका कारण पनि बीपी राजमार्गमा यात्रा गर्न जोखिम बढेको छ । २०७० देखि बिनानवीकरण सञ्चालन भइरहेका क्रसर उद्योगहरूबाट स्थानीय तहले राजस्व भने उठाइरहेका छन् ।

हरिहरसिंह राठौर (धादिङ), अवधेशकुमार झा (राजविराज), शिव पुरी (रौतहट), शंकर आचार्य (पर्सा), सुवास बिडारी (मकवानपुर), डिल्लीराम खतिवडा (उदयपुर), सन्तोष सिंह (धनुषा) र हरिराम उप्रेती (गोरखा)


प्रकाशित : असार २०, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा २२ प्रतिशत रोपाइँ

प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान रोपिँदैन, जेठमै मनसुन सक्रिय हुँदा रोपाइँ छिटो
प्रदेश ब्युरो

पोखरा — गण्डकी प्रदेशमा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ग्रीष्म न्यौपानेले धान रोपाइँ बल्ल सुरु भएको बताए ।

तनहुँको भानु–१३ खड्का गाउँस्थित पहेंले खेतमा धान रोप्नका लागि ब्याडमा बीउ काढ्दै रोपाहार ।

‘वर्षे धान जेठबाटै रोपिन्छ,’ उनले भने, ‘किसानलाई हिउँदे धान र मकै थन्काएपछि वर्षे धान रोप्ने बेला बल्ल भएको हो ।’ उनले गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा रोपाइँ नहुने बताए ।

कृषि मन्त्रालयका बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले असार २५ पछि अधिकाशं स्थानमा धान रोपाइँ सम्पन्न हुने बताए । ‘चैते धान काटिए पनि अधिकांश ठाउँमा मकै छन्,’ उनले भने, ‘अहिले नै धेरै रोप्ने समय भएको छैन ।’ उनले साउनको १५ सम्म धान रोपाइँ गरिने बताए । उनले म्याग्दीमा ५७ प्रतिशत सबैभन्दा बढी धान रोपाइँ भएको बताए । तनहुँमा २८, लमजुङमा १०, नवलपुरमा ७, स्याङ्जामा ८, बागलुङमा १० र कास्कीमा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरि १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपिन्छ । त्यसमध्ये १७ हजार ७ सय ९८ मा मात्र रोपाइँ भएको छ ।

गोरखामा २५ प्रतिशत

जिल्लामा २५ प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन छिटो सुरु हुँदा रोपाइँ पनि चाँडो भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए । असार सुरुदेखि नै किसान रोपाइँमा व्यस्त छन् ।

गोरखाको झन्डै १२ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ । धान खेतीको पकेट क्षेत्र मानिने दरौंदी, भुसुन्डे, जरेवर, चेपेफाँटका किसान बीउ काढ्न, रोप्न र जुडी (चैते) धान काट्न व्यस्त छन् । ‘मकै र जुडी धान नलगाएको क्षेत्रमा अहिले रोपाइँ भइरहेको छ,’ अधिकारीले भने, ‘अब मकै र जुडी भित्र्याएपछि अन्य असार २० पछि ती खेतमा रोपाइँ हुन्छन् ।’ चैते धान काट्ने र खेतमा लगाएको मकै थन्काउन किसानलाइ चटारो परेको हो । यहाँको सात सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ ।

असार १५ को धान दिवसको कार्यक्रम आरुघाट गाउँपालिकामा मनाएको अधिकारीले बताए । आरुघाट १० र ५ नम्बर वडाको सय हेक्टर क्षेक्रफल समेटेर धान ब्लकको कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए । किसान बर्खे धानकोरूपमा सावित्री, मकवानपुर १, रामधान, हर्विनाथ १, सुख्खा ३, नेपाली हाइब्रिट जातका धान लगाउने गर्छन् ।

पर्वतमा ११ प्रतिशत

जेठमै मनसुन सक्रिय भएका कारण पर्वतमा यो वर्ष धान रोपाइँ छिट्टै सुरु भयो । त्यसको प्रभावकै कारण अघिल्ला वर्षहरूमा धान दिवस (असार १५) सम्म १० प्रतिशत खेतमा समेत रोपाइँ नहुने गरेकोमा यो वर्ष मंगलबारसम्म ११ प्रतिशत खेतमा धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साढे ८ हजार हेक्टरमा धान रोपाइँ हुन्छ । मंगलबारसम्म करिब एक हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कार्यालयका बागवानी विकास अधिकृत विश्वास काफ्लेले बताए । ‘धान रोपाइँको अहिलेसम्मको अवस्था हेर्दा सन्तोषजनक छ,’ उनले भने, ‘कोभिडको प्रभावले गर्दा धान खेत बिस्तार भएको पनि छ ।’ कोभिडका कारण गरिएको लकडाउनले गाउँ फर्किएकाहरूले बाँझिएको खेतबारीमा खेती

लगाउन सुरु गरेपछि जिल्लाभर करिब एक हजार हेक्टर क्षेत्रफल धानखेत बढेको अनुमान प्राविधिकको छ । ‘रोपाइँको साताअघिदेखि हलगोरु र हलीबाउसेको चिन्ता हुन्थ्यो,’ फलेबास–४ का शालिग्राम लामिछानेले भने, ‘अहिले आलीकान्ला मिलाएपछि सानो ट्याक्टरले चार हलको मेलो एकैदिनमा तयार हुन्छ । धेरै सहज छ ।’

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार साढे ८ हजार हेक्टरमा लगाइएको धानखेतबाट अन्दाजी ३० हजार टन धान उत्पादन हुन्छ । यो पर्वतको जनसंख्याले वर्षभरिमा खपत गर्ने खाद्यान्नको करिब ४० प्रतिशत हिस्सा हो ।

प्रकाशित : असार १६, २०७८ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×