कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिरामीबाट लाखौं असुलेर सरकारसँग उपचार खर्च माग

उपचार जनरल बेडमा, खर्च दाबी आईसीयूको, दुर्घटनामा परेका बिरामी संक्रमितको सूचीमा
मकर श्रेष्ठ

काठमाडौँ — विराटनगर–९ सिद्धार्थ चोकका ४२ वर्षीय अशोककुमार साहलाई गत वैशाख ८ मा कोरोना संक्रमण देखियो । उनी दुई दिन होम आइसोलेसनमा बसे । अक्सिजन लेबल कम भएपछि उनी नजिकैको कोसी अस्पतालमा भर्ना भएर तीन दिन उपचार गराए । सरकारीभन्दा निजी अस्पतालमा राम्रो उपचार हुने आसमा उनलाई विराट मेडिकल कलेजमा भर्ना गरियो ।

बिरामीबाट लाखौं असुलेर सरकारसँग उपचार खर्च माग

भर्ना भएको १७ औं दिनमा उनको मृत्यु भयो । उनका छोरा राकेश उपचार र औषधिमा १० लाख रुपैयाँभन्दा बढी खर्च भएको र सबै आफैंले बेहोरेको बताउँछन् । अस्पताल प्रशासनले भने अशोकको उपचार निःशुल्क गरेको भन्दै भुक्तानीका लागि स्वास्थ्य मन्त्रालयमा माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा उपचार खर्च दाबी गरेकाहरूको खोजी गर्ने क्रममा कान्तिपुरले साहको परिवारले अस्पतालमा १७ दिनमा ७ लाख ५ हजार ४ सय १० रुपैयाँ तिरेको पाइएको छ । अस्पतालले आईसीयू बेड शुल्क मात्रै ४ लाख १० हजार रुपैयाँ लिएको छ । आईसीयू बेडको शुल्क दिनको ३५ हजारका दरले लिइएको छ । ‘कन्सल्टेसन चार्ज’ भन्दै २ हजार ५ सयका दरले १७ दिनको ४२ हजार ५ सय रुपैयाँ अस्पतालले लिएको छ । भेन्टिलेटरसहित आईसीयूको १५ हजारका दरले १ लाख ९५ हजार रुपैयाँ लिएको छ । ‘ल्याब र फार्मेसीको बिल त कति हो कति ?’ राजेशले भने ।

विराट मेडिकल कलेजले वैशाखमा निःशुल्क उपचार गरेको भनिएकामध्ये २९ जनालाई सम्पर्क गर्दा २१ जनाबाट पैसा लिएको पाइएको छ । विराटका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले संस्था बचाउन तिर्न सक्नेबाट लिएर तिर्न नसक्नेको निःशुल्क उपचार गरेको दाबी गरे । सरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएकाले बिरामीसँग लिएर संस्था सञ्चालन गरेको उनको भनाइ छ । ‘काठमाडौंको कोठामा बसेर उपचारबापत यति दिँदा हुन्छ भनेर हिसाब गरेजस्तो हुँदैन । कति खर्च लाग्छ, उपचार गर्दै जाँदा थाहा हुन्छ,’ उनले भने, ‘सरकारले उपलब्ध गराउने भनिएको रकमले पुग्दैन । आईसीयूमा राखेर १५ हजारमा उपचार गर्नू भन्नु पागलपन हो । यो रकममा उपचार गर्न सकिँदैन भन्न पनि पाउनुपर्‍यो ।’

सरकारले सामान्य लक्षण भएका संक्रमितको उपचार गर्दा दिनको ३ हजार ५ सय, मध्यम जटिल भएकाको उपचार गरे ७ हजार र जटिल एवं क्रिटिकलको उपचार गरेको भए १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । यो सुविधाका लागि सामान्य रगत परीक्षण (सिरम युरिया, क्रियटिनिन, सुगर, सीआरपी, सीबीसी, हेमोग्लोबिन, प्लेटलेट, ईएसआर, एएसटी, एएलटी), छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाइँदैन । खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क छ । ‘कसैले सःशुल्क सेवा लिने भनी अस्पताल भर्ना गरेको छ भने पनि लिखित रूपमा मञ्जुरी गराउनुपर्ने हुन्छ । अन्यथा त्यस्ता संक्रमितलाई निःशुल्क उपचार गर्नुपर्ने हुन्छ,’ मन्त्रालयले जेठ २७ मा जारी गरेको सूचनामा भनिएको छ, ‘सेवाग्राहीको विवरण फरक परेमा, शुल्क लिएमा सोधभर्ना उपलब्ध नगराइने, अस्पतालको दर्ता खारेज गर्ने सचिवस्तरीय निर्णय भएको जानकारी गराइन्छ ।’

विराटका सञ्चालक कार्कीले भने एक जना मेडिकल अफिसरको तलब २ लाख २० हजार, नर्सलाई १ लाखभन्दा बढी तलब दिनुपर्ने भएकाले सरकारले दिने रकम अपुग हुने बताए । ‘तिर्न सक्ने बिरामीबाट नलिए कसरी संस्था चल्छ ?’ उनले भने, ‘१० करोड त कोरोनाको बेला फ्रि गरें होला । संस्थालाई चलाउन रकम लिनु बाध्यता हो । मलाई कोरोनाका बेला कमाउनु छैन । संस्था बाँचेन भने अरू हजारौंले मर्नुपर्छ । तिर्न सक्नेलाई तिराएको हो ।’

चितवन मेडिकल कलेज (सीएमसी) ले पनि कोरोना संक्रमितबाट पैसा लिएर ‘उपचार निःशुल्क गरेको’ भन्दै स्वास्थ्य मन्त्रालयमा उपचारबापतको रकम माग गरेको छ । सीएमसीले निःशुल्क उपचारको दाबी गरेकामध्ये कपिलवस्तुकी बिन्दु शर्मा एक हुन् । सीएमसीमा उनलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारमा ७ लाख खर्च भएको उनको भनाइ छ । अस्पतालमा मात्रै १ लाख ३८ हजार ७ सय ५० रुपैयाँ बुझाएको बिल उनीसँग छ । अस्पतालले आईसीयू बेड शुल्क दिनको १५ हजारका दरले लिएको छ । ‘हामीलाई एक रुपैयाँ पनि छुट दिइएन,’ शर्माले भनिन्, ‘अस्पतालमा बेड चार्जभन्दा बढी औषधि र ल्याबमा तिर्‍यौं ।’ अस्पतालले भने उनलाई ७ दिन भेन्टिलेटरमा राखेर उपचार गरेको भन्दै मन्त्रालयसँग उपचार खर्च मागेको हो । ‘अस्पतालले निःशुल्क उपचार गरेको भनेर सरकारसँग पैसा मागेको भए हामीले तिरेको पैसा फिर्ता गरोस्,’ उनले भनिन् ।

सीएमसीले चितवन भरतपुर–२ की तारा गुरुङको पनि निःशुल्क उपचार भएको दाबी गरेको छ । गुरुङले भने अस्पतालमा ४ लाख रुपैयाँभन्दा बढी तिरेको बताइन् । नवलपरासी प्रतापपुरकी ८० वर्षीया फूलमाया गुरुङको पनि निःशुल्क उपचार भन्दै अस्पतालले सरकारसँग रकम माग गरेको छ । बिरामीका आफन्तले भने अस्पतालमा दुई दिनको ५८ हजार ४ सय ८५ रुपैयाँ तिरेका छन् ।

सीएमसीका सञ्चालक डा. हरिशचन्द्र न्यौपानेले पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आउनुअघि र नेगेटिभ आइसकेपछि अस्पताल बस्दा मात्रै शुल्क लिएको दाबी गरे । ‘अस्पतालमा भर्ना हुन आउँदा पोजिटिभ भएको हुँदैन । पीसीआर रिपोर्ट नआएसम्म विभिन्न परीक्षण गर्नैपर्ने हुन्छ । परीक्षण गर्दा र बेड चार्ज लाग्छ,’ उनले भने, ‘पोजिटिभ आएपछि शुल्क लिएका छैनौं ।’ सीएमसीले वैशाखमा २ सय १२ जनालाई निःशुल्क उपचार गरेको दाबी गर्दै मन्त्रालयमा सोधभर्ना माग गरेको छ । तर अधिकांशसँग पैसा लिएको पाइएको छ ।

सीएमसीले दुर्घटनामा परेर उपचार गर्न आएकाको पनि कोराना संक्रमितको उपचार गरेको भन्दै विवरण पेस गरेको पाइएको छ । बाबुराम उपाध्याय दुर्घटनामा परेर सीएमसी भर्ना भएका थिए । अस्पतालले उनलाई दैनिक बेड चार्ज १२ हजार रुपैयाँ लिएको थियो । सीएमसीले उनलाई पनि कोरोना संक्रमितको सूचीमा राखेर सरकारसँग उपचार खर्च दाबी गरेको छ । जनरल बेडमा उपचार गरिएकालाई पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरेको सूचीमा राखिएको छ । हरि बर्तौलाले सीएमसीको एचडीयूमा ८ दिन उपचार गराए । दिनको सात हजार रुपैयाँका दरले पैसा पनि तिरे । तर अस्पतालले १० दिन एचडीयूमा उनको उपचार गरेको भन्दै गलत विवरण मन्त्रालयमा पेस गरेको छ । औषधि, उपचारका क्रममा साढे दुई लाख रुपैयाँ सकाएको उनले बताए । अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दीपेन्द्र बाँस्तोलाको पनि भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको विवरण सीएमसीले पेस गरेको छ ।

अजित थापा ६ दिन एचडीयूमा भर्ना भएकी थिइन् । उनी १० दिन बसेको भन्दै सरकारसँग भुक्तानी माग गरिएको छ । उनको उपचारमा २ लाख १० हजार रुपैयाँ खर्च भएको परिवारले जनाएको छ । त्यस्तै पवित्रा खत्री एचडीयूमा ३ दिन भर्ना भएकी थिइन् तर सात दिनको सोधभर्ना माग गरिएको छ । मीरा शर्मा कोइराला कोरोना देखिएपछि होम आइसोलेसनमा बसिन् । तर उनको नाम पनि भर्ना भएका बिरामीको सूचीमा छ । बन्दना महतो चार दिन एचडीयूमा भर्ना भएकी थिइन् । उनको आईसीयूमा भर्ना गरेर सात दिन उपचार गरेको भन्दै सरकारसँग पैसा मागिएको छ । २ दिन जनरल बेडमा बसेका सरोजलाई ८ दिन आईसीयूमा भर्ना भएको भनेर सीएमसीले विवरण पेस गरेको छ । कर्णमान शाक्यले जनरल वार्डमा तीन दिन बसेर ४० हजार रुपैयाँ तिरेका थिए । अस्पतालले उनलाई पनि आईसीयूमै भर्ना गरेको भनेको छ । तिलप्रसाद लम्साल जनरल वार्डमा चार दिन बसेका थिए । तर अस्पतालले उनलाई ५ दिन अस्पतालको आईसीयूमा राखेको विवरण पेस गरेको छ ।

काठमाडौं मेडिकल कलेजले पनि निःशुल्क उपचार गरेको दाबी गरिएका संक्रमितसँग पैसा लिएको पाइएको छ । भक्तपुर थिमिका थानेश्वर दाहाल र उनकी श्रीमती निर्मला घिमिरे कोरोना संक्रमण भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । गत वैशाख ८ मा कोरोना पोजिटिभ देखिएका दाहाललाई १२ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको ५ औं दिनमा उनको मृत्यु भयो । उनलाई भेन्टिलेटरमा तीन दिन मात्र राखिएको थियो । काठमाडौं मेडिकल कलेजले भने ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरेको भन्दै उपचार खर्च मन्त्रालयसँग मागेको छ । ‘जे जति खर्च भएको छ, सबै हामीले तिरेका छौं । अस्पतालले सरकारसँग पैसा लिने हो भने हामीले तिरेको फिर्ता गर्नुपर्छ,’ मृतककी श्रीमती घिमिरेले भनिन्, ‘हाम्रो नाम बेच्नेलाई कारबाही होस् ।’ उनले बेड र उपचारको शुल्क मात्रै अस्पताललाई ९१ हजार एक सय रुपैयाँ तिरेको जानकारी दिइन् । उनका अनुसार औषधि उपचारमा सबै गरेर साढे चार लाख रुपैयाँ खर्च भएको थियो ।

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले कमाउने नियतले नभई प्राविधिक कारणले तथ्यांक गलत परेको हुन सक्ने बताए । ‘महिनाको १० करोड घाटा सहेर संक्रमितलाई बचायौं । रातदिन नभनी काम गर्‍यौं । कुनियत राखेको भए त्यो बेला जति पनि लिन सक्थ्यौं,’ उनले भने, ‘मन्त्रालयमा बुझाएको विवरणमा केही समस्या हुन सक्छ । त्यसैलाई देखाई अस्पतालको बदनाम गरेर हामीले मागेको सोधभर्ना नदिने नियत पनि राखेको हुन सक्छ ।’ परिवारका सदस्य र ७५ प्रतिशतभन्दा बढी कर्मचारीलाई कोराना लागेका बेला जनताको सेवा गर्दा धन्यवाद दिनुपर्नेमा उल्टै मन्त्रालयले बदनाम गरेको उनको आरोप छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालले संक्रमितको उपचार गरेबापत सोधभर्नाका लागि विवरण पठाएअनुसार रुजु गर्ने क्रम जारी रहेको बताए । अस्पतालले निःशुल्क उपचार गरेको भनिएको व्यक्तिलाई सम्पर्क गरेर छानबिन भइरहेको उनले बताए । ‘जसको निःशुल्क उपचार गरिएको हो, उसको मात्रै सोधभर्ना हुन्छ । पैसा लिएर पनि लिएकै छैन भनेर मागदाबी गरिएको रहेछ भने दिँदैनौं,’ उनले भने, ‘केही अस्पतालले शुल्क लिएका बिरामीको पनि नाम समावेश गरेको पाइएको छ ।’ केहीले आफ्ना कर्मचारीको विवरणसमेत समावेश गरेका छन् ।

विराट मेडिकल कलेजका सञ्चालक कार्कीले कोरोना लागेका व्यक्तिको अरू रोगको उपचार गरेबापत पनि बिरामीसँग शुल्क लिएको बताए । ‘कोरोना संक्रमितको लिभर, मुटु, फोक्सोसम्बन्धी वा अरू रोग पनि हुन्छ । सरकारले त कोभिडको मात्रै निःशुल्क उपचार गर्नु भनेको हो । नाम एउटा, रोगको उपचार अरूको पनि गर्नुपर्ने हुँदोरहेछ,’ उनले भने, ‘कतिपय बिरामीको यस्ता उपचारको पनि शुल्क लिएका हौं ।’ विराटनगरकी रिमा नेपालले अलगै रोगको मात्रै नभएर कोरोनाको पनि शुल्क तिरेको दाबी गरिन् ।

प्रकाशित : असार १९, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?