घर निर्माणमा एसएसबीको अवरोध

सशस्त्र प्रहरीले अनुगमन गरी अवरोध खुलाउन आग्रह गरे पनि एसएसबीको अटेरी
विप्लव भट्टराई

इलाम — सन्दकपुर गाउँपालिका–५ स्थित कैयाँकट्टामा एक स्थानीयको घर निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । दशगजाभन्दा करिब ४५ मिटर वरै नेपालतर्फको क्षेत्रमा घर बनाउन लाग्दा एक सातादेखि एसएसबीले काम गर्न दिएको छैन । स्थानीय यदादिकी शेर्पाका नाममा रहेको जग्गामा घर निर्माण गर्न लागिएको थियो ।

घर निर्माणमा एसएसबीको अवरोध

‘प्रस्ट रूपमा नेपालतर्फको क्षेत्रमा रहेको आफ्नै जमिनमा बहिनी ज्वाइँले घर बनाउन लाग्दा रोक लगाइयो,’ स्थानीय तेन्जी शेर्पाले भने, ‘एक सातादेखि निर्माण कार्य बन्द छ ।’ एसएसबीले माथिबाट आदेश नआई निर्माण गर्न नदिने भन्ने गरेको उनले बताए । यादिकीका नाममा रहेको जग्गामध्ये चार रोपनीमा घर बनाउन लागिएको हो । घरको जग राख्ने काम सकिएको छ । एसएसबीले अवरोध गरेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको निरीक्षण गरेको थियो । नजिकैको बोर्डर आउट पोस्टमार्फत अनुगमन गरेर एसएसबीलाई घर निर्माणको अवरोध खुलाउन आग्रह गरे पनि मानेको छैन ।

जिल्लाका पूर्वी र उत्तरी भारतीय सीमामा भारतीय पक्षबाट पटकपटक अवरोधका घटना दोहोरिने गरेका छन् । अघिल्लो वर्ष सन्दकपुर–४ को कालपोखरी बजारमा स्थानीयलाई शौचालय बनाउन पनि रोक लगाइएको थियो । ‘निजी जग्गामै स्थानीयले बनाउन लागेको संरचनामा रोक लगाएको,’ गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने, ‘सीमा क्षेत्रमा पूर्वधार विकासमा लामो समयदेखि नै समस्या देखिँदै आएको छ ।’ अघिल्लो वर्ष सन्दकपुर, तुम्लिङलगायत क्षेत्रमा एसएसबीले प्रदेश सरकारबाट निर्माण थालिएका योजनाहरूमा अवरोध गरेको थियो । कतिपय त्यस्ता योजनामा अझै पनि काम भएको छैन । पूर्वी सीमावर्ती, सन्दकपुर, कालपोखरी, मानेभन्ज्याङ, पुलखोला, पशुपति फाटक, हिले, छब्बीसेलगायत क्षेत्रमा सीमासम्बन्धी समस्या आउने गरेको छ ।

सीमावर्ती क्षेत्रमा भारततर्फबाट निर्माण सामग्रीलगायत ल्याउनसमेत एसएसबीले कडाइ गर्दै आएको स्थानीय बताउँछन् । सामान्य उपभोग्य खाद्य वस्तु ल्याउँदा पनि अवरोध हुने गरेको जौबारीका पेम्बा शेर्पाले बताए । ‘अहिले पनि हामी भारतीय क्षेत्रको सडक प्रयोग गरेर उपभोग्य सामग्री ल्याउन बाध्य छौं,’ उनले भने, ‘नेपालतर्फबाट बाह्रै महिना चल्ने सडक हुने हो भने यो समस्या आउने थिएन ।’

जिर्मलेको सलकपुरदेखि सन्दकपुरसम्मको सीमा सडक निर्माण गर्ने चर्चा वर्षौंदेखि चल्ने गरे पनि ठोस काम हुन सकेको छैन । ठाउँठाउँमा सामान्य काम भए पनि सबैतिर ट्र्याक खुल्न सकेको छैन । ‘सीमा सडक राज्यको प्राथमिकतामा नै नपर्दा काम हुन नसकेको हो,’ रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले भने । सीमा क्षेत्रमा बीओपीलगायतका अन्य कार्यालयकै लागि पनि सडकको आवश्यकता झनै खड्किएको छ ।

सीमा क्षेत्रमा सधैंजसो भइरहने भारतीय सुरक्षाकर्मीको अवरोध रोक्न वैज्ञानिक सीमांकन गरिनुपर्ने, बीओपी स्थापना गर्नुपर्ने, नेपालतर्फबाट सडक सुविधा पुर्‍याइनु पर्ने माग स्थानीयले राख्दै आएका छन् । सीमा क्षेत्रका पशुपतिनगर, कालपोखरी, जौबारी, मानेभन्ज्याङ, पशुपतिनगर, छब्बीसे, समालवुङ र सलकपुरमा बीओपी स्थापना भएका छन् । यस्तै पाँचथर इलाम सीमावर्ती आहालटार, गैरीबास, मेघमा, हिले, खोलागोदाम, सुङतुङ र पाटापुरमा पनि प्रस्ताव गरिएको छ ।

सन्दकपुरदेखि सलकपुरसम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्र भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सीमा क्षेत्रको विषयमा संवेदनशील रहेको बताउँदै छब्बीसेको दशगजा क्षेत्रमा भारतीय पक्षबाट निर्माणाधीन दुई वटा घर निर्माणको काम पनि आफूहरूले रोकेको बताए ।

प्रकाशित : असार १७, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?