घर निर्माणमा एसएसबीको अवरोध- समाचार - कान्तिपुर समाचार

घर निर्माणमा एसएसबीको अवरोध

सशस्त्र प्रहरीले अनुगमन गरी अवरोध खुलाउन आग्रह गरे पनि एसएसबीको अटेरी
विप्लव भट्टराई

इलाम — सन्दकपुर गाउँपालिका–५ स्थित कैयाँकट्टामा एक स्थानीयको घर निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । दशगजाभन्दा करिब ४५ मिटर वरै नेपालतर्फको क्षेत्रमा घर बनाउन लाग्दा एक सातादेखि एसएसबीले काम गर्न दिएको छैन । स्थानीय यदादिकी शेर्पाका नाममा रहेको जग्गामा घर निर्माण गर्न लागिएको थियो ।

इलामको सन्दकपुर–५ कैयाँकट्टामा नेपालतर्फ निर्माणाधीन घर । उक्त घरको निर्माण एसएसबीले एक सातादेखि रोकेको छ । तस्बिर सौजन्य : तेन्जी शेर्पा

‘प्रस्ट रूपमा नेपालतर्फको क्षेत्रमा रहेको आफ्नै जमिनमा बहिनी ज्वाइँले घर बनाउन लाग्दा रोक लगाइयो,’ स्थानीय तेन्जी शेर्पाले भने, ‘एक सातादेखि निर्माण कार्य बन्द छ ।’ एसएसबीले माथिबाट आदेश नआई निर्माण गर्न नदिने भन्ने गरेको उनले बताए । यादिकीका नाममा रहेको जग्गामध्ये चार रोपनीमा घर बनाउन लागिएको हो । घरको जग राख्ने काम सकिएको छ । एसएसबीले अवरोध गरेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको निरीक्षण गरेको थियो । नजिकैको बोर्डर आउट पोस्टमार्फत अनुगमन गरेर एसएसबीलाई घर निर्माणको अवरोध खुलाउन आग्रह गरे पनि मानेको छैन ।

जिल्लाका पूर्वी र उत्तरी भारतीय सीमामा भारतीय पक्षबाट पटकपटक अवरोधका घटना दोहोरिने गरेका छन् । अघिल्लो वर्ष सन्दकपुर–४ को कालपोखरी बजारमा स्थानीयलाई शौचालय बनाउन पनि रोक लगाइएको थियो । ‘निजी जग्गामै स्थानीयले बनाउन लागेको संरचनामा रोक लगाएको,’ गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने, ‘सीमा क्षेत्रमा पूर्वधार विकासमा लामो समयदेखि नै समस्या देखिँदै आएको छ ।’ अघिल्लो वर्ष सन्दकपुर, तुम्लिङलगायत क्षेत्रमा एसएसबीले प्रदेश सरकारबाट निर्माण थालिएका योजनाहरूमा अवरोध गरेको थियो । कतिपय त्यस्ता योजनामा अझै पनि काम भएको छैन । पूर्वी सीमावर्ती, सन्दकपुर, कालपोखरी, मानेभन्ज्याङ, पुलखोला, पशुपति फाटक, हिले, छब्बीसेलगायत क्षेत्रमा सीमासम्बन्धी समस्या आउने गरेको छ ।

सीमावर्ती क्षेत्रमा भारततर्फबाट निर्माण सामग्रीलगायत ल्याउनसमेत एसएसबीले कडाइ गर्दै आएको स्थानीय बताउँछन् । सामान्य उपभोग्य खाद्य वस्तु ल्याउँदा पनि अवरोध हुने गरेको जौबारीका पेम्बा शेर्पाले बताए । ‘अहिले पनि हामी भारतीय क्षेत्रको सडक प्रयोग गरेर उपभोग्य सामग्री ल्याउन बाध्य छौं,’ उनले भने, ‘नेपालतर्फबाट बाह्रै महिना चल्ने सडक हुने हो भने यो समस्या आउने थिएन ।’

जिर्मलेको सलकपुरदेखि सन्दकपुरसम्मको सीमा सडक निर्माण गर्ने चर्चा वर्षौंदेखि चल्ने गरे पनि ठोस काम हुन सकेको छैन । ठाउँठाउँमा सामान्य काम भए पनि सबैतिर ट्र्याक खुल्न सकेको छैन । ‘सीमा सडक राज्यको प्राथमिकतामा नै नपर्दा काम हुन नसकेको हो,’ रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले भने । सीमा क्षेत्रमा बीओपीलगायतका अन्य कार्यालयकै लागि पनि सडकको आवश्यकता झनै खड्किएको छ ।

सीमा क्षेत्रमा सधैंजसो भइरहने भारतीय सुरक्षाकर्मीको अवरोध रोक्न वैज्ञानिक सीमांकन गरिनुपर्ने, बीओपी स्थापना गर्नुपर्ने, नेपालतर्फबाट सडक सुविधा पुर्‍याइनु पर्ने माग स्थानीयले राख्दै आएका छन् । सीमा क्षेत्रका पशुपतिनगर, कालपोखरी, जौबारी, मानेभन्ज्याङ, पशुपतिनगर, छब्बीसे, समालवुङ र सलकपुरमा बीओपी स्थापना भएका छन् । यस्तै पाँचथर इलाम सीमावर्ती आहालटार, गैरीबास, मेघमा, हिले, खोलागोदाम, सुङतुङ र पाटापुरमा पनि प्रस्ताव गरिएको छ ।

सन्दकपुरदेखि सलकपुरसम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्र भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सीमा क्षेत्रको विषयमा संवेदनशील रहेको बताउँदै छब्बीसेको दशगजा क्षेत्रमा भारतीय पक्षबाट निर्माणाधीन दुई वटा घर निर्माणको काम पनि आफूहरूले रोकेको बताए ।

प्रकाशित : असार १७, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

न्यायाधीशलाई नयाँ गाडी : समय र औचित्य

सम्पादकीय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालततिर सबैको ध्यान केन्द्रित भइरहेका बेला सरकारले न्यायाधीशहरूका निम्ति ठूलो संख्यामा महँगा गाडी वितरण गर्न खोज्नुको समय, सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठेको छ । पहिलो पटक प्रतिनिधिसभा विघटन गरिसकेपछि हालसम्म सरकारले न्यायाधीशहरूका निम्ति ११६ वटा सवारी साधन खरिद गर्न अनुमति दिइसकेको छ, जसको लागत झन्डै ८१ करोड रुपैयाँ बराबर छ ।

कोभिड–१९ को संक्रमणका कारण आर्थिक क्षेत्रमा असर परी राजस्व संकलन कम भइरहेको र त्यसलाई पनि स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिनुपर्ने भन्दै सरकार आफैंले ‘सार्वजनिक खर्चमा मितव्ययिता मापदण्ड’ जारी गरी गाडी खरिद गर्न नपाउने व्यवस्था गरेको थियो । तसर्थ, सरकारकै नीतिबमोजिम पनि यो गाडी खरिद प्रकरण आफैंमा विरोधाभासपूर्ण भएकाले यसले अनावश्यक सन्देह जन्माएको छ ।

अत्यावश्यक परेको खण्डमा यो मापदण्डभन्दा बाहिर कुनै सार्वजनिक निकायले बजेट निकासा गर्नुपरे अर्थ मन्त्रालयलाई सहमत गराउन निकै मिहिनेत गर्नुपर्छ । तर यही समय प्रधानन्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरू र न्यायाधीशहरूका लागि नयाँ र महँगा गाडी खरिद गर्न सर्वोच्च प्रशासनले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले बिनारोकटोक स्वीकृत गरेको छ, जुन धेरै दृष्टिकोणबाट जिम्मेवारपूर्ण देखिन्न । पहिलो त, यो कुबेलाको सुविधामोह हो । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन–२०७४ ले पूर्वप्रधानन्यायाधीशहरू र बहालवालाहरूका लागि सुविधा सुनिश्चित गरिदिएको छ । मुलुक संघीय संरचनामा प्रवेश गरेपश्चात् र मुलुकी अपराध संहिता–२०७४ लागू भइसकेपछि अदालतहरूमा कार्यबोझ थपिएकाले न्यायाधीशहरूको दरबन्दी पनि थप गरिएको छ । यो पृष्ठभूमिमा निश्चय पनि न्यायालय प्रशासन र न्यायाधीशका लागि आवश्यक सेवा–सुविधा सरकारले नै व्यवस्थापन गरिदिनुपर्छ । हाम्रो न्यायालयले आफैंले आर्जन गर्ने र त्यसैबाट खर्च गर्ने व्यवस्था छैन । तर, त्यस्तो सेवा–सुविधा निश्चित विधि, मापदण्ड र हाम्रो मुलुकको आर्थिक हैसियतअनुरूप छ कि छैन भन्ने सवाल महत्त्वपूर्ण हो ।

सम्बद्ध अधिकारीहरूका अनुसार न्यायालयमा एकै पटक यति धेरै संख्यामा सवारी साधन खरिद गर्न लागिएको यो पहिलो पटक हो । अहिलेको स्वास्थ्य संकटका बेला प्रधानन्यायाधीशका लागि ३ करोड ३० लाख, सर्वोच्चका २० न्यायाधीशका लागि २ करोड २५ लाख, १५ पूर्वप्रधानन्यायाधीशलाई ६० लाख र ८० न्यायाधीशलाई ३० लाखका रुपैयाँका दरले ठूलो संख्यामा सवारी साधन खरिद गरिनुको औचित्य पुष्टि हुन सक्दैन । राजनीतिक र प्रशासनिक क्षेत्रमा गाँजिएको अधिक सुविधामोह न्यायाधीशहरूमा समेत सर्दै जानु मितव्ययिताका दृष्टिकोणबाट मात्र होइन, विधि र पद्धतिका हिसाबले पनि सुखद संकेत हैन । मुलुकको आर्थिक औकात बिर्सिएर सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई अवाञ्छित सुविधा दिलाउन खोज्नु हुँदैन, र सरकार अर्थात् अर्थ मन्त्रालय पनि यसमा अनावश्यक उदार हुनु हुन्न । उपलब्ध गराउनैपर्ने सुविधा दिने समय पनि सही हुनुपर्छ ।

दोस्रो, यो आफैंमा विधिविपरीतको कदम पनि हो । न्यायाधीशहरू आफैंले विभिन्न आदेश तथा फैसलाहरूमार्फत विविध विधि निर्माण गरिरहेका हुन्छन्, जसलाई कानुनसरह लागू गर्नुर् सरोकारवाला निकायहरूको अनिवार्य दायित्व हो । अहिलेको स्वास्थ्य संकटमा सरकार कतिपय विषयमा गैरजिम्मेवार रूपमा प्रस्तुत भइरहँदा सर्वोच्चले कोरोना पीसीआर परीक्षण, खोप, विपन्नको हेरचाहदेखि निःशुल्क स्वास्थ्य उपचारको विषयमा आदेशहरू दिइरहेको छ । ती आदेशहरूको कार्यान्वयन हुन नसकिरहेको सन्दर्भमा न्यायाधीशहरूलाई अधिक सुविधा दिनुले जनमानसमा पक्कै पनि राम्रो सन्देश जाँदैन । फेरि, ‘सार्वजनिक खर्चमा मितव्ययिता मापदण्ड’ ले सवारी साधन खरिदमा रोक लगाएको, अत्यावश्यक भएको खण्डमा मात्रै अर्थ मन्त्रालयबाट अनुमति लिई किन्न पाउने व्यवस्था गरिदिएको तथ्य पनि यहाँ भुल्नु हुँदैन ।

सामान्य परिस्थितिमा समेत प्रधानन्यायाधीशहरूले आफ्नो कार्यकाल सकिने बेलामा महँगो गाडी खरिद गर्ने र अवकाशपछि त्यो नै घर लिएर जाने प्रवृत्ति बढ्दै गएका समाचार सार्वजनिक भएका थिए । यस्तो गैरजिम्मेवारपूर्ण प्रवृत्ति न्यायाधीशहरूमा बढ्दै गएमा यसको दूरगामी असर के पर्ला ? त्यसैले न्यायाधीशहरू आफैंले पनि यसबारे समीक्षा गर्नुपर्छ । भलै यो खरिद प्रकरणमा बहालवाला तथा तथा पूर्वन्यायाधीशहरूको कुनै भूमिका नहुन सक्छ, यो सर्वोच्च प्रशासन र अर्थ मन्त्रालयको रुचिमा मात्र भएको हुन सक्छ । तर यसबाट अन्ततोगत्वा न्यायमूर्तिहरूको छविमै प्रश्न उठ्ने भएकाले उनीहरू स्वयं पनि यसमा सचेत बन्नुपर्छ । किनभने, न्यायमूर्तिहरूमा सुविधामुखी भएको आरोप लागेमा त्यसको नकारात्मक असर एक सार्वजनिक अड्डाको अधिकारीमाथि उठ्ने प्रश्नको भन्दा बढी पर्छ ।

तेस्रो, यस्तो गाडी प्रकरणले सर्वोच्चमाथि अनेक शंका गर्नेलाई व्यर्थै बल पुर्‍याइदिन्छ । संवैधानिक व्यवस्था र सर्वमान्य विधि–पद्धतिबाहिर गई सरकारले गरेको दोस्रो पटकको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा यतिबेला सर्वोच्चमा विचाराधीन छ । अन्य केही राजनीतिक प्रकृतिका मुद्दाहरू फैसला भइसकेका छन् भने केही विचाराधीन नै छन् । खासगरी पछिल्लो समय राजनीतिक मुद्दामाथि सर्वोच्चले गरेका फैसलाहरू आफूअनुकूल नहुनेबित्तिकै दलका नेताहरूले त्यसलाई ‘सेटिङ’ मा भएको भनेर आरोप लगाउने क्रम बढेको छ । यही बेला सर्वोच्च प्रशासनबाट शृंखलाबद्ध प्रस्ताव जानु र सरकारबाट बिनारोकटोक गाडी खरिदको निर्णय गरिदिनुले न्यायालयमाथि अवाञ्छित टिप्पणी गर्नेहरूलाई थप अवसर मिल्न सक्छ ।

समय, परिस्थिति, विचाराधीन मुद्दा र आफ्ना सुविधाहरूको अन्तरसम्बन्ध र त्यसमाथि उठ्न सक्ने प्रश्नलाई न्यायालयले सदैव हेक्का राख्नुपर्ने हुन्छ । आफ्नो विश्वसनीयतामाथि न्यायालय आफैं चनाखो हुनुपर्छ । कोही पनि सार्वजनिक पदाधिकारीहरूले अहिलेको परिस्थितिमा प्रश्न उठ्ने गरी सुविधा खोज्दै हिँड्नु हुँदैन । ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने आम नेपालीले लगाउने आरोपलाई कसैले बल पुर्‍याउने काम गर्नु हुँदैन । आशा गरौं, सुविधाका सन्दर्भमा बेलगाम सार्वजनिक पदाधिकारीलाई लगाम लगाउने र सुविधामोहको बढ्दो आचरणलाई सुधार गर्ने कार्य सर्वोच्च अदालतका न्यायाधीशहरूबाटै हुनेछ ।

प्रकाशित : असार १७, २०७८ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×
html>