घर जाँदै छन् एतबरिया र लीलावती

मंगला साहना दीर्घकालीन पुन:स्थापना केन्द्रमा आइपुगेका दुईबीच फरक थियो त केवल उमेरको । ६० पुगेकी लीलावतीको पनि मानसिक स्वास्थ्य ठीक थिएन । एतबरियाको जस्तै उनको पनि घर, ठेगाना केही पत्तो थिएन । 
पुन:स्थापना केन्द्रमा रहेका दुई भारतीय महिला कसरी एक दशकपछि परिवार भेट्न जाँदै छन् 
जनकराज सापकोटा

काठमाडौँ — मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको दुई दिनअघि गत वैशाख २६ मा भारतको हरियाणा प्रहरीले ट्वीट गर्‍यो ‘आफ्नी आमालाई १२ वर्षपछि देख्न पाउनुभन्दा ठूलो खुसी के हुन सक्छ ?’ प्रहरीले हरियाणाका मुख्यमन्त्रीलाई समेत ट्याग गर्दै उक्त ट्वीटमा झारखण्डकी एक युवतीले आफ्नी ७० वर्षीया आमालाई भिडियो कन्फ्रेन्समार्फत भेट्न पाएको कुरा उल्लेख गरेको छ । 

घर जाँदै छन् एतबरिया र लीलावती

करिब डेढ महिनापछि १० असारमा भारतका समाजसेवी सच्चितानन्द सोरेनले नेपालमा हराएकी एतबरिया उरावलाई झारखण्डको लोहरदगास्थित घर ल्याउने प्रक्रिया भइरहेको भन्दै ट्वीट गरे । उनको ट्वीटलाई मेन्सन गर्दै झारखण्डका यातायातमन्त्री चम्पाई सोरेनले यी महिलालाई सहायता गर्न डेपुटी कमिस्नर र श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राँचीस्थित स्टेट माइग्रेन्ट कन्ट्रोल रुमलाई सार्वजनिक अपिल गरे ।

भारतका उच्च पदस्थ सरकारी अधिकारी र मन्त्रीहरूले शृंखलाबद्ध रूपमा गरेका यी ट्वीटमा उल्लेखित भारतीय महिलाको कथा नेपालसँग सम्बन्धित छ । एक दशकभन्दा अघिदेखि घरबाट हराएकी झन्डै ३२ वर्षीया युवती नेपालमा फेला परेपछि उनलाई पारिवारिक पुनर्मिलन गराउने प्रक्रियामा नेपालको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावाससँगै चार सामाजिक संघसंस्थाहरूको सक्रिय भूमिका देखिन्छ ।

करिब साढे तीन वर्षअघि सल्यानस्थित महिला तथा बालबालिका कार्यालयले सदरमुकाम छेउछाउमा हिँडिराख्ने एक महिलालाई फेला पारेको थियो । मानसिक सन्तुलन गुमेको जस्तो देखिने ती महिला बाटोमा हिँड्ने यात्रुलाई ढुंगा हान्न खोज्ने, दोहोरो संवाद नगर्ने र एक्लै बसिराख्ने अवस्थामा भेटिन्थिन् । महिला तथा बालबालिका कार्यालयले २०७४ माघ १२ मा उनको उद्धार गरेर एम्बुलेन्समा ललितपुरको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने कोसिस नेपाल भन्ने संस्थाको पुन:स्थापना केन्द्रमा पठाइदियो । संस्थामार्फत उद्धार, उपचार र पुन:स्थापनामा सक्रिय कर्मचारी मन्जु क्षेत्रीका अनुसार यहाँ ल्याउँदासम्म पनि एतबरियालाई सम्हाल्नै गाह्रो थियो । निरन्तरको उपचार, परामर्शसँगै उनको घर ठेगाना पत्ता लगाउने पनि प्रयास थालियो । ‘दोहोरो कुराकानी नगर्ने र नेपाली पनि राम्ररी नबुझ्ने भएकाले हामीले उनको ठेगाना पत्ता लगाउनै सकेनौं,’ मन्जुले भनिन् । करिब ६ महिना राखेपछि कोसिसले उनलाई दीर्घकालीन पुन:स्थापनामा काम गर्ने संस्था मंगला साहना दीर्घकालीन पुन:स्थापना केन्द्रमा पठाइदियो ।

उक्त केन्द्रमा त्यसअघि नै लीलावती सरिता नामकी भारतीय महिला आश्रयमा थिइन् । उनको पनि अवस्था एतबरियाको भन्दा फरक थिएन । फरक थियो त केवल उमेरको । ६० वर्ष उमेर पुगेकी लीलावतीको पनि मानसिक स्वास्थ्य ठीक थिएन । पाठेघरको पनि समस्या थियो । एतबरियाको जस्तै उनको पनि घर, ठेगाना केही पत्तो थिएन ।

केन्द्रले एतबरिया र लीलावती दुवैको निरन्तरको उपचार र परामर्श जारी राखेको थियो । केन्द्रकी प्रमुख नविना श्रेष्ठका अनुसार पछिल्ला महिनाहरूमा दुवैको स्वास्थ्यमा उल्लेख्य सुधार मात्रै आएको थिएन, दोहोरो कुराकानी गर्ने र घर ठेगानाबारे अपुरो भए पनि कुरा बताउन थाल्ने भएका थिए । प्रमुख श्रेष्ठका अनुसार एतबरिया १२ वर्षको उमेरदेखि घरबाट हराएको खुल्यो । प्राप्त सूचनाहरूलाई केलाउँदा १२ वर्षकै उमेरमा मजदुरी गर्ने बाबुको पछि लागेर अयोध्या आएपछि एतबरिया हराएको देखिन्छ । नेपाल कसरी आइपुग्यौं भन्ने प्रश्नमा एतबरियाले ‘चल्ते चल्ते नेपाल आयो’ भन्न थालेपछि घरको खोजीमा चासो बढेको थियो । श्रेष्ठले भनिन, ‘सानै उमेरमा देश बाहिर आइपुगेर सडक बालिका जस्तो भएको र त्यसक्रममा यौन दुव्र्यवहारहरूमा पर्दा पर्दै मानसिक सन्तुलन गुमाएको हुन सक्ने देखिन्छ ।’ यद्यपि लीलावती भने कसरी नेपाल आइपुगिन् र कसरी उनको मानसिक सन्तुलन गुम्यो भन्नेबारे विस्तृतमा खुलिसकेको देखिन्न ।

उनलाई एक गैरसरकारी संस्थाले सिन्धुलीको सार्वजनिक स्थानमा फेला पारेर केन्द्रमा ल्याइएको थियो । केन्द्रले यी दुवैबाट प्राप्त सूचनाहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठायो । त्यहाँबाट उक्त सूचना परराष्ट्र मन्त्रालयमा पठाइयो । परराष्ट्रले भने यी महिलाको ठेगाना पत्ता लगाउन दिल्लीस्थित नेपाली दूतावासमा पत्राचार गर्‍यो ।

भारतमा बेचबिखनमा परेका नेपालीहरूको उद्धारमा कम गर्दै आएको संस्था आफन्त नेपाललाई दिल्ली दूतावासले ती दुई भारतीयको ठेगाना पत्ता लगाइदिन २२ वैशाखमा अनुरोध गर्‍यो । पछिल्ला ५ वर्षयता आफन्तमार्फत दिल्लीमा बसेर नेपालीहरूको उद्धार र पुन:स्थापनामा सक्रिय नवीन जोशीले सम्भावित सूचनाका आधारमा विभिन्न प्रहरी कार्यालयहरूमा सम्पर्क बढाए । सामाजिक सेवामा सक्रिय संस्थाहरूसँग पनि सहायता मागे । कान्तिपुरसँगको कुराकानीमा नवीनले करिब चार महिनाको अनवरत प्रयासपछि एतबरिया र लीलावती दुवैको घर ठेगानाको पहिचान भएको बताए । उनले भने, ‘दुवै जना करिब १५/१६ वर्षयता परिवारको सम्पर्क बाहिर रहेको खुल्यो ।’

पुन:स्थापना केन्द्रमा रहेका दुई भारतीयको ठेगाना खुलेपछि उनीहरूलाई पारिवारिक पुनर्मिलन गराउन असार ७ मा दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा पत्राचार गरेको थियो । उक्त पत्रमा एतबरियाको उमेर ३२ वर्ष र घर झारखन्डको लोहारडागामा रहेको उल्लेख छ भने लीलावतीको उमेर ६० वर्ष, घर उत्तरप्रदेशको बरेली जिल्लामा रहेको उल्लेख छ ।

आफन्त नेपालका जोशीका अनुसार परिवारको पत्तो लागेपछि दुवै जनाका परिवारले भिडियोमार्फत कुराकानी गरेका थिए । पुन:स्थापना केन्द्रकी प्रमुख श्रेष्ठले घरका सदस्यसँग कुरा गरेपछि ऐतबरियाको अनुहारमा खुसी फर्किएको बताइन् । करिब दुई वर्ष अघि एतबरियाको बाबुको भने मृत्यु भइसकेको रहेछ । उनले भनिन्, ‘बाबु भेट्न नपाए पनि आमा, दिदी र छिमेकी सबैसँग भिडियोमा कुरा गरेपछि ऐतबरियाको अनुहार नै अर्कै देखिएको छ । कहिले घर पुगिएला भन्ने हतारो देखिन्छ ।’

लामो समय मंगला सहाना केन्द्रमा रहेकी लीलावतीको भने स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि गत फागुनमा सामाखुसीको मानव सेवा आश्रममा सारिएको थियो । आश्रमकी कर्मचारी अञ्जली महथाका अनुसार परिवारको पत्तो लागेपछि केही दिनअघि लीलावतीले परिवारसँग कुरा गरेकी थिइन् । उनले श्रीमान् रामभजन र छिमेकीहरूसँग पनि कुरा गरिन् । अञ्जलीले भनिन्, ‘वर्षौंपछि परिवारसँग कुराकानी गर्न पाएर होला कि त्यो दिनयता लीलावतीको अनुहार धपक्कै बलेको छ । एकदमै खुसी देखिनुभएको छ ।’ सम्भवत: आगामी साता एतबरिया र लीलावतीलाई घर पुर्‍याउने गरी भारतीय अधिकारीहरूसँग सम्पर्क र समन्वय भइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित : असार १६, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?