मापसे गरेर वार्तामा बसेका बीपीका उपकुलपति गिरीलाई कार्यकक्षमै थुनियो

सुनसरी — मादक पदार्थ सेवन गरेर वार्तामा बसेको भन्दै संयुक्त संघर्ष समितिमा आबद्ध चिकित्सक, नर्स र कर्मचारीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिलाई उनकै कार्यकक्षमा थुनिदिएका छन् । 

मापसे गरेर वार्तामा बसेका बीपीका उपकुलपति गिरीलाई कार्यकक्षमै थुनियो

प्रतिष्ठानमा बढ्दो बेथिति विरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीसँग मंगलबार दिउँसो पालैपालो वार्ता गर्ने भनिएको थियो । तर उपकुलपति परिसरकै वार्तास्थलमा प्रवेश गर्नासाथ रक्सीको गन्ध आएको र उपकुलपति गिरिको बोली लरबरिएर बुझ्नै नसकिने भएपछि आफूहरुले वार्तास्थल छाडेर बाहिरिएको चिकित्सक तथा दन्तचिकित्सक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए ।

उनले भने, ‘साढे ३ बजे वार्ता समय तोकिएको थियो । हामी पनि गयौं । वार्ता स्थलमा अन्य पदाधिकारीहरुपनि थिए । तर, जोसँग वार्ता गर्नुपर्ने हो ऊ नै मादक पदार्थ सेवन गरेको थाहा पाएपछि आज (मंगलबार) वार्ता नै हुन सकेन ।’

आक्रोसित आन्दोलनकारीहरुले वार्तास्थलमा रहेका उपकुलपति गिरिसहित शिक्षाध्यक्ष, रजिष्ट्रार लगायत ५ जनालाई थुनेका थिए । वार्तास्थलमा रहेका एक पदाधिकारीले पनि उपकुलपतिले दिउँसै मादक पदार्थ सेवन गरेर वार्तास्थलमा बसेपछि स्थिति भाँडिएको पुष्टि गरे । उनले आफ्नो नाम सार्वजनिक नगरिदिने सर्तमा भने, ‘चिकित्सक, नर्स र कर्मचारीको संयुक्त संघर्ष समितिकोतर्फबाट आएका वार्ता टोलीसँग कुराकानी सुरुआत गर्दागर्दै उपकुपति ज्यू मातेको थाहा भएपछि वार्ता नै भाँडियो ।’

वार्तास्थल प्रवेश गरेर बाहिरिएका धरान १८ का वडाध्यक्ष प्रविण राई पनि उपकुलपति गिरि मातेरै बोलेको र रक्सी गन्हाएको बताए । उनले भने, ‘आफ्नो वडाभित्र प्रतिष्ठान परेकाले म पनि दिउँसो वार्तास्थलमा पुगेका थिएँ । तर उपकुलपति नै मातेर बोलेको देखेपछि वैराग चलेर बाहिरिएँ ।’

संघर्ष समितिले उपकुपतिले मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्नका लागि ब्रेथलाइजर प्रयोग गर्न माग गरेपनि प्रहरीले भने मानेका थिएन । उपकुलपति गिरिको मेडिकल जाँच गर्नुपर्ने र चारै पदाधिकारीले राजीनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बताए ।

प्रतिष्ठानमा लगातार आन्दोलन भइरहेको बेला एकाएक प्रतिष्ठान छाडेर १८ दिन पछि सोमबार आएका उपकुलपति गिरीलाई नागरिक दबाब सञ्जालले तीनदिनभित्र प्रतिष्ठानमा हाजिर हुन चेतावनी दिएको थियो । प्रतिष्ठानमा मौलाएको बेथिती सुधार्न अग्रसर नभएको आरोप खेप्दै आएका गिरिविरुद्ध एकसाताअघि उनले नपाएको प्राध्यापक पद आफैं नामको अगाडि लेखेर झुटो विवरण दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगमा उजुरी परेको छ ।

प्रकाशित : असार १५, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?