नेपालको संक्रमण दर भारतको भन्दा सात गुणा बढी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको संक्रमण दर भारतको भन्दा सात गुणा बढी

‘भारतमा खोपको माध्यमले प्रतिरोधक क्षमता हासिल गर्नेको संख्या बढिरहेको छ,’ भारतकै गतिमा यहाँ खोप सुनिश्चितता नभएकाले उस्तै रणनीति पछ्याउनु हुन्न ।’
अतुल मिश्र

काठमाडौँ — भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ ।

विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ । संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ । एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ । भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ । भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् ।

अमेरिकामा भने ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ मात्रा खोप लगाइएको छ । गत आइतबार २४ घण्टामा भारतमा ६४.२५ लाख मात्रा खोप दिइएको थियो । ‘स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले भने, ‘भारतमा देखिएको त्यो सकारात्मक अवस्थाले हामीलाई राहत हुने देखिँदैन । नेपालमा बहुसंख्यकले खोप नलगाएकाले ठूलो क्षति हुन सक्छ ।’

नेपालको सीमावर्ती भारतीय राज्यमा समेत कोभिडविरुद्धको खोप युद्धस्तरमा लगाइँदै छ । परिवार स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार सोमबारसम्म बिहार राज्यमा १ करोड ३५ लाख ७३ हजार १ सय २८ जनालाई एक मात्रा र २१ लाख ८२ हजार ३२ जनालाई दुई मात्रा गरी खोप दिइएको छ । यस्तै उत्तर प्रदेशमा २ करोड ६१ लाख ५४ हजार १ सय ८२ जनालाई एक मात्रा र ४३ लाख २५ हजार २ सय ४५ लाई दुवै मात्रा खोप लगाइएको छ । पश्चिम बंगालमा भने १ करोड ६३ लाख ८२ हजार ७ सय १६ जनालाई पहिलो मात्रा र ४७ लाख ४६ हजार १ सय ८२ जनालाई दुवै मात्रा खोप लगाइएको छ । ‘भारतमा खोपको माध्यमले प्रतिरोधक क्षमता हासिल गर्नेको संख्या बढिरहेको छ,’ डा. ठाकुरले भने, ‘भारतकै गतिमा यहाँ खोप सुनिश्चितता नभएकाले उस्तै रणनीति पछ्याउनु हुन्न ।’

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले कोभिडको अवस्था भारतकै अनुपातमा नेपालमा नदेखिने बताए । ‘पहिले भारतमा संक्रमण बढ्दा नेपालमा समेत बढ्ने र घट्दा यहाँसमेत घट्ने अवस्था थियो तर अब यस्तो नहुन सक्छ,’ उनले भने । उनले भारतका नागरिक खोपले गर्दा कोभिडविरुद्ध उच्च सुरक्षा स्तरमा गइरहेको र त्यहाँ छिटै अवस्था सहज हुन सक्ने भने । नेपालमा सोमबारसम्म २५ लाख ८७ हजार ८ सय ७३ जनाले पहिलो मात्रा र ७ लाख ५२ हजार १ सय १० जनाले दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले संक्रमण नियन्त्रणका लागि अब नेपालले फरक रणनीति बनाउनुपर्छ,’ उनले भने ।

प्रकाशित : असार १५, २०७८ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्

पाँच महिनामा २.५५ प्रतिशतलाई मात्रै खोप

अहिलेकै गतिमा लक्षित वर्गलाई खोप लगाउन १२ वर्ष लाग्ने
अतुल मिश्र

काठमाडौँ — यही गतिमा खोप कार्यक्रम सञ्चालन गरे सरकारले निर्धारण गरेको ७२ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाउन १२ वर्षभन्दा बढी समय लाग्न सक्ने देखिएको छ । खोप ल्याउन ढिलाइ भइरहेका बेला यो आकलन आएको हो ।

नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ । यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा ७ लाख ४९ हजार ५ सय ८५ जनाले लगाएका छन् । १ सय ५५ दिनमा २.५५ प्रतिशतले खोप लगाए भने ७२ प्रतिशतले पूर्ण खोप लगाउन १२ वर्ष लाग्ने हिसाब निस्कन्छ ।

यही गतिमा खोप अभियान जारी रहे १८ वर्षमाथिका जनसंख्यालाई कोभिडविरुद्घको खोप लगाउने सरकारको लक्ष्य प्राप्त गर्न १२ वर्षभन्दा बढी समय लाग्न सक्ने गणितीय आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले बताए । ‘यो अत्यन्त सुस्त गति हो,’ उनले भने, ‘यो गतिले हामी भविष्यमा देखिन सक्ने कोभिडको तेस्रो, चौथो लहरहरू थेग्न सक्दैनौं । बहुसंख्यक जनतालाई पूर्ण मात्रा खोप सुनिश्चित गरेर, जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र कोभिडको आक्रमणलाई थेग्न सकिन्छ ।’

डेल्टा प्लस भेरिएन्टलगायत भविष्यमा मुलुकमा देखिन सक्ने यस्ता थुप्रै भेरिएन्टबाट जोगाउने एउटा मात्र विज्ञान प्रमाणित मुख्य हतियार खोप रहेको डा. ठाकुरको भनाइ छ । नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीले सरकारलाई १८ वर्षमाथिका ७२ प्रतिशत जनतालाई कोभिडविरुद्घको खोप लगाउनुपर्ने सुझाव दिएको थियो । उक्त सुझावअनुसारै सरकारले पछिल्लो समय बालबालिकाका लागि खोप उपलब्ध नरहेको अवस्थामा १८ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने राष्ट्रिय लक्ष्य निर्धारण गरेको थियो ।

खोप लगाउन सुरु गरिएको पाँच महिना पाँच दिनमा २.५५ प्रतिशत जनसंख्याले मात्रै कोभिडविरुद्घको पूर्ण मात्रा खोप पाउन सक्नु अत्यन्त दुःखद स्थिति रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले औंल्याए । ‘खोपको माध्यमले तेस्रो लहरलाई रोक्न सकिन्थ्यो तर अहिलेको स्थितिमा तेस्रो लहर सहजै आउने निश्चितप्रायः देखिएको छ,’ उनले भने । डा. बीसीका अनुसार अध्ययन, तथ्यांक आदिको विश्लेषण गर्दा दसैंतिर नेपालमा तेस्रो लहर आउने उच्च सम्भावना देखिएको छ ।

‘पूर्ण मात्रा खोप लगाउन सके कोभिडको सम्भावित लहरबाट जोगाउँछ,’ प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने, ‘न्यूनतम ७० प्रतिशत जनसंख्यालाई खोप लगाउँदा संक्रमणको चक्रलाई तोड्न र सम्भावित तेस्रो लहरको जटिलताबाट जोगिन सकिन्छ ।’

गत वर्ष माघ १४ गते ९ हजार ८४ जनालाई कोभिसिल्ड खोप लगाएर देशव्यापी अभियान सुरु भएको थियो । पूर्ण मात्राबाहेक हालसम्म एक मात्रा खोप लिएका कुल जनसंख्याको करिब ८.७८ प्रतिशत अर्थात् २५ लाख ८२ हजार ३ सय ७५ जना छन् । पहिलो मात्रा कोभिसिल्ड खोप लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ जना ज्येष्ठ नागरिकले ४ महिना हुन लाग्दासमेत दोस्रो मात्रा खोप पाएका छैन ।

‘ज्येष्ठ नागरिकहरूका लागि दोस्रो मात्रा खोपको अत्तोपत्तो छैन, यसले गर्दा तेस्रो लहरमा उहाँहरूको ज्यान जोगाउनु सबैका लागि ठूलो चुनौती भएको छ,’ डा. बीसीको भनाइ छ, ‘जसरी, जुनसुकै प्रक्रियाबाट ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व हो । अब उहाँहरूलाई अन्य खोपसमेत दिन सकिँदैन ।’

जुनसुकै भेरिएन्ट, म्युटेसनको कोभिडको भाइरस आए पनि खोपले केही स्तरमा बचाउने काम गर्ने विज्ञको भनाइ छ । खोपको पूर्ण मात्रा लगाएकाहरूलाई खोपले सहजै मर्न नदिने, आईसीयूलगायतका स्वास्थ्य जटिलता, अस्पताल बसाइँमा समेत कमी ल्याउने औंल्याउँदै डा. बीसीले भने, ‘खोपको विकल्प छैन, कोभिडसँग लड्ने प्रमुख हतियारका रूपमा खोप स्थापित भइसकेको छ । सरकारले छिटो, जसरी भए पनि, जुनसुकै प्रक्रिया अपनाएर सबै नेपालीलाई खोप सुनिश्चित गर्नुपर्छ ।’

एक मात्रा खोपको माध्यमले कोभिडविरुद्ध केही प्रतिरोधक क्षमता हासिल गरेका ज्येष्ठ नागरिकले तेस्रो लहर आउँदासम्म पूर्ण मात्रा खोप लगाउन पाउने/नपाउने टुंगो छैन । खोप अभावले गर्दा कोभिडविरुद्घको प्रतिरोधक क्षमतामा कमी आउने/नआउनेबारे भन्न नसकिने डा. बीसीको भनाइ छ । उनका अनुसार ज्येष्ठ नागरिकले खोप लगाएको केही महिनापछि नै मुलुकमा दोस्रो लहर आउँदा सहज रूपमा निर्मित प्रतिरोधक क्षमताले यस पटक ती उमेर समूहमा मृत्युदर, संक्रमणको जटिलतामा केही कमी देखिएको थियो ।

विश्वका विभिन्न भागमा बालबालिकाका लागि समेत खोप आइसकेको र केही आउने प्रक्रियामा रहेकाले नेपालले समेत १८ वर्षमुनिका लागि खोप सुनिश्चित गर्ने कार्ययोजना बनाउनुपर्ने विज्ञको सुझाव छ । ‘मुलुकमा खोप ल्याउने कुरामा धेरै प्रगति भएको छैन,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘छिट्टै आउन सक्छ भने त्यो चीनको खोप हो तर त्यसमा समेत खरिद मूल्यबारे जानकारी सार्वजनिक नगर्ने सर्तले आउने सम्भावना कम देखिएको छ ।’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै कोभिडबाट नागरिकको जीवनरक्षा गर्नु मुख्य उद्देश्य रहेको बताएका थिए । सरकारले बजेटमा खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित : असार १३, २०७८ ०६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×