योग्यलाई हटाएर एमालेनिकटलाई वन निगमको सीईओ- समाचार - कान्तिपुर समाचार

योग्यलाई हटाएर एमालेनिकटलाई वन निगमको सीईओ

खुला प्रतिस्पर्धामा ७४.३१ नम्बर ल्याउने पंकजकुमार दासलाई पन्छाएर ४९.६२ ल्याउने रामेश्वर भट्टराईलाई नियुक्ति
अब्दुल्लाह मियाँ

काठमाडौँ — सरकारले नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको खुला प्रतिस्पर्धामा बढी नम्बर ल्याएका पंकजकुमार दासलाई पन्छाउँदै कम नम्बर पाएका रामेश्वर भट्टराईलाई नियुक्त गरेको छ ।

रामेश्वर भट्टराई

उक्त पदका लागि भएको खुला प्रतिस्पर्धामा मोरङ विराटनगर महानगरपालिका–१३ का दास ७४.३१ नम्बर पाएर प्रथम, बझाङको थलारा गाउँपालिका–६ का रामेश्वर भट्टराई ४९.६२ ल्याएर दोस्रो र काठमाडौं महानगरपालिका–१३ का अच्युतराज पहाडी ३५.८९ नम्बर ल्याएर तेस्रो भएका थिए । दास र भट्टराई दुवै फरेस्ट्रीका विद्यार्थी हुन् । पहाडी अन्य विषयका हुन् ।

वन तथा वातावरण मन्त्रालयले बनाएको छनोट समितिले आवेदकमध्येबाट मूल्यांकन गरी ३ जनाको नाम (सर्ट लिस्ट) तय गरेर नियुक्तिका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसअनुसार मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले वैशाख ३० मा निर्णयार्थ ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएका थिए । त्यसमा वर्णानुक्रमअनुसार पहाडीको नाम पहिलो, दासको नाम दोस्रो र भट्टराईको नाम तेस्रो नम्बरमा उल्लेख थियो ।

‘मन्त्रिपरिषद्ले प्रतिस्पर्धामा धेरै नम्बर पाएका दासलाई पन्छाएर दोस्रो नम्बर पाएका भट्टराईलाई सीईओ नियुक्त गरेको छ,’ मन्त्रालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘यसले प्रतिस्पर्धा भन्ने विधिकै खिल्ली उड्यो, खुला प्रतिस्पर्धा भनेर राजनीतिक नियुक्ति गरियो ।’ बझाङका भट्टराई एमालेनिकट मानिन्छन् । विगतमा पार्टीमा सक्रिय भए पनि हाल सक्रिय नभएको उनको दाबी छ । ‘पेसागत महासंघबाहेक अन्यत्र म सक्रिय छैन,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलका अनुसार मन्त्रिपरिषद्ले भट्टराईलाई असार ३ मा सीईओ नियुक्त गरेको थियो । छनोट समितिको सिफारिसलाई मन्त्रालयले आफ्नो वेबसाइटमा राखे पनि मन्त्रिपरिषद्को निर्णय अहिलेसम्म सार्वजनिक भएको छैन । छनोट समितिले सम्बन्धित सार्वजनिक निकायको व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा आवेदकको मूल्यांकन गरेको थियो । समितिमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख संयोजक, मन्त्रालयले तोकेको एक जना सहसचिव र मन्त्रालयले तोकेको सार्वजनिक निकायको विषयसँग सम्बन्धित विज्ञ सदस्य थिए ।

मन्त्रालयले पहिलो चरणमा २०७६ भदौ १ मा पदपूर्तिका लागि सार्वजनिक आह्वान गरेको थियो । प्रेमबहादुर आले वनमन्त्री भएर आएपछि प्रक्रिया फेरि अघि बढेको थियो । सीईओका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट वन विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन वा अर्थशास्त्र तथा व्यवस्थापनमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने र सार्वजनिक वा निजी संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ७ वर्ष काम गरेको र ३० वर्ष उमेर पुगेको हुुनुपर्ने योग्यता तोकिएको थियो ।

मन्त्रालयले साविकको टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई मिलाएर २०७५ साउन १८ मा निगम बनाएको थियो । सीईओको पदावधि ४ वर्षको हुने निगमको नियमावलीमा व्यवस्था छ । निगममा यसरी पहिलोपटक सीईओ नियुक्त गरिएको हो । यसअघि वन तथा वातावरण मन्त्रालयका सहसचिवले जिम्मेवारी सम्हाल्दै आएका थिए । वन पैदावार विकास समितिले भने अहिले पूर्ववत् अवस्थामै काम गरिरहेको छ । समितिअन्तर्गत प्रदेश २ को सर्लाही र रौतहटमा सागरनाथ वन विकास परियोजना तथा प्रदेश १ को झापामा रतुवामाई वन विकास परियोजना सञ्चालनमा छन् ।

साल, मसला, टिकलगायत अन्य प्रजातिका रूखसमेत काट्ने योजनासाथ ती परियोजना व्यवस्थापन गर्दै आएको समितिलाई समेत निगमअन्तर्गत राखिएको थियो । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निगमअन्तर्गत राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । समितिलाई निगममा गाभ्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

प्रकाशित : असार १४, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

हिउँचितुवा अनुसन्धानकर्तालाई रोलेक्स अवार्ड

हुम्लाका रिन्जिन फुन्जोक लामाले पाए २ करोड ५५ लाखको पुरस्कार
अब्दुल्लाह मियाँ

काठमाडौँ — विश्वमै दुर्लभ हिउँचितुवालगायतका वन्यजन्तुमा काम गर्ने हुम्लाका युवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन् । २ लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख) राशिको यो पुरस्कार पाउने उनी पहिलो नेपाली अनुसन्धानकर्ता हुन् ।

‘रोलेक्स कन्जर्भेसन अवार्ड’ विजेता रिन्जिन फुन्जोक लामा । तस्बिर : रोलेक्स

रोलेक्सले सोमबार उक्त पुरस्कार पाउने ५ जनाको नाम घोषणा गरेको हो । रोलेक्सले पुरस्कार जित्ने पाँचै जनालाई भविष्यका अभिभावक नामांकन गरेको छ ।

वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो युवक लामाले त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन् । द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम निर्देशक रहेका उनी माउन्टेन स्पिरिट नामक स्थानीय संस्थामा सक्रिय छन् । हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा ७ वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्डलाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र गत वर्ष सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पाएका थिए ।

उनले रोलेक्सबाट पाएको यो पुरस्कार रकमबाट उपल्लो हुम्लामा ‘प्रमोट लोकल इनिसियटिभ फर बायोभरसिटी कन्जर्भेसन इन नेपाल्स् ट्रान्स–हिमालया’ नामको परियोजना सञ्चालन हुनेछ । लामाले यो पुरस्कारबाट संरक्षणमा आवाज बुलन्द गर्न युवाहरूको नमुना मोडल तयार गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । ‘सन् २००६ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परेर गुमाएका संरक्षणकर्मीको परिपूर्ति गर्ने गरी अभियान चलाउनेछु,’ उनले भनेका छन् ।

उनले हुम्लामा सुरुवात गरेको समुदायमा आधारित संरक्षणमुखी अभियानले स्थानीयवासीलाई वन्यजन्तु र जैविक विविधताबारे सचेत गराएको छ ।

उनले युवाहरूलाई साथ लिएर वन्यजन्तु संरक्षणका साथै हुम्लाका स्थानीयको जीवनस्तर उकास्ने अभियान सञ्चालन गरिरहेका छन् । हिमाली क्षेत्रमा हिउँ चितुवालगायत वन्यजन्तुले निम्त्याउने क्षति न्यून गर्न उनले ‘क्यामरा ट्रयाप’ विधि अपनाएका छन् ।

हिउँचितुवा, ब्वाँसो, कालो भालु, जंगली चौंरी, कस्तुरी मृगलगायतका हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षणमा उनले पुर्‍याएको योगदानस्वरूप रोलेक्सले पुरस्कृत गरेको हो ।

‘ट्रान्स–हिमालय क्षेत्रको इकोसिस्टम एकदम नाजुक अवस्थामा छ,’ लामा भन्छन्, ‘बढ्दो मानवीय क्रियाकलापले संरक्षणमा चुनौती छ । हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनका लागि पनि एकीकृत हिसाबले काम गर्नुपर्नेछ ।’ हुम्लाका बासिन्दाको जीविकोपार्जनको मुख्य आधार नै त्यहाँ उपलब्ध जैविक विविधता हो । त्यहाँ १ प्रतिशत जमिन मात्र खेती र कृषियोग्य छ । जसका कारण हुम्लाले बर्सेनि खाद्य संकट व्यहोर्नुपर्ने हुन्छ ।

विकास हुन नसक्दा र अन्य आर्थिक क्रियाकलापको अवसरका कारण स्थानीयको जीवनस्तर बदलिन सकेको छैन । त्यसैले उनले कृषि र जडीबुटी कम्पनीहरूसँग सहकार्य गर्दै गाउँमा रोजगारी सिर्जना गरी आयआर्जन बढाउने गतिविधिमा ध्यान दिएका छन् ।

सँगै डढेलो नियन्त्रण, वन्यजन्तुको चोरी सिकार नियन्त्रण तथा अवैध कटानी–फँडानी नियन्त्रणमा समेत उनले समुदायमार्फत् विभिन्न कार्यक्रम अघि बढाएका छन् । पदमार्ग पत्ता लगाएर पर्यटन प्रवद्र्धन गर्ने तथा महिलाहरूलाई सीप सिकाएर परम्परागत पोसाक उत्पादन गर्न उनले जोड दिएका छन् ।

लामाले उक्त परियोजनाको परिकल्पना गत वर्षको लकडाउनमै रोलेक्ससमक्ष पेस गरेका थिए । यो रकमबाट हुम्लाको नाम्खा, निन्बा र चो खोला क्षेत्रमा करिब डेढ वर्ष सञ्चालन हुनेछ । त्यसबाट स्थानीय समुदाय लाभान्वित उनले अपेक्षा गरेका छन् । ‘रोलेक्स अवार्डले संरक्षणको आवाज उठाउन र युवाहरूलाई सक्रिय बनाउन सहयोग गर्ने अपेक्षा गरेको छु,’ उनले भने, ‘यो पुरस्कारले स्थानीयहरूले असाधारण रूपमा नेतृत्व लिन सहयोग गर्नेछ ।’

‘रोलेक्स अवार्ड फर इन्टरप्राइजेज’ सन् १९८१ मा हिउँचितुवाको घाँटीमा विश्वमै पहिलो पटक रेडियो कलर जोडेर अनुसन्धान गर्ने रोड्नी ज्याक्सनले पाएका थिए । उनले शे–फोक्सुन्डो निकुञ्जको मुगुतिरको भागमा हिउँचितुवाबारे अध्ययन गरेका थिए । लामाले उनैबाट प्रभावित भएर हिउँचितुवालगायत हिमाली वन्यजन्तुको संरक्षणमा होमिएको बताएका छन् ।

पुरस्कार घोषणा गर्दै रोलेक्सका सञ्चार तथा छवि–तस्बिर निर्देशक अरनौड बोएत्सले रोलेक्सले लामो समयदेखि पृथ्वीको संरक्षणमा आफ्नो भूमिका खेल्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनेका छन्, ‘हामीले आफ्नो उत्तरदायित्वलाई लामो समयदेखि मान्यता दिइरहेका छौं । पृथ्वीका विभिन्न कुनामा लुकेर बसेका नयाँ अनुसन्धानकर्ता र अन्वेषक खोज्न रोलेक्स प्रतिबद्ध छ ।’

प्रकाशित : असार ८, २०७८ ०६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×