योग्यलाई हटाएर एमालेनिकटलाई वन निगमको सीईओ- समाचार - कान्तिपुर समाचार

योग्यलाई हटाएर एमालेनिकटलाई वन निगमको सीईओ

खुला प्रतिस्पर्धामा ७४.३१ नम्बर ल्याउने पंकजकुमार दासलाई पन्छाएर ४९.६२ ल्याउने रामेश्वर भट्टराईलाई नियुक्ति
अब्दुल्लाह मियाँ

काठमाडौँ — सरकारले नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको खुला प्रतिस्पर्धामा बढी नम्बर ल्याएका पंकजकुमार दासलाई पन्छाउँदै कम नम्बर पाएका रामेश्वर भट्टराईलाई नियुक्त गरेको छ ।

रामेश्वर भट्टराई

उक्त पदका लागि भएको खुला प्रतिस्पर्धामा मोरङ विराटनगर महानगरपालिका–१३ का दास ७४.३१ नम्बर पाएर प्रथम, बझाङको थलारा गाउँपालिका–६ का रामेश्वर भट्टराई ४९.६२ ल्याएर दोस्रो र काठमाडौं महानगरपालिका–१३ का अच्युतराज पहाडी ३५.८९ नम्बर ल्याएर तेस्रो भएका थिए । दास र भट्टराई दुवै फरेस्ट्रीका विद्यार्थी हुन् । पहाडी अन्य विषयका हुन् ।

वन तथा वातावरण मन्त्रालयले बनाएको छनोट समितिले आवेदकमध्येबाट मूल्यांकन गरी ३ जनाको नाम (सर्ट लिस्ट) तय गरेर नियुक्तिका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसअनुसार मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले वैशाख ३० मा निर्णयार्थ ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएका थिए । त्यसमा वर्णानुक्रमअनुसार पहाडीको नाम पहिलो, दासको नाम दोस्रो र भट्टराईको नाम तेस्रो नम्बरमा उल्लेख थियो ।

‘मन्त्रिपरिषद्ले प्रतिस्पर्धामा धेरै नम्बर पाएका दासलाई पन्छाएर दोस्रो नम्बर पाएका भट्टराईलाई सीईओ नियुक्त गरेको छ,’ मन्त्रालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘यसले प्रतिस्पर्धा भन्ने विधिकै खिल्ली उड्यो, खुला प्रतिस्पर्धा भनेर राजनीतिक नियुक्ति गरियो ।’ बझाङका भट्टराई एमालेनिकट मानिन्छन् । विगतमा पार्टीमा सक्रिय भए पनि हाल सक्रिय नभएको उनको दाबी छ । ‘पेसागत महासंघबाहेक अन्यत्र म सक्रिय छैन,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलका अनुसार मन्त्रिपरिषद्ले भट्टराईलाई असार ३ मा सीईओ नियुक्त गरेको थियो । छनोट समितिको सिफारिसलाई मन्त्रालयले आफ्नो वेबसाइटमा राखे पनि मन्त्रिपरिषद्को निर्णय अहिलेसम्म सार्वजनिक भएको छैन । छनोट समितिले सम्बन्धित सार्वजनिक निकायको व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा आवेदकको मूल्यांकन गरेको थियो । समितिमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख संयोजक, मन्त्रालयले तोकेको एक जना सहसचिव र मन्त्रालयले तोकेको सार्वजनिक निकायको विषयसँग सम्बन्धित विज्ञ सदस्य थिए ।

मन्त्रालयले पहिलो चरणमा २०७६ भदौ १ मा पदपूर्तिका लागि सार्वजनिक आह्वान गरेको थियो । प्रेमबहादुर आले वनमन्त्री भएर आएपछि प्रक्रिया फेरि अघि बढेको थियो । सीईओका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट वन विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन वा अर्थशास्त्र तथा व्यवस्थापनमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने र सार्वजनिक वा निजी संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ७ वर्ष काम गरेको र ३० वर्ष उमेर पुगेको हुुनुपर्ने योग्यता तोकिएको थियो ।

मन्त्रालयले साविकको टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई मिलाएर २०७५ साउन १८ मा निगम बनाएको थियो । सीईओको पदावधि ४ वर्षको हुने निगमको नियमावलीमा व्यवस्था छ । निगममा यसरी पहिलोपटक सीईओ नियुक्त गरिएको हो । यसअघि वन तथा वातावरण मन्त्रालयका सहसचिवले जिम्मेवारी सम्हाल्दै आएका थिए । वन पैदावार विकास समितिले भने अहिले पूर्ववत् अवस्थामै काम गरिरहेको छ । समितिअन्तर्गत प्रदेश २ को सर्लाही र रौतहटमा सागरनाथ वन विकास परियोजना तथा प्रदेश १ को झापामा रतुवामाई वन विकास परियोजना सञ्चालनमा छन् ।

साल, मसला, टिकलगायत अन्य प्रजातिका रूखसमेत काट्ने योजनासाथ ती परियोजना व्यवस्थापन गर्दै आएको समितिलाई समेत निगमअन्तर्गत राखिएको थियो । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निगमअन्तर्गत राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । समितिलाई निगममा गाभ्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

प्रकाशित : असार १४, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

‘जुडो नै एकमात्र खुसी’

हिमेश

काठमाडौँ — टोकियो ओलम्पिकमा खेल्ने वाइल्ड कार्ड पाएपछि नेपाली जुडो खेलाडी सोनिया भट्टलाई यो कतै सपना त होइन जस्तो लागिरहेको छ । सबै खेलाडीको साँच्चै सपना हुने गर्छ ओलम्पिक खेल्ने ।

सोनिया भर्खर १९ वर्षकी भइन् । किशोरी नै छन् उनी । उनलाई दुई दिन भयो, बोल्नै गाह्रो भएको । त्यो पनि खुसीले । सोनियाका बुबा सुरेश भट्ट साउदी अरेबियामा छन् । बुबालाई फोनबाटै खुसीको समाचार बल्लतल्ल सुनाइहालिन् 

उताबाट बुबाको उत्तर आयो, ‘अब देशका लागि केही गरेर देखाउने समय आएको छ नानु ।’ सोनियाका लागि जुडो नै एकमात्र खुसी हो । अब यही खुसी दिने खेलको मद्दतमा उनले विश्व खेलकुदको महाकुम्भमा आफ्नो चुतौती पेस गर्ने भएकी छन् । उनी भन्छिन्, ‘म देशका लागि सक्दो राम्रो प्रदर्शन गर्ने प्रयासमा हुनेछु ।’
ओलम्पिकमा जुडो खेल फेरि एकपल्ट त्यही देश (जापान) मा फर्कंदै छ, जहाँ यसको जन्म भएको थियो । टोकियो ओलम्पिक २०२० अबको २५ दिनपछि सुरु हुँदै छ ।

जापानले प्रायः गर्व गर्ने गर्छ, जुडो आफ्नै खेल हो भनेर । यही जुडो र टोकियो ओलम्पिकको सेरोफेरोमा नेपाली खेलकुदले सोनियाको निहुँमा मीठो समाचार सुन्न पाएको हो । नेपाली राष्ट्रिय जुडो खेलाडीमाझ सोनिया कान्छीमा पर्छिन् । उनीभन्दा पाका खेलाडी धेरै छन् । तर, ओलम्पिकको वाइल्ड कार्ड उनले नै पाइन् । त्यसैले सबैले भन्न थालेका छन्, ‘सोनिया जत्तिको भाग्यमानी कोही छैनन् ।’ सोनियालाई पनि लाग्न थालेको छ, आफू साँच्चै भाग्यमानी पो छु कि ?

कान्छी खेलाडीमध्ये एक भएपछि उनले जुडो खेल्न थालेको ९ वर्ष भइसकेको छ । उनी भर्खर १० वर्षकी थिइन्, नेपालगन्ज खजुराको घरअगाडि नै जुडोको डोजो थियो । अरूले जुडो खेलेको हेर्दाहेर्दै उनी त्यसमै आकर्षित भइन् । यो जापानी मार्सल आटर्स खेलकै एउटा ठूलो विशेषता हो, प्रतिद्वन्द्वी खेलाडीलाई हावामा उचालेर पछार्ने । प्राविधिक भाषामा ‘थ्रो’ भन्दा हुन्छ यसलाई । सोनियाको खेलमा सबैभन्दा बलियो पक्ष पनि यही रहको छ ।

सुरुआती दिनमा आमा पार्वती भट्टलाई आफ्नो छोरीलाई कसैलाई यसरी नै पछारेर घाइते बनाउला भन्ने ठूलो डर थियो । त्यसैले सुरुआती दिनमा आमाले उनलाई सक्दो जुडो खेल्न दिइनन् । तर सोनियाले आफ्नो जिद्दी छोडिनन् । छोरीले विस्तारै सफलता प्राप्त गरेपछि आमाको मन फेरियो । सोनिया ४८ केजी तौल समूहमा दुईपल्टका राष्ट्रिय च्याम्पियन हुन् । पछिल्लो दक्षिण एसियाली खेलकुदमा पनि उनले कांस्य पदक जितेकी छन् ।

अब यिनै आमा भन्छिन्, ‘छोरीले हामी सबैको नाम राखिन् ।’ अहिले सोनिया नेपाल पुलिस क्लबमा आबद्ध छन् । दुई वर्ष भयो, नेपाल ओलम्पिक कमिटीको ओलम्पिक छात्रवृत्तिमा रहेर उनले अभ्यास र प्रशिक्षण गरिरहेको । नेपाल जुडो संघका दीपकहर्ष वज्राचार्य मान्छन्, सोनियाले नेपालका लागि अझै लामो समय खेल्न सक्छिन् । त्यसैले सोनियाबाट नेपालले धेरै आस गर्न सक्छ । भलै ओलम्पिकमा केही चमत्कार नहोला । तर सोनिया त्यहाँबाट फर्केपछि परिपक्व खेलाडी हुनेछन् र अझ राम्रो गर्नेछन् ।

नेपाली जुडो एउटा परिवार
नेपाली जुडोको एउटा ठूलो विशेषता हो । यससँग आबद्ध खेलाडी, प्रशिक्षक र पदाधिकारी भावनात्मक रूपमा निकै नजिक छन् । पाका खेलाडीका रूपमा सोनियालाई मनपर्ने दिदी–दाइ खेलाडी धेरै छन् । तर ओलम्पिक खेल्ने वाइल्ड कार्ड उनलाई नै प्राप्त भयो । उनी भन्छिन्, ‘म सबै नेपाली जुडो खेलाडीको ओलम्पिक खेल्ने सपना प्रतिनिधित्व गरेर जापान जानेछु । मेरो दिदी–दाइ सबै खेलाडीप्रति मेरो ठूलो सम्मान र माया छ । मलाई उहाँहरू सबैको आशीर्वाद चाहिन्छ ।’

नेपालमा भर्खर जुडो खेल्न सुरु गर्दा उनको सुरुआती प्रशिक्षक थिए, दलबहादुर गुरुङ । सोनिया यी सबैका ‘दले गुरु’ प्रति नतमस्तक छन् । अहिलेकी प्रशिक्षक देवु थापा भनेपछि त उनी हुरुक्कै हुन्छिन् । सोनिया भन्छिन्, ‘मेरो त कामना नै छ, देवु गुरु जस्तो हुन पाउँ भनेर ।’ प्रशिक्षक थापा जुडोका लागि मात्र होइन, समग्र नेपाली खेलकुदकै लागि पनि प्रेरणा हुन् । सन् २०१० मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदका क्रममा उनी लिफ्टबाट खसेर नराम्रोसँग घाइते भएकी थिइन् ।

तर उनले हरेश खाइनन् । चोट बोक्दै नेपालका लागि खेलिन् । त्यो अदम्य साहसको कथा थियो । सोनियालाई यो कथाले खुबै प्रेरित गर्ने गर्छ । जुडोमै उनको सबैभन्दा नजिकको मिल्ने साथी छ । उनको नाम हो, रेखा सुनार । सोनिया र रेखाले एकै दिन जुडो खेल्न सुरु गरेका थिए । उनीहरू टोलमा सँगै हुर्केका साथी हुन् । सातौं राष्ट्रिय खेलकुदमा उनी आफ्नै साथीलाई हराएर विजेता बनेकी थिइन् । त्यतिबेला रेखाले खुसी हुँदै सोनियालाई अँगालो हालिन् र भनेकी रहेछन्, ‘तिम्रो जित त मेरो पनि हो ।’

खेलकुदले कसैलाई सिकाउने अमूल्य शिक्षा भनेको यस्तै हो । सोनिया आफैं पनि उत्तिकै भलाद्मी छन् । आफूलाई कुनै न कुनै मोडमा सहयोग गर्ने सबैप्रति आभारी छन् । उनी भन्छिन्, ‘म यहाँसम्म पुग्नुमा धेरैको हात छ । ती सबैप्रति मेरो आभार छ । म सबै जुडो खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छुं । नेपाल जुडो संघ र नेपाल ओलम्पिक कमिटीले पनि मलाई वाइल्ड कार्ड दिलाउन जति सहयोग गरेको छ, त्यो गुण म बिर्सन चाहन्न ।’

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : असार १४, २०७८ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×