२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एमालेमा पुरानै कमिटी ब्युँताउने तयारी

बुधबारका लागि बोलाइयो महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौँ — सर्वोच्च अदालत र पार्टीभित्रको असन्तुष्ट समूहले समेत महाधिवेशन आयोजक कमिटीको औचित्यमा प्रश्न खडा गरेपछि एमालेले महाधिवेशनबाट निर्वाचित कमिटीलाई नै क्रियाशील गराउने तयारी गरेको छ ।

एमालेमा पुरानै कमिटी ब्युँताउने तयारी

स्थायी कमिटी बैठकले यस विषयमा छलफल र निर्णयका लागि बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । उक्त बैठकले एकताका लागि जेठ ३ अघिकै संरचनामा फर्किने यसअघि अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे प्रस्तावलाई अनुमोदन गर्ने, त्यसपछि कमिटीलाई क्रियाशील बनाउने एमाले स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले ‘पछिल्लो राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिका विभिन्न आयामबारे अझ फराकिलो र उच्च तहबाट छलफल गरेर निर्णय गर्नुपर्ने भएकाले’ आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले गरेको कारबाहीमाथि प्रश्न उठाउँदै जेठ अन्तिम साता कर्णालीका चार सांसदको पद सर्वोच्च अदालतले ब्युँत्याइदिएपछि एमालेको यो कमिटीको वैधानिक हैसियतमाथि प्रश्न उठेको थियो । माधव नेपाललगायत असन्तुष्ट समूहले नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको मात्र वैधानिकता रहेकाले यसलाई क्रियाशील बनाए पार्टी एकताको सम्भावना रहेको बताउँदै आएको छ ।

तर महाधिवेशन आयोजक कमिटीमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापालगायत नेताहरूको समूह पनि छ । उनीहरूलाई ओलीले पार्टी कमिटीभन्दा बाहिर राख्न चाहेका छैनन् । यो बीचमा ओली र नेपाल समूहका नेतहरूबीच छलफल भइरहेको छ । त्यसक्रममा पनि पुरानो निर्वाचित कमिटीलाई सुचारु गरे एकतामा योगदान पुग्ने नेपाल समूहका नेताहरूले बताउँदै आएका छन् । तर, माग सम्बोधन गरे पनि नेपाललगायत नेताहरू पार्टीलाई मिलाउने दिशामा नरहेको बुझाइ संस्थापन पक्षको छ । नेपालले विपक्षी गठबन्धनलाई आफूले धोका दिन नसक्ने अभिव्यक्ति पटक–पटक दिइरहेका छन् । उनले आफूलाई छक्याउन ओलीले प्रधानमन्त्रीको अफरसमेत गरिसकेको दाबी शनिबार मात्रै पत्रकारहरूसँग गरेका थिए ।

‘प्रतिपक्षीलाई काँधमा हालेर हिँड्नुभएको छ, केही नेताहरूका गतिविधि एकतासँग मेल खाने खालका छैनन्,’ प्रवक्ता ज्ञवालीले भने, ‘तैपनि हामी एकताका लागि अधिकतम कोसिस गरिरहेका छौं ।’ नेपाल समूह पार्टी विभाजनकै कसरतमा रहेको र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आऐपछि आफ्नो बाटो तय गर्ने बुझाइ ओली पक्षको छ ।

भुसालले मागे स्वतन्त्र सांसदको हैसियत

एमाले नेता वेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद् सचिवालयमा पत्राचार गरेका छन् । राष्ट्रिय सभामा तत्कालीन नेकपाबाट निर्वाचित भुसालले आफू स्वतन्त्र सांसद रहेको उल्लेख गरेका हुन् । उनी एमालेमा माधव नेपालनिकट नेता हुन् ।

भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र त्यहीअनुसार आफू स्वतन्त्र रहने गरी संसद् सचिवालयमा पत्राचार गरेको बताए । उनले पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरेका छन् ।

प्रकाशित : असार १४, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?