२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गठबन्धनका नेता राष्ट्रपतिप्रति खनिए

‘राष्ट्रपति प्रधानमन्त्री ओलीको कार्यकर्ता बन्नुभयो’
‘राष्ट्रपतिबाट प्रधानमन्त्रीको रबर स्टाम्पका रुपमा काम भयो’
‘प्रधानमन्त्रीको अफर आइसकेको छ तर हस्ताक्षर फिर्ता लिन्नौं’

काठमाडौँ — पाँच राजनीतिक दल आबद्ध गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताका रूपमा रहेको चित्रण गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध विषवमन गरिएको भन्दै आक्रोश पोखेकै भोलिपल्ट गठबन्धनका नेताहरूले पत्रकारसँगको अन्तर्क्रियामा प्रतिवाद गरेका हुन् । उनीहरूले राष्ट्रपति भण्डारीको भूमिकाले सम्मानित संस्थालाई बदनाम बनाएको बताए ।

गठबन्धनका नेता राष्ट्रपतिप्रति खनिए

धम्क्याएर अदालतलाई सेटिङमा चलाउन खोजेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको पनि गठबन्धनका नेताहरूले प्रतिवाद गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सच्याएर अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विश्वास उनीहरूले व्यक्त गरे । ‘राष्ट्रपतिले हदभन्दा बढी प्रधानमन्त्री केपी ओलीको कार्यकर्ता भएर काम गर्नुभयो,’ राजनीतिक बिट हेर्ने पत्रकारहरूसँगको अन्तर्क्रियामा देउवाले भने, ‘हामीले १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर जाँदा राष्ट्रपतिले सोध्दै नसोधी मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभयो, यो दुर्भाग्य हो ।’

देउवाले प्रतिनिधिसभाका जुनसुकै सदस्यले पनि विश्वासको मत देखाउन सकिने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नपर्ने संविधानको धारा ७६ (५) को प्रस्ट व्यवस्थाको उल्लंघन भएको बताए । ‘त्यस्तो आधार भनेको बहुमत सदस्यको हस्ताक्षर हो,’ उनले भने, ‘संविधानको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत हो । संविधानमा लेखिएको कुराअनुसार अदालतले फैसला दिन्छ भन्ने हामीलाई विश्वास छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको रबर स्टाम्पका रूपमा काम गरेको टिप्पणी गरे । दाहालले राजाको विरोध गरेर आएकाहरूले राष्ट्रपतिले कमजोरीमा किन बोल्न नपाउने भन्दै प्रधानमन्त्री ओलीप्रति आक्रोश पोखेका थिए । ‘राष्ट्रपतिका बारेमा बोल्नै पाइँदैन भन्ने केपी ओली को हुन् ?’ उनले भने, ‘मैले राजाभन्दा बढी राष्ट्रपति हुन खोज्नु हुँदैन भनेको हो । राजा राम्रो भन्न खोजेको होइन ।’

दाहालले आफूहरूको गठबन्धन प्र्रधानमन्त्रीका लागि मात्रै नभएर संविधानको रक्षाका लागि भएको बताए । दाहालले संविधान निर्माणका बेला भित्रबाहिरबाट जस्ता खालका चलेखल भएका थिए, अहिले पनि त्यस्तै भइरहेको बताए । ‘हामी सबै छिमिकीसँग राम्रो सबन्ध बनाउँछौं, वैरभाव राखेका छैनौं, तर हेपिनुभएन । हामी हेपिन सक्ने परेनौं,’ उनले भने, ‘संविधान बनाउने बेला चलखेल र दबाब थियो । चुनाव नगराउन पनि भित्रबाहिर धेरैतिरबाट, जताततैबाट चलखेल थियो । त्यति बेला शेरबहादुरजी, हामी चुनाव गराउन लाग्यौं, चुनाव भयो ।’ अहिले आफूहरू संविधानको रक्षाका लागि उभिएको उल्लेख गर्दै संविधानलाई दायाँबायाँ हुन नदिने बताए । दाहालले प्रधानमन्त्री ओलीले नै अदालतलाई धम्क्याउने काम गरेको बताए । ‘कहिले महान्यायाधिवक्तामार्फत त कहिले आफैं धम्काउन थालेका छन्,’ दाहालले भने, ‘सर्वोच्चले संविधान, कानुन र लोकतन्त्रका मूल्यमान्यताअनुसार फैसला गर्छ भन्दा सेटिङ भनेछन् । सेटिङ गरेर भनेको होइन । संविधानअनुसार देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ ।’

एमाले नेता माधवकुमार नेपालले गठबन्धनलाई तोड्नका लागि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा गरे । तर गठबन्धनलाई धोका दिएर प्रधानमन्त्री खान नजाने उनको भनाइ थियो । ‘म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने, ‘अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध हो ।’

प्रकाशित : असार १३, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?