कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पहिरोको डरले रातभर जागै

पाल्पामा २२५ भन्दा बढी परिवार विस्थापित हुने स्थिति
रोल्पाको सुनछहारीका ३० प्रतिशत गाउँ जोखिममा
अर्घाखाँचीका २४ विस्थापित परिवार अझै फर्किन सकेनन्
प्यूठानका १० परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने

प्यूठान/रोल्पा/पाल्पा/अर्घाखाँची — प्यूठानको गौमुखी–३ का वडाध्यक्ष जंगबहादुर पुन पहिरोको डरले थारो (गोठ) मा बस्न थालेको दुई वर्ष पुग्यो । यहाँको खरा गाउँ पहिरोले बर्सेनि झर्न थालेपछि उनीसहित गाउँले विस्थापित भएका छन् । धेरैजसो घर चिरा परेर ढल्किएका छन् ।

पहिरोको डरले रातभर जागै

उनका अनुसार १३ परिवार वर्षा सुरु भएपछि आफन्तकहाँ आश्रय लिन्छन् । गाउँसँगै खरा मावि र वडा कार्यालय पनि जोखिममा छन् । गत वर्ष बस्तीमुनिबाट पहिरो गएपछि पुनसँगै ती परिवार विस्थापित भएका हुन् ।

स्थानीय दुर्गबहादुर, प्रेमबहादुर र शेरबहादुर पुनका परिवार यसपटक पनि गाउँ छाडेर आफन्तकहाँ बस्दै आएका छन् । ‘गाउँ कतिबेला बग्छ, टुंगो छैन,’ वडाध्यक्ष पुनले भने, ‘भूगर्भविद्को टोली आएर केही जानकारी नदिएर गयो ।’ जंगबहादुरका अनुसार पाँच महिनाअघि प्रदेश सरकारको सहयोगमा भूगर्भविद्को टोली आएर उक्त क्षेत्रको अनुगमन गरेको थियो ।

तर कुनै प्रतिक्रिया नदिएको उनले बताए । ‘आफ्नै घर कतिबेला बगाउँछ भन्ने चिन्ता छ,’ उनले भने, ‘जनप्रतिनिधि भएपछि जनताको पीर पनि लाग्दो रहेछ ।’ गौमुखी–१ र २ नम्बर वडाको पैंयुपाटा, हार्जाखोला, ठूलाखर्क बस्ती पनि पहिरोको जोखिममा छन् । झिमरुकले बर्सेनि गर्ने कटानले ठूलाखर्कका १० घर तत्काल स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले औंल्याएको छ । गौमुखी–२ स्थित लेखछहरा बस्तीमा जुनसुकै बेला पहिरोले क्षति पुर्‍याउने देखिएकाले स्थानान्तरण गर्नुपर्ने वडाध्यक्ष डोरबहादुर

रानाले बताए । ‘स्थानान्तरण प्रक्रिया अगाडि बढेको छैन,’ गौमुखीका अध्यक्ष विष्णुकुमार गिरीले भने, ‘स्थानीयले थातथलो छाड्न नचाहँदा स्थानान्तरण हुन सकेन ।’ प्यूठानकै नौबहिनी र गौमुखी गाउँपालिका पनि पहिरोको जोखिममा छन् । २०७३ सालमा आएको बाढी र पहिरोमा परेर उक्त क्षेत्रका ५३ जनाले ज्यान गुमाएका थिए ।

‘बस्तीभन्दा मुनि खोला छ,’ नौबहिनीका अध्यक्ष शिवराज रिजालले भने, ‘खोला नियन्त्रण नहुँदा जमिन कटान तीव्र भइरहेको छ ।’ नौबहिनीको लिघास्थित कुर्तिबाङ, स्याउलीबाङ र खबाङका केही बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको उनले बताए ।

रोल्पामा आधा दर्जन गाउँ बाढी र पहिरोको जोखिममा छन् । सुनछहरी गाउँपालिकाका गाम, सेरम, फगाम, जैमाकसलालगायतका बासिन्दालाई वर्षा सुरु भएपछि निद्रा लाग्दैन । गामका थुप्रै गाउँ जोखिममा छन् । सेरमको फुलीवन बस्तीलाई गत वर्ष सुरक्षित स्थानमा सारिएको छ । त्यसबाहेक बस्ती जोखिममा छन् । फुलीवनका शेरबहादुर घर्तीले कमजोर माटो र जमिन बग्ने भएकाले सधैं जोखिम हुने गरेको बताए । सडक निर्माण गर्दा डोजरले जथाभावी खन्ने गरेकाले झन् जोखिम बढेको उनको भनाइ छ । सुनछहरी गाउँपालिकाका धेरै स्थान पहिरोको जोखिममा छन् । वृक्षरोपणबाहेक पूर्वतयारी छैन । ‘गाउँपालिकाका ३० प्रतिशत गाउँ जोखिममा छन्,’ गाउँपालिकाकी उपाध्यक्ष पवित्रा घर्तीमगरले भनिन्, ‘सेरमको ठूलो गाउँ, भित्री र बाहिरी गाम, फुलीवन, जैमाकसला क्षेत्र र फगाम गाउँ उच्च जोखिममा छन् ।’

स्थानीयदेखि जिल्ला तहसम्मले जोखिम कम गर्न हरेक वर्ष विपद् प्रतिकार्य योजना निर्माण गर्ने क्रम चल्दै आएको छ । तर पूर्णरूपमा जोखिम कम गर्न सकिएको छैन । थबाङ गाउँपालिकाको उवा पनि पहिरोको जोखिममा छ । त्यहाँको भानुभक्त मावि जोखिममा छ । ‘उवा गाउँ सधैं जोखिममा छ,’ स्थानीय श्रीकुमारी रोकाले भनिन्, ‘स्कुल, प्रहरी कार्यालय खतरामा छन् ।’ तीन वर्षअघि तल्लो उवानजिक पहिरोले घर पुर्दा विदेशमा रहेका बाहेक परिवारका सदस्य पुरिएका थिए ।

जंकोटमा गत वर्ष पहिरो खस्दा एक सय परिवार विस्थापित भएका थिए । घर र जग्गा चिरा परेका थिए । पीडितले घर मर्मत गर्न सकेका छैनन् । जथाभावी सडक निर्माण गर्नाले, वन वातावरण संरक्षणमा ध्यान नदिनाले र बस्ती एवं घर निर्माण गर्दा मनोमानी गर्नाले जोखिम बढ्ने गरेको हो । होलेरीदेखि थबाङसम्म निर्माण गरिएको सहिद मार्ग र अन्य गाउँमा निर्माण गरिएका सडक खन्दा सावधानी नअपनाउँदा जमिन कमजोर हुने गरेको तथा सडककै कारण जोखिम बढ्ने गरेको स्थानीयको भनाइ छ ।

दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सहिद मार्ग क्षेत्रमा बर्सेनि पहिरो जान्छ । त्रिवेणी गाउँपालिका पनि जोखिममा छ । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले १, २, ५ र ६ नम्बर वडा सबैभन्दा बढी जोखिममा रहेको बताए । ‘केही दिनयता निरन्तर पानी परेकाले पहिरो खस्ने त्रासले स्थानीय जाग्राम छन् । हामीले पनि विपद् प्रतिकार्य योजना बनाउन थालेका छौं,’ अध्यक्ष वलीले भने । उनका अनुसार हरेक वर्ष पहिरोले घर पुर्ने गरेको छ । मानवीय क्षतिसमेत हुने गरेको उनले बताए ।

गुल्मीका मुसीकोट र रेसुंगा नगरपालिकाका साथै सत्यवती, मालिका, धुर्कोट, मदाने, चन्द्रकोट, सत्यवती, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी, गुल्मी दरबार र इस्मा गाउँपालिका पहिरोको बढी जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी रुद्रावती शर्माका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम अघि बढेको छ । ‘भौगर्भिक हिसाबले पहाडमा त्यसै पनि पहिरोको जोखिम हुन्छ,’ प्रजिअ शर्माले भनिन्, ‘त्यसमाथि ठूला मेसिन प्रयोग गरेर सडक विस्तार गर्दा समस्या भएको छ ।’ पानी पर्ने सिजनमै बढी सडक चौडा गर्ने प्रवृत्तिले पनि जोखिम बढेको हो ।

पाल्पामा तानसेन–हार्थोक, हार्थोक–छहरा, सिद्धार्थ राजमार्ग, आर्यभन्ज्याङ–रामपुर सडकका साथै कालीगण्डकी करिडोरले सडक चौडा पार्दा पहिरोको जोखिम बढेको छ । रामपुर नगरपालिकाको गेझा र पूर्वखोलाको वीरकोटका ८० घर पहिरोको जोखिममा छन् । गेझाको बरभन्ज्याङदेखि हुग्दीखोलासम्म ५० घर दलित बस्ती पहिरोको जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयका अनुसार जिल्लामा दुई सयभन्दा बढी परिवार पहिरोको जोखिममा छन् । २ सय २५ परिवार विस्थापित हुने जोखिममा रहेको प्रहरीको तथ्यांक छ । गत वर्ष विपद्का २२ वटा घटनामा २४ जनाको मृत्यु र २ सय ६३ जना घाइते भएका थिए ।

विस्थापित अझै फर्केनन्

पहिरोबाट विस्थापित अर्घाखाँचीको शीतगंगा–१२ कोठिया मैदानका २४ परिवार अझै बस्तीमा फर्किन सकेका छैनन् । गत असोज ९ मा पहिरोले बस्ती बगाएको थियो । त्यसपछि स्थानीय विस्थापित भएका हुन् । ताराबहादुर नेपालीसहित तीन परिवार अहिले छिमेकीकहाँ आश्रित छन् । विस्थापितलाई एकीकृत बस्ती बसालेर पुनःस्थापना गर्ने भनिए पनि तीन घरबाहेक अरू सबै शीतगंगा र कपिलवस्तुमा भाडामा बस्न बाध्य छन् । ‘घरबारी सबै पहिरोले बगाइदियो,’ नेपालीले भने, ‘छिमेकीको गोठमा बसेको छु ।’

पहिरोले २१ घरपरिवार विस्थापित भएको स्थानीय ताराप्रसाद अधिकारीले बताए । कपिलवस्तुसँग जोडिएको दोहोटे नजिक समथर भूभागमा एकीकृत बस्ती बसाल्न खोजे पनि सीमा विवाद भएकाले कपिलवस्तु वन कार्यालयले लखेटिदिएको शीतगंगा–१२ का वडाध्यक्ष बाबुराम गैरेले बताए ।

प्रकाशित : असार १३, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?