१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कर्णाली तटबन्ध भासियो

कमल पन्थी

बर्दिया — जिल्लाको राजापुरस्थित सत्तीघाट पुलको पूर्वतर्फ कटान, गेभिन र तटबन्ध भासिएपछि बर्दियासँग कैलालीको टिकापुर जोड्ने सडक सञ्जाल विच्छेद भएको छ । 

कर्णाली तटबन्ध भासियो

पुलको पूर्वपट्टि कटान रोक्न बनाइएको तटबन्धको गेभिन भासिएको हो । तटबन्धसँगै गेभिन भासिएर पुलसँग जोडिएको हुलाकी सडक कटान भई किनारबाट नदी बग्न थालेको छ । हुलाकी आयोजनाका नेपालगन्जका प्रमुख गगल भण्डारीले पुलको पश्चिमपट्टिको सडक जोड्ने एप्रोचसँग जोडिएको सडक कटान भएपछि यातायात सम्पर्क विच्छेद भएको बताए । उनले खबर पाएकोले राजापुरतर्फ जान लागेको जनाए ।

नदी कटान रोक्न पुलको पूर्वतर्फको उत्तर-दक्षिण निर्माण गरिएको तटबन्ध बगाएको स्थानीय प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । उनका अनुसार त्यस क्षेत्रमा आउजाउमा रोक लगाइएको छ । पुलको बीचमा फसेका पैदलयात्रीलाई सिढी लगाएर वारपार गरिएको प्रजिअ सुनारले जनाए ।

राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीले नदी फैलिएर बग्न थालेपछि राजापुर—४ र ७ को संर्घषनगर, मुक्तकमैया बस्ती, छेदियालगायत दर्जन बढी गाउँमा बाढीको जोखिम भएको बताए । जलस्तर बढ्दै गएपछि कर्णालीमा कटान सुरु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले पुलसँग सडक विच्छेद भएपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयवासी रोकथामका लागि प्रयासमा जुटेको बताए ।

गत वर्ष भ्वाङ परेसँगै दक्षिणपूर्व पुल जोखिममा परेको हो । भ्वाङ परेको पुल टालटुल पारेका थिए । ५ सय ३१ मिटर लामो पुल तीन वर्षअघि ४६ करोडको लागतमा निर्माण भएको थियो । स्थानीयले पटक पटक पुल जोगाउन तटबन्धन बनाउन माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको नगर प्रमुख चौधरीले गुनासो गरे । जालीमा ढुंगा भर्दै हाले पनि पानीको बेगले खस्कँदै गएको छ ।

हुलाकी सडक आयोजनाअन्तर्गत यस पुलमा १४ वटा पिलर छ । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेको हो । यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो । पूर्वतर्फ करिब ७५ मिटर कटान गरेको ठाउँमा थप एक पिलर राख्नु पर्ने सल्लाह प्रावधिकले दिएका थिए । एउटा पुल राख्दा झण्डै ४ करोड अनुमानित बजेट माग गरे पनि अर्थ मन्त्रालयले निकासा नदिँदा रोकिएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : असार १२, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?