२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

संस्थापनइतरमा एउटै उम्मेदवार तय गर्न दबाब

विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच सँगै अघि बढ्ने समझदारी

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व दोहोर्‍याउने घोषणा गर्दै तयारी अघि बढाएपछि संस्थापनइतर पक्षमा पनि सभापतिको एउटै उम्मेदवार छनोट गर्न दबाब बढेको छ ।

संस्थापनइतरमा एउटै उम्मेदवार तय गर्न दबाब

आगामी भदौमा हुने पार्टी महाधिवेशनमा सहमतिका साथ उम्मेदवार तय नगर्दा आफूहरूलाई जोखिम हुने भन्दै संस्थापनइतरपक्षीय केन्द्रीय सदस्यहरूले सभापतिका दाबेदारहरूलाई दबाब दिएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार राखेको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांश आकांक्षीहरूले समझदारी कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

संस्थापनइतर पक्षमा वरिष्ठ नेता पौडेलका अतिरिक्त महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला आकांक्षी छन् । संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरेका छन् । निधिको उम्मेदवारी घोषणालगत्तै पार्टीभित्र नयाँ समीकरणको प्रयाससमेत भएको छ । निधि, कोइराला र सिंहबीच शुक्रबार दोस्रो पटक ‘लन्च’ बैठक भएको थियो । यसअघि असार ७ गते निधि निवासमा उनीहरूबीच बैठक भएको थियो ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला पुत्र शशांक, गणेशमान सिंहका पुत्र प्रकाशमान र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रबीचको यो गठजोड आसन्न पार्टी महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण गर्ने लक्ष्यसँग सम्बन्धित छ । सभापति देउवा र पौडेललाई भेटेरै पुस्तान्तरणमा सहयोगका लागि आग्रह गर्ने समझदारी तीन नेताले गरेका छन् ।

बैठकपछि महामन्त्री कोइरालाले संक्षिप्त प्रतिक्रिया दिँदै तीन नेताबीच सँगै अघि बढ्ने समझदारी भएको बताए । ‘हामी तीन जना एक ठाउँमा छौं र हामीबीच सहमति हुने सम्भावना प्रबल छ,’ उनले भने । निधिले पनि पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय मुद्दा र आमनिर्वाचनका बारेमा साझा धारणाका साथ अघि बढ्ने समझदारी बनेको बताए । तीनै जना आकांक्षी भएकाले नेतृत्वका बारेमा भने समझदारी बन्न सकेको छैन । ‘नेतृत्वको विषयमा हामी प्रवेश गरेका छैनौं, पार्टीको १४ औं महाधिवेशनमा एकताबद्ध भएर जाने र समसामयिक विषयमा एउटै दृष्टिकोण बनाउने विषयमा हामीबीच समझदारी छ,’ निधिले भने । केही दिनमा पूर्वमहामन्त्री सिंहको निवासमा बैठक गर्ने र त्यसपछि केन्द्रीय सदस्यहरूसँग पनि सामूहिक छलफल अघि बढाउने तयारीमा तीन नेता छन् ।

तीन नेताबीचको छलफल सकेर कोइराला र सिंह संस्थापनइतर पक्षको बैठकमा पुगेका थिए । बैठकमा कोइराला अन्यन्त्र कार्यक्रम भएको भन्दै बीचमै निस्किए भने पौडेल, सिंह र शेखरले आफूहरू मिलेरै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । ‘बोल्ने सबैजसो केन्द्रीय सदस्यले मिलेर एक जनाले मात्रै उम्मेदवारी दिनुहोस्, धेरै जनाको उम्मेदवारी पर्नासाथ जित्ने सम्भावना रहँदैन भन्यौं, प्रतिस्पर्धाको तयारी गर्नुभएका सबै नेताहरूले पनि तपाईंहरूको चिन्ता स्वाभाविक छ, हामी मिलेरै एक जना उम्मेदवार बन्छौं भन्नुभएको छ,’ बैठकपछि केन्द्रीय सदस्य हृदयराम थानीले भने । ‘सभापति देउवाजीको आफ्नै शैली र तरिका छ । हामी सामूहिक रूपमा छलफल गरेर सहमतिमा उम्मेदवार टुंग्याउँछौं,’ बैठकमा पौडेलले भनेका थिए । सिंह र कोइरालाले आ–आफ्नो स्थिति र अवस्था मूल्यांकन गरेर सहमति गर्न आफूहरू तयार भएको बताए ।

सदस्यता छानबिनमा आशंका

संस्थापनइतर पक्षले पार्टीको क्रियाशील सदस्यतामा धाँधली हुने आशंका गरेको छ । बैठकले क्रियाशील सदस्यताको विवाद टुंगो पार्टीको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र जिल्लामा गरिएका परिपत्रका आधारमा हुनुपर्नेमा जोड दिएको छ । पौडेल पक्षले क्रियाशील सदस्यता वितरण गर्दा वडादेखिको तहगत प्रक्रियाअनुसार भए/नभएको हेरी सुझाव दिन मीनेन्द्र रिजाल, हृदयराम थानी, दिलेन्द्र बडू, गगन थापा र गुरुराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।

अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्ताको समायोजनका नाममा क्रियाशील सदस्यताका लागि अनियमितता गर्न लागिएको आशंका पौडेल पक्षको हो । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाहेकका पार्टीबाट व्यक्तिगत रूपमा प्रवेश गरेका नेताहरूको हकमा क्रियाशील सदस्यतामा बढी चलखेल हुन सक्ने आशंका पौडेल पक्षको छ । समायोजनका नाममा कतिपय जिल्लामा एकमुष्ट क्रियाशील सदस्यता वितरण गरी पार्टीको विधानविपरीत तहगत प्रक्रियाभन्दा बाहिरबाट सदस्यता दिइएको आरोप पनि पौडेल पक्षले लगाएको छ ।

प्रकाशित : असार १२, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?