१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जिम्मेवारी पूरा गर्न गृह प्रशासन र प्रहरीलाई मन्त्री पौडेलको निर्देशन

काठमाडौँ — गृहमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न गृह प्रशासन र प्रहरीलाई निर्देशन दिएका छन् । 

जिम्मेवारी पूरा गर्न गृह प्रशासन र प्रहरीलाई मन्त्री पौडेलको निर्देशन

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले नतिजामुखि काम आफूले खोजेको पनि बताए । ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरुले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ,' उनले भने, 'कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पूरा गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउनको लागि निर्देशन गरे । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर गर्न सक्ने बताए । उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उनले निर्देशन दिए ।

‘राजनीतिक परिस्थितिको प्रभावचाहिँ गृह प्रशासनमा पर्नु हुँदैन । सुरक्षा निकायमा पर्नु हुँदैन । राजनीतिक परिस्थिति अलग चिज हो । त्यो आफ्नो ढंगले चल्दै गर्छ । त्यसबाट यहाँहरु प्रभाव नहुनुहोला । अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन । शान्ति सुरक्षा, जिउधनको रक्षामा रम्भिरताका साथ ध्यान दिनुस्,’ उनको निर्देशन थियो ।

मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए । उनले गृह सचिवसँग दिनमा एक पटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए ।

प्रकाशित : असार ११, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?