कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा हालै बाढीले पुर्‍याएको क्षतिको व्यवस्थापन र राहतकार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । शुक्रबार एमाले वाग्मती प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई भेट गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

सिन्धुपाल्चोकको विपत्ति मानवीय संकट भएको प्रधानमन्त्री ओलीले बताए । ‘यस कुरामा कसैले राजनीति गर्न हुन्न, मानवीय हिसाबमै जानुपर्छ,’ उनले भने ।

ओलीले पुल बगाएको स्थानमा बेलिब्रिज व्यवस्था गर्ने बताए । बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तारजाली लगाउनुका साथै पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गरिने उनको भनाइ छ ।

‘त्यस्ता ठाउँमा दाताहरू पुगेका छन्, उनीहरूलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पुनर्निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरेका थिए ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासका लागि प्रतिपरिवार ८ बन्डल जस्ता उपलब्ध गराउनुपर्ने, नदी किनारका बजार संरक्षण र पुन: व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गर्नुपर्ने, भत्केका घरको पुनर्निर्माण र पुरिएका घरलाई मर्मत–सुधार गराउनुपर्ने, भत्केका मोटर बाटो तत्काल मर्मत गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सिन्धुपाल्चोकमा असारयता अविरल वर्षापछि उत्पन्न बाढीपहिरोका कारण १६ जनाको मृत्यु हुनुका साथै ४ सय परिवार विस्थापित छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ, ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगेका छन् ।

प्रकाशित : असार ११, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?