जोखिम नटर्दै आन्दोलन
काठमाडौँ — पछिल्लो २४ घण्टामा १२ हजार २ सय ३२ पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकामध्ये कोरोना पोजिटिभ हुने दर २० प्रतिशतभन्दा माथि छ ।
असारयता बुधबार मात्रै संक्रमण दर १९.५० प्रतिशत थियो । अरू दिन २० प्रतिशतभन्दा बढी छ । कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि दैनिक सरदर ४० जना छ । बिहीबार भने २४ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यकामा अझै पनि भेन्टिलेटर पाउन मुस्किल छ । पाटन अस्पतालका १० वटा भेन्टिलेटर सबैमा कोरोनाका गम्भीर बिरामी छन् । तर यस्तो अवस्थाको बेवास्ता गर्दै प्रमुख राजनीतिक दलहरू अहिले सरकारको विरोधका नाममा सडक आन्दोलनमा उत्रिएका छन् । नागरिकहरूको स्वास्थ्यसँग गम्भीर खेलाँची गर्दै बिहीबारबाट विपक्षी गठबन्धनमा आबद्ध विद्यार्थी भ्रातृ संगठन सडक प्रदर्शनमा उत्रिए ।
काठमाडौंमा ४ हजार ४ सय ८३ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणको जोखिम टरिनसकेको अवस्थामा यही बिहीबार दुई वटा प्रदर्शन भए । प्रदर्शनी मार्गमा संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध विद्यार्थी संगठनले प्रदर्शन गरे । नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, एमाले खनाल–नेपाल पक्षीय अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंका विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै, माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी, विद्यार्थीलगायतले पनि प्रदर्शन गरे । सो क्रममा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीहरूले शिक्षा, विज्ञान तथा प्रविधि र हालै स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत पाएका कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरे ।
सरकारविरुद्ध प्लेकार्ड लिएर उपस्थित भएकाहरूले न सामाजिक दूरी कायम गरेका थिए न त सबैले मास्क लगाएका थिए । आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सीसमेत भयो । ‘सरकारको कदमको विरोधमा तीन–चार सय सहभागी भएका थियौं,’ अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले दाबी गरे, ‘जति सहभागी थियौं, सबैले सामाजिक दूरी कायम गरेर शान्तिपूर्ण तरिकाबाट विरोध प्रदर्शन गर्यौं ।’ संसद् पुनःस्थापना नभएसम्म प्रदर्शन जारी राख्ने कार्यक्रम तय भएको उनले बताए । विज्ञहरू भने महामारीका बेला जुलुस निकाल्नुलाई अपराध गरेसरह ठान्छन् । पहिलो र दोस्रो लहरमा अस्पतालमा बेड र अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाएको थाहा हुँदाहुँदै आन्दोलन गर्नु गलत भएको जनस्वास्थ्य विज्ञले बताए ।
‘उहाँहरूलाई कोरोनाको जोखिमभन्दा पनि के गर्दा राजनीतिमा चर्चा कमाइन्छ भन्ने हुँदो रहेछ,’ भाइरोलोजिस्ट एवं ईडीसीडीका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेले भने, ‘निषेधाज्ञा त जुलुस गर्न खोलेजस्तो पो भयो ।’ कोरोनाका नयाँ–नयाँ जोखिमपूर्ण भेरिएन्ट देखिए पनि राजनीतिक दलका नेता र भ्रातृ संगठनहरूले आफ्नो राजनीतिक स्वास्थ्यपूर्तिका लागि आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ । ‘भाइरसको नयाँ रूप डेल्टा प्लस देखिएको छ । संक्रमण सार्ने र फोक्सोको सेलभित्र जाने क्षमता यसमा बढी छ । जसले एन्टिबडीको क्षमता घटाउँछ,’ पाण्डेले भने, ‘यस्तो जोखिम कायम हुँदाहुँदै आन्दोलन गर्नु भनेको आगोको भुङ्ग्रोमा हाम फालेजस्तै हो ।’
यस्ता आन्दोलन, प्रदर्शनले संक्रमण दोस्रो लहरकै जस्तो दोब्बर, चौबर रूपमा फैलिन सक्ने उनले चेतावनी दिए । दोस्रो लहरमा हरेक चार दिनमा दोब्बरसम्म संक्रमण देखिएको थियो । बिहे भोजजस्ता जमघटबाट संक्रमण बढी मात्रामा फैलिएको थियो । ‘तेस्रो लहरमा पनि नयाँ भेरिएन्ट देखिएका बेला आन्दोलन सुरु भएको छ । यस्तो हुने हो भने संक्रमण बढ्ने सम्भावना हुन्छ,’ डा. पाण्डेले भने ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जोखिम उच्च रहेकै बेला हुने आन्दोलनले संक्रमण फैलाउन सहयोग पुग्ने बताए । निषेधाज्ञा कोरोनाको जोखिम कम भएर खुकुलो पारेको नभई सर्वसाधारण आत्तिएकाले सहज बनाएको उनको भनाइ छ । ‘संक्रमण कम भएको देखिए पनि अस्पतालमा गम्भीर खालका बिरामी भर्ना भइरहेका छन्,’ उनले भने, ‘सार्वजनिक स्थलमा सभा, जुलुस गर्यो भने संक्रमित संख्या बढ्न सक्छ । यस्ता गतिविधिले अस्पतालमा बेड व्यवस्थापनमा समेत चुनौती हुन्छ ।’ खोप सबैले पाइनसकेकाले पनि जोखिम निकै रहेको उनले बताए । ‘यसको असर एकै दिनमा देखिँदैन,’ उनले भने, ‘यसरी नै आन्दोलन हुने हो भने २ बाट ४, ४ बाट ८ हुन सक्छ । सबैले सावधानी अपनाउनु जरुरी छ ।’
संक्रमण दर १० प्रतिशतभन्दा तल नआएसम्म जोखिम कम नमानिने उनले बताए । ‘अहिले पीसीआर र एन्टिजेन्ट गरेकामध्ये २० प्रतिशभन्दा बढीलाई कोरोना देखिएको पनि निषेधाज्ञाका बेला हो,’ डा. अधिकारीले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि यसको असर कति पर्ने हो, आकलन गर्नै सकिँदैन ।’
प्रकाशित : असार ११, २०७८ ०८:२३