कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निषेधाज्ञा खुकुलियो, सतर्कता भुलियो

बजार र अत्यावश्यक सेवा सहज भएसँगै मास्क लगाउने घटे, सेनिटाइजरको प्रयोग पनि कम हुँदा संक्रमण पुनः बढ्ने स्वास्थ्यकर्मीको शंका 

लुम्बिनी, बाँके, दाङ, कपिलवस्तु — निषेधाज्ञा खुकुलो भएसँगै लुम्बिनी प्रदेशका जिल्लामा स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ । मास्क नलगाउने बढेका छन् । असारमा बिहेको लगनसँगै खेतीपातीको याम छ । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ ।

निषेधाज्ञा खुकुलियो, सतर्कता भुलियो

रूपन्देहीमा जिल्ला प्रशासनले बिहान ११ देखि दिउँसो ४ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि बिनामास्क ओहोरदोहोर बढेको छ । दुई महिना घरभित्र बस्न बाध्य सर्वसाधारण चोकमा जम्मा भएर गफिन थालेका देखिन्छन् ।

असार पहिलो साता कोरोना संक्रमण दर ओरालो लागेको थियो । अहिले फेरि बिस्तारै अस्पतालमा संक्रमितको चाप बढ्न थालेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा संक्रमित बढ्न थालेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । आकस्मिक कक्षमा अहिले १२ र मेडिकल वार्डमा ७ जना बिरामी रहेको उनले बताए । उनले भने, ‘आईसीयूमा १२ जना घटेका छैनन् ।’ कोरोना संक्रमण पुष्टि भएकाहरु अस्पताल आइरहेको उनले बताए ।

भैरहवाको भीम अस्पतालमा कोरोनाका २० बिरामी उपचाररत छन् । खुकुलोपनाले सबै मानिस एकैपटक बाहिर आउँदा संक्रमित, नजिक रहेकाहरुसँगै सबै पुनः जोखिममै रहने अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । ‘पुराना बिरामी यथावत् छन्, ह्वात्तै सबै बाहिर निस्किँदा समुदायमा संक्रमण दर बढ्छ,’ उनले भने, ‘लापरबाहीले जोखिम फेरि बढाउन सक्छ ।’

निषेधाज्ञा खुकुलो भएसँगै बुटवलको मिलनचोकमा देखिएको चहलपहल । तस्बिर: सन्जु पौडेल/ कान्तिपुर

भैरहवाकै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको संख्या १५ छ । पहिलेको तुलनामा निकै कम भएको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । संख्या घटेकै आधारमा महामारी गइहालेको भन्न नसकिने भन्दै घरघरमा रहेका संक्रमित र उनीहरूका आफन्तले समेत समुदायमा फैलन नदिने गरी सतर्कता अपनाउनुपर्ने उनले बताए । ‘अस्पताल नआएका बिरामीको अनुगमन जरुरी छ,’ उनले भने, ‘उनीहरूका घरका सदस्य खुलेआम हिँडडुल गर्दा संक्रमण अन्यत्र फैलन समय लाग्दैन ।’ रूपन्देहीमा रहेका कोरोना उपचाररत अस्पतालमा ७६ जना बिरामी रहेकामा २३ जना अन्य जिल्लाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

नेपालगन्जमा पनि लापरबाही बढेको छ । बजारमा भेटिनेका न मुखमा मास्क छ, न त हातमा सेनिटाइजर । बजारमा किराना पसल, फलफूल चोक, तरकारीका हाट बजार सबैमा यसरी नै किनमेल हुन्छ । जिल्लामा दुई महिनाभन्दा लामो अवधि जारी कडा निषेधाज्ञा संक्रमितको संख्यामा कमी आएपछि खुकुलो बनाइएको छ । जिल्ला प्रशासनले असार १४ सम्म निषेधाज्ञा खुकुलो बनाएको हो । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने पसलमा चाप छ । यद्यपि, सिनेमा हल, फन पार्क, सार्वजनिक यातायात भने बन्द छन् । कोहलपुर–२ का भीमबहादुर कार्की चौराहामा फलफूल बेच्छन् । उनले मास्क लगाएर केही दिनअघिसम्म फलफूल बेचेका थिए । तर, अहिले उनको मुखबाट मास्क हटेर हातमा पुगेको छ । निषेधाज्ञा खुकुलो भएपछि बजारमा चहलपल बढ्दै छ । व्यापार गर्ने र किनमेल गर्ने निस्फिक्री छन् । ‘कोरोना छैन रे, त्यसैले मास्क लाउन छोडेको,’ कार्कीले भने ।

बाँकेमा दोस्र्रो लहरको कोरोना संक्रमणको संख्या अहिले ओरालो लागेको छ । यहाँ एक सयको हाराहारीमा संक्रमित छन् भने छिमेकी जिल्ला बर्दियामा ५ सय संक्रमित छन् । यसले कोरोना पूरै शून्य भएको भन्न नमिल्ने जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।

दाङका सडकमा निजी सवारीसाधनको चाप छ । बजार बिहान ६ देखि दिउँसो २ बजेसम्म खुल्न पाउने भएपछि किनमेल गर्नेको भीड छ । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू १० देखि ३ बजेसम्म खुला छन् । यी कार्यालयमा सेवा लिन आउनेहरूको चाप पनि त्यत्तिकै छ । प्रहरी प्रशासनले पनि सडकमा जाँच गर्ने, रोक्ने अवस्था छैन । अहिले जिल्लामा कोरोना महामारी सकिएजस्तै भान हुन थालेको छ । अहिले कोरोना संक्रमणप्रति मानिसमा चरम लापरबाही बढेको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए ।

‘मानिसहरूको लापरबाही यति बढेको छ कि अब केही समयपछि फेरि भयावह स्थिति आउने खतरा छ । मास्क नलगाई भीडभाड गरिरहेका छन्, व्यापार व्यवसाय चलाइरहेका छन्,’ उनले भने, ‘कपाल काट्नेजस्ता संवेदनशील व्यवसाय पनि भित्रभित्रै चलेका छन् । मास्क नलगाई हिँड्नेलाई सम्झाउन खोज्दा उल्टै गाली गर्छन् ।’ लापरबाहीले संक्रमणको जोखिम नघट्ने उनले बताए । संक्रमितको संख्या केही कम भएपछि मानिसहरू फेरि पुरानै दिनचर्यामा फर्किन खोजेको कोरोना अस्पताल लमहीका प्रमुख डा. पुष्प भुसालले बताए । ‘मानिसहरूले फेरि कोरोनाको डर बिर्सन थाले । सतर्कता केही पनि छैन । मास्क लगाउन, भीडभाड नगर्न र जथाभावी नहिँड्न जति अनुरोध गर्दा पनि मानिसहरू मानिरहेका छैनन्,’ कतिपयले सामान्य रुघाखोकीजस्तो ठानेर पचाइरहेका छन् । खेतीपातीलगायत गाउँघरका काम भीडभाडमै भइरहेका छन् । यसले संक्रमणको जोखिम धेरै नै बढाएको तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछानेले बताए । ‘बिरामीहरू घटिसकेका छैनन् तैपनि लापरबाही बढ्दो छ,’ उनले भने ।

कोरोना महामारीभन्दा भोकको समस्या बढेकाले मानिसहरू अटेर गरेर बजारमा निस्कन थालेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘मानिसहरूको रोजीरोटी संकटमा परेको छ,’ उनले भने, ‘कोरोनाको मात्रै जोखिम देखाएर बन्द गरिराख्ने अवस्था छैन । खानेकुरा जुटाउने उपाय पनि गर्नैपर्‍यो । अब केही सहज हुँदा खुकुलो गर्दै जानुपर्छ ।’

कपिलवस्तुको तौलिहवा बजारस्थित सिटिजन्स बैंकमा लागेको सेवाग्राहीको भीड । तस्बिर: मनोज पौडेल/कान्तिपुर

जीविका चलाउनुपर्ने, घर भाडा तिर्नुपर्ने, कर तिर्नुपर्नेजस्ता समस्याले बाहिरी रूपमा सटर बन्द भए पनि भित्रभित्रै व्यापार व्यवसाय चलिरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘व्यापारीले भोकै मर्ने अवस्था आयो भनिरहेका छन् । अलिअलि खुकुलो गर्दै जानुपर्छ भन्ने दबाब बढी छ । त्यसकारण व्यापार व्यवसाय खुल्दै गएका हुन्,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउने कुरामा हामीले पनि सचेत पारिरहेका छौं । व्यवसाय गर्दा पनि सुरक्षामा त ख्याल गर्नैपर्छ । यसबारे हामीले अनुगमन पनि गरिरहेका छौं ।’

कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले असार ७ गते जारी गरेको आदेशमा सबै प्रकारका सभा, सम्मेलन, तालिम र गोष्ठीलाई निषेध गरिएको सेवामा राखेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयले आदेशविपरीत लबनी स्वास्थ्यचौकीमा महिला स्वयंसेविकाहरूको १० दिने तालिम सञ्चालन गरेको छ । २० महिला स्वयंसेविका आठ दिनदेखि तालिम लिइरहेका छन् ।

उता, कपिलवस्तु नगरपालिकाले बिहीबार आफ्नै सभाहलमा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्‍यो । शिवराज नगरपालिकाले वडा ५ को सभाहलमा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्‍यो । दुवै कार्यक्रम खचाखच भीड जम्मा गरेर गरिएको थियो । जबकि, भीडभाड नहुने गरी कार्यालयलाई सेवा सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ ।

प्रकाशित : असार ११, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?