खोपको दोस्रो मात्रा लगाउन ढिलो भयो भने प्रभावकारिता घट्छ ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोपको दोस्रो मात्रा लगाउन ढिलो भयो भने प्रभावकारिता घट्छ ?

बुनु थारु

काठमाडौँ — फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख बढी व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । नेपालमा पनि समयमा खोप प्राप्त नहुँदा दोस्रो खोपको मात्राको अवधि लम्बिँदै गएको छ ।

जेठ २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोप कोभिसिल्ड नआउने भएपछि यसको पहिलो डोज लगाएका व्यक्तिलाई सरकारले दोस्रो मात्रामा एउटै प्रकृतिको एस्ट्राजेनेकाको खोप लगाउने बताएको छ । दुई साताभित्र खोप आउन सक्ने बताए पनि खोप आउने अझै छाँटकाँट भने देखिँदैन ।

भारतको स्वास्थ्य मन्त्रालयले मे १३ मा कोभिसिल्डको दोस्रो मात्रा ६ देखि ८ हप्तादेखि दिनुपर्नेमा १२ देखि १६ हप्तासम्म अवधि बढाउने निर्णय गरेको थियो । नेशनल टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसनले दोस्रो खोपको लागि १६ हप्तासम्म लगाउँदा प्रभावकारिता बढ्ने सिफारिस पछि सरकारले निर्णय गरेको थियो ।

नेशनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका पूर्व निर्देशक डा. एमडी गुप्ते भन्छन्– ‘अहिलेसम्म विश्व स्वास्थ्य संगठनले ८ देखि १२ हप्तासम्ममा दोस्रो डोज दिने भनेको हामीले मान्दै आएको हो ।’ उनले १२ देखि १६ हप्तासम्म गर्ने निर्णय ठीक होला वा नहोला यकिनका साथ भन्न नसक्ने भन्दै यसबारे पर्याप्त ठोस जानकारी आइनसकेको बताए ।

भारतका वरिष्ठ भाइरोलोजिस्ट साहिद जमिलले सरकारी अधिकारीहरुले खोपको अवधि किन बढाइएको बारेमा स्पष्ट पानुपर्ने बताउँछन् । ‘भेरियन्ट अफ कन्सर्न’ बढिरहेका बेला सबैजनाले खोप पाउनुपर्छ, सुरक्षित हुनुपर्छ,’ उनले भने ।

दोस्रो खोपको अवधि लम्बिनुमा केहीले वैज्ञानिक कारण भनेका छन् भने केहीले खोपको अभावको कारण अवधि बढाइएको बताइरहेका छन् ।

‘खोपको दोस्रो मात्राको अवधि लम्बिए पनि यसले काम गर्छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले संसारभरी भनेको जस्तो मात्रामा खोप पाउन नसकेकाले दोस्रो डोजको मात्रा लगाउनुपर्ने छुटेको बताउँदै ९ देखि १२ हप्तासम्म दोस्रो मात्रको खोप लगाउनुपर्ने राम्रो मानिएको भएपनि त्यसपछि लगाउँदा पनि हानी नहुने दाबी गर्छन् ।

डा. पोखरेल भन्छन्– ‘१२ हप्तापछि वा जति बढी समय भयो त्यति राम्रो पनि भनेको छ विश्व स्वास्थ्य संगठनले । तर ठ्याक्कै सिफारिस भने गरिससकेको छैन ।’ उनका अनुसार १२ हप्तापछि पनि खोप लगाएको खण्डमा एन्टिबडीको लेभल बढेको र संक्रमण प्रतिरोधी क्षमता अझ राम्रो हुने देखिएको छ । ‘भारत सरकारले १६ हप्तासम्ममा दिने भनेको छ । हामीले पनि भारत सरकारको आधार मान्यौँ,’ उनले भने ।

डा. पोखरेलले महामारीमा बनेको कुनै पनि खोपले कति समयसम्म काम गर्छ, कुनकुन भेरियन्टलाई काम गर्छ वा गर्दैन अध्ययनको पाटो भएको बताए । उनका अनुसार एक डोज लगाएपनि यसले अधिकताम काम गर्छ र सुरक्षा दिन्छ । ‘सकेसम्म दुई डोज भनिएको छ । त्यो पूरा गर्नुपर्छ । ढिलो भएपनि प्रतिरक्षा शक्ति शुन्य हुँदैन । घट्दै जाला तर फेरी खोप लगाए, फेरी बढाएर लैजान्छ,’ डा. पोखरेल भन्छन्, ‘एउटा खोपले पनि संक्रमण तथा मृत्यु दर घटाएको छ ।’

उनले यो महिनाभित्र खोप कहिले आउने भन्ने आधिकारिक जानकारी आउने बताउँदै जुलाई महिनाभित्र खोप दिने भनिएको दाबी गरे । ‘कति दिन्छ भनेर यो हप्ताभित्रमा जानकारी हुन्छ । कति मात्रामा कोभ्याक्सबाट आउँछ भन्ने थाहा हुन्छ,’ उनले भने ।

कोभिड भ्याक्सिन एक्सपर्ट एड्भाइजरी कमिटीका कोअर्डिनेटर डा. श्यामराज उप्रेतीका अनुसार विश्व स्वास्थ्य संगठनले पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । उनले पहिलो मात्राको खोप लगाएपछि ३ महिनासम्म सुरक्षा गर्ने दाबी गर्दै त्यसपछि कतिसम्म सुरक्षा दिन्छ त्यो यकिन भइनसकेको बताए । डा. उप्रेती भन्छन्, ‘ अहिलेसम्मको अध्ययनमा त १२ हप्ताभित्र दियो भने सुरक्षित भइन्छ भन्ने भन्ने छ । तर १२ हप्ता पछि एन्टिबडी घट्न सक्छ वा संक्रमणको जोखिम बढ्न सक्छ भन्ने पनि हो ।’ उनका अनुसार जुन बेलासम्म दोस्रो मात्राको खोप दिइँदैैन संक्रमणको जोखिम हुनसक्छ ।

ओम अस्पतालका कन्सलटेन्ट पिडियाट्रिक इम्युनोलोजिस्ट तथा रिम्याटोलोजिस्ट डा. धर्मगत भट्टराईले अध्ययनमा १६ हप्तासम्म लम्ब्याउँदा केही फरक नपर्ने र त्यसबाट पनि इम्युन रेस्पोन्स उत्तिकै आउने देखिएको बताए ।

उनका अनुसार खोप ढिलो लगाउँदा खोपको प्रभावकारिता कम आउँछ भनेर देखिएको छैन । ‘लगाउने अवधि कटेर ढिलो भएमा केही मात्रामा कमी हुन सक्छ । तर त्यसले सुरक्षा नै नदिने भन्ने होइन,’ उनले भने ।

उनका अनुसार कुनैपनि खोपले सत प्रतिशत सुरक्षा दिने र प्रभावकारी हुने भन्ने देखिएको छैन । यद्यपी खोपले मुख्य कुरा कोरोनाको जटिल र गम्भिर प्रकृतिका बिरामी हुनबाट पक्कै पनि बचाउँछ । ‘खोपले सुरक्षा दिन्छ तर, संक्रमण नै नहुने भन्ने होइन । दुवै डोज लगाएकोलाई पनि देखिएको छ त्यसैले सावधानी अपनाइराख्नुपर्छ,’ उनले भने ।

‘खोपको दोस्रो मात्राको अवधि बढ्यो भने जोखिम हुनसक्छ’
अमेरिकी राष्ट्रपतिका मेडिकल एडभाइजर डा. एन्थोनी फौचीले दुई खोप बीचको अवधि लामो भएको खण्डमा त्यसले कुनै एक कोभिड भेरियन्टको संक्रमणको जोखिम निम्त्याउन सक्ने बताउँछन् ।

‘मोर्डनाको लागि ४ हप्ता तथा फाइजरका लागि ३ हप्ता खोपको ग्याप उचित हो । अन्तराल बढाउँदै लगेमा अरु भेरियन्टकोे जोखिममा पर्न सकिन्छ,’ उनले भने ।

फौचीका अनुसार बेलायतमा पनि खोपको दोस्रो मात्रा दिन ढिलाइ गरेकोले सो अवधिमा संक्रमणमा पर्न सम्भावना बढेको छ । एक भारतीय सञ्चार माध्यममा प्रतिक्रिया दिँदै डा. फौचीले सबै मानिसलाई भाइरसबाट बचाउन छिटोभन्दा छिटो खोप दिनुपर्नेमा जोड दिएका छन् ।

अघिल्लो वर्ष भारतमा डेल्टा भेरियन्ट देखिएको थियो । त्यसले नै भारतमा दोस्रो लहरको कोभिड फैलिएको पुष्टि नै भइसकेको छ । नेपालमा पनि डेल्टा भेरियन्टकै कारण संक्रमण व्यापक भएको देखिएको छ । विज्ञहरुका अनुसार यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको छ । डा. फौचीका अनुसार खोप जति छिटो लगायो त्यति नै जनसंख्यालाई भविष्यमा हुने अन्य संक्रमणका लहरमा पनि बचाउँछ ।

डेल्टा भेरियन्ट धेरै राष्ट्रहरुमा अहिले देखिएको छ । जुन एक व्यक्तिबाट अर्कोमा छिटो तरिकाले सरिरहेको पाइएको छ । खोप नपाएको खण्डमा संक्रमण झन् बढ्न सक्ने बताइएको छ ।

‘डेल्टा’ भेरिएन्टको विकसित रुप ‘ए वाई १’ अर्थात् ‘डेल्टा प्लस’ नेपालमा पनि फेला परेको पुष्टि भइसकेको छ ।

प्रकाशित : असार १०, २०७८ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

‘पोष्ट कोभिड’ले निम्त्याउँदै शारीरिक तथा मानसिक समस्या, चिकित्सक भन्छन्– ‘परामर्शको अभाव छ’

बुनु थारु

काठमाडौँ — परिवारका सबै सदस्य कोरोना संक्रमित भएपनि ३५ वर्षीया छोरी र ६५ वर्षीया आमालाई अस्पताल भर्ना गर्नुपर्‍यो । उपचारपश्चात ठिक भएर दुवै घर त फर्किए तर उनीहरुमा अरु नै समस्या थपियो ।

‘निको भइसकेर फर्किएका उनीहरुमा निद्रा नलाग्ने र बेलाबेला झसंग हुने समस्या आएछ,’ दुवैको केस हेरेका बीएन्डबी अस्पतालका मनोचिकित्सक प्राडा सुदर्शन नरसिंह प्रधानले भने, ‘३ हप्तासम्म राम्ररी निद्रा नलागेपछि उनीहरु मकहाँ आइपुगेका रहेछन् । दुवैलाई एक अर्काको चिन्ताले सताइरहने समस्या बढी देखियो ।’

अर्की ३० वर्षीया रुपा (नाम परिवर्तन) लाई पनि संक्रमण मुक्त भइसकेपछि समस्या देखियो । डिस्चार्ज भएको ४–५ हप्तापछि छाती भारी भएको महसुस भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । फेरि संक्रमण भएको हो कि भन्दै आत्तिएर उनी फलओपका लागि पुगेकी थिइन् । त्यहाँका चिकित्सकले संक्रमण नभइ पोस्ट कोभिडको लक्षण हो भनेर आवश्यक परामर्शसहित पठाएपछि उनी अहिले समान्य अवस्थामा छिन् ।

...

कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिमा जाँगर नचल्ने, थकान लागिरहने, स्याँस्याँ हुने, जिउ तातो जस्तो हुने, लामो समयसम्म ख्याक ख्याक लागिराख्ने लक्षणहरु देखा परिरहेका छन् । चिकित्सकका अनुसार यो पोष्ट कोभिडको लक्षण हो । यो भनेको कोरोना संक्रमणबाट मुक्त भएपछि देखिन लक्षण तथा समस्या हुन् । उचित परामर्श नपुगेकाले धेरै व्यक्ति यी लक्षण देखिए फेरी संक्रमित भइयो की भनेर अलमल्ल परेका देखिन्छन् र डराएको स्थितिमा अस्पतालसम्म आइपुग्छन् । पोष्ट कोभिडले शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै प्रभाव पारेको देखिन्छ ।

शुक्रराज अस्पतालको रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले दैनिक औसतमा डेढ दर्जनजति बिरामी पोस्ट कोभिडका लक्षण लिएर अस्पताल आउने गरेको बताए । ‘उपचारबाट निको भइसकेका संक्रमितलाई पुनः शारीरिक तथा मानसिक समस्या थपिन सक्छ,’ उनले भने, ‘जाँगर नचल्ने, स्याँस्याँ हुने, खोकी लागिरहने, मुटुको धड्कन बढिराख्ने, स्वास्प्रश्वासमा समस्या, सुत्न नसक्ने, बिर्सिने समस्या, डराउने, कान कराउने आदि समस्या त्यस्ता व्यक्तिमा देखिन्छ, यो पोष्ट कोभिड हो ।’ विदेशमा ५० वर्ष माथिकालाई यस्तो समस्या देखिए पनि नेपालमा युवा उमेरमा नै यसखाले समस्या बढी देखिएको उनी बताउँछन् ।

निजामती कर्मचारी अस्पतालका छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार अहिले पोस्ट कोभिडको समस्या लिएर ओपीडीमा आउने बिरामी बढेका छन् । उनका अनुसार शारिरिक भन्दा पनि समस्या लिएर आउने बिरामीको संख्या तुलनात्मक रुपमा बढी छ । ‘धेरै जसो बिरामीहरु मुटु धेरै ढुकढुक गर्‍यो, निद्रा नै लागेन, केही गर्न पनि जाँगर चलेन भन्ने जस्ता समस्या लिएर आउनु हुन्छ,’ उनले भने । त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले पनि पोष्ट कोभिडका बिरामी बढेको बताए । ‘आईसीयू तथा भेन्टिलेटरमा बसेर निको भइसकेका बिरामी छाती तथा फोक्सोमा संक्रमणमा लिएर आइरहेका छन् । अक्सिजन चाहिएको अवस्थामा छन्,’ उनले भने ।

संक्रमण हुँदा फोक्सोमा दाग देखिएर निको भएका व्यक्तिमा अझै पनि दाग देखिएको उनले बताए । ‘१२ देखि १४ लिटर प्रति मिनेट अक्सिजन लिएका विशेषगरी आईसीयू तथा भेन्टिलेटरमा बसेकाको एक्सरे हेर्दा छातीमा घ्यार घ्यार आवाज आउने पाइयो । हामी त्यसलाई ब्याक्टेरियल वा फंगल इन्फेक्सन हुने शंकामा भर्ना गरिरहेका छौँ,’ उनले भने । डा. विष्टका अनुसार दैनिक जस्तो स्वास्थ्य सम्बन्धी समस्या थपिँदै गएमा चिकित्सकलाई सम्पर्क गरिहाल्नुपर्छ । उनका अनुसार काममा एकाग्र हुन नसक्ने, अति नै कमजोरी तथा थकान महसुस हुने, क्वालिटी अफ लाइफमा नै परिवर्तन आइरहेको छ भने चिकित्सकको सम्पर्कमा जानुपर्दछ । ‘पोस्ट कोभिडको समस्या समाधानमा ध्यान नपुगेको देखिन्छ । पोस्ट कोभिड क्लिनिकहरु सञ्चालन गर्नुपर्छ,’ उनले भने । कसैलाई पोस्ट कोभिडका समस्या निको हुन ३ देखि ६ महिना नै लाग्न सक्ने पनि अध्ययनहरुमा देखिएको उनले बताए ।

कोरोनाले कुन अंगमा प्रभावित पार्छ ?
कोभिडले शरीरका विभिन्न अंगलाई पनि असर पार्न सक्छ । जस्तैः मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, दिमाग आदि । मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एमआईएस ) यस्तो अवस्थामा अंगहरु सुुनिन्न सक्छन् । एमआईएस–सी समस्या देखिएका बालबालिकामा ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, आँखा रातो हुने, कमजोरी महसुस हुने आदि लक्षणहरु देखिन सक्छन् । यो सामान्तया कोरोना संक्रमितको भएको २ देखि ४ हप्तापछि देखा पर्छ ।

त्यसैगरी कोरोेना संक्रमणमुक्त भइसकेका व्यक्तिमा अर्को समस्या देखिएको छ । त्यो हो ब्ल्याक फंगस । कुनै नयाँ रोग नभएपनि कोभिडका समयमा यो बढी रुपमा देखिएको समस्या हो । कोरोना निको भैसकेका तर प्रतिरोधी क्षमता कमजोर भएका, मधुमेहका रोगी र कोभिड लाग्दा अक्सिजनको मात्रा कम हुँदा स्टेरोइडजस्ता औषधि उपयोग गरेका बिरामीहरूलाई यो ढुसीले आक्रमण गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

ब्ल्याक फंगसले नाक, आँखा र अनुहारमा आक्रमण गर्नुका अतिरिक्त मस्तिष्कमा समेत क्षति पुर्‍याउन सक्छ । ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट रगत बग्ने, पिनास दुख्ने, अनुहार सुन्निने, आँखाको ढकनी सुनिने÷झुक्ने, आँखाले धमिलो देख्ने, दाँत दुख्ने/हल्लिनेजस्ता लक्षणहरु देखिन सक्छन् ।

पोस्ट कोभिड र मानसिक समस्या
मनोचिकित्सक प्राडा. सुदर्शन नरसिंह प्रधानले पोस्ट कोभिडमा धेरै मानिसमा मनोवैज्ञानिक त्रास देखिएको बताउँछन् । कोरोना संक्रमण मुक्त भएपनि संक्रमित भएको अवस्थामा आइसोलेट भएर परिवारजनसँग छुटेर बस्नुपर्दा मानिसमा डर र त्रास उत्पन्न हुने उनको भनाइ छ । उनका अनुसार नाम चलेका व्यक्तिहरुको देहावसन भएको खबरले आफू पनि मरिन्छ की भन्ने भयले मनमा सताउने त्यसमाथि आफन्तजनसँग बसेर पनि कुरा सेयर गर्न नपाउँदा मनमा डर बढ्दै जान्छ ।

संक्रमण मुक्त भएका व्यक्तिमा निद्रा नपर्ने, ढुकढुकी बढ्ने, जिउ सिरिंग भएर आउने, जिउ तातिएर आएको महसुस हुने, टाउको भारी हुने, घाँटीमा अड्केको जस्तो महसुस हुने लगायतका लक्षणहरु लिएर आउने गरेको डा प्रधानले बताए । ‘कोभिड १९ गएको छैन भनेर भ्रम भइरहेको हुन्छ मानिसमा । एन्जाइटी, प्यानिक अट्याकका लक्षणहरु प्राय जस्तो मानिसमा देखिरहेको छ,’ उनले भने, ‘डर हटाउनलाई लामो श्वासप्रश्वासका व्यायामले मद्धत पुर्‍याउँछ ।’ प्राडा. प्रधानले आइसोलेसन सेन्टरमा औषधि, अक्सिजनको व्यवस्था भए पनि मनोवैज्ञानिक परामर्शको अभाव भएको बताउँछन् ।

प्रकाशित : असार २, २०७८ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×