कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रौतहटको मौलापुरमा नगर परिषद्को विरोधमा दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

शिव पुरी

रौतहट — रौतहटको मौलापुर नगरपालिकामा बिहीबार नियमविपरीत पाँचौ नगरसभा गर्न लागेको भन्दै प्रदर्शनपछि झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले दुई दर्जन अश्रुग्यास हानेको छ । झण्डै एक घण्टासम्म दुबै पक्षबीच ढुंगा हानाहान हुँदा केही सुरक्षाकर्मी घाइते भएका छन् । 

रौतहटको मौलापुरमा नगर परिषद्को विरोधमा दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

पूर्वमन्त्री एवम् नेकपा (एमाले)का नेता प्रभु साहको प्रमुख आतिथ्यतामा सुरु भएको नगरसभा हल बाहिर कांग्रेस, माओवादी, जसपा (उपेन्द समूह) नेकपा एमाले (नेपाल) समूहले विरोध गर्न थालेपछि नगरप्रमुख रिनादेवी साह पक्षसँग झडप भएको हो । दुबै पक्षबीच भिडन्त हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको प्रमुख जिल्ला अधिकारी ईनद्रदेव यादबले बताए । ‘अहिले अवस्था सामान्य बन्दै गएको छ,’उनले भने,‘केही दिनदेखि मौलापुरमा समस्या देखिएको थियो ।’ मौलापुरमा अनियमितता बढेको भन्दै यही सोमबार कांग्रेस, एमाले (नेपाल समूह), माओवादी र जसपा (यादव समूह) मिलेर विरोध जुलुस निकाले । त्यसको ठीक एक दिन पछि बुधबार नगरप्रमुख साह पक्षले ठूलो संख्यामा समर्थकलाई सडकमा उतारेर विकास विरोधीलाई धक्का भन्दै नाराबाजी गरेका थिए ।

जालझेल गर्दै पाँचौ नगरसभा गर्न लागिएपछि विरोध गर्नुपरेको मौलापुरको १ नम्बर वडाका अध्यक्ष रामप्रवेश यादवले बताए । ‘झडपको अवस्था सिर्जना गर्ने काम नगरप्रमुख साहले नै गरेको हो,’उनले भने,‘हामीले प्रक्रिया पुर्‍याएर परिषद् गरौं भनेका हौं । तर हेपाहा, मुडेबल र जबरजस्ती नियम मिचेर परिषद् गर्न थालेपछि विरोध जनाएका हौं ।’ उनले यो परिषद् मान्य नहुने बताए ।

नगरपालिकाले भाडामा लिएको भारतीय नम्बर प्लेटका गाडीमा अनियमितता, आफ्नो मानिसलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनिमितता, धर्मशाला निर्माणमा अनियमितताजस्ता धेरै शीर्षकमा भष्ट्राचार भएको थाहा पाएपछि बाध्य भई विरोधमा उत्रनु परेको वडाअध्यक्ष यादवको भनाइ छ । यादवका अनुसार वडालाई योजनाको सिलिङ नदिने, वडाबाट योजना छनोट गर्नुपर्नेमा त्यो पनि हुन सकेन, कार्यपालिका बैठकले नगर परिषद्‌को मिति तय गर्नुपर्नेमा त्यो पनि नगरी एकलौटी ढंगले नियम मिचेर काम गर्न थाले । उनले धेरै शीर्षकहरुमा अनियमितता भएको र अब एक/एकको केलाएर हिसाब माग्ने बताए ।

एक पक्षले भष्टाचार गरेको आरोप लगाएको छ भने अर्को पक्षले विकास विरोधी भन्दै जुलुस प्रदर्शन गर्दै आएका छन् । झडपपछि पनि नगर परिषद् जारी छ ।

विकास र सत्यको लडाइँमा निरन्तर अग्रसर रहने मौलापुर नगरपालिकामा पुन: विकासको पक्षमा स्थानीयको समर्थन रहेको नगरप्रमुख साहको दाबी छ । उनले प्रक्रिया पुर्‍याएर परिषद् गरेको बताइन् । झडपपछि मौलापुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : असार १०, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?