अरूलाई जोगाए, आफू बेपत्ता

५ जनाको शव भेटियो, २० सम्पर्कविहीन
अनिश तिवारी

हेलम्बु, सिन्धुपाल्चोक — साँझ पर्न लाग्दा खेतीपाती सकेर स्थानीय घर फर्कंदै थिए । हेलम्बुको काखबाट सधैं शान्त भएर बग्ने मेलम्ची नदी असार १ गते उर्लिएसँगै धमिलो हुन थाल्यो । एकाएक नदीमा बाढी आएको खबर सुनेपछि आत्तिएका तटीय क्षेत्रका स्थानीय र रिसोर्ट व्यवसायी खैलाबैला गर्दै सुरक्षित स्थानमा भाग्न थाले । तर स्थानीय मत्स्य फार्मका व्यवसायी माछा जोगाउनतिर लागे । 

अरूलाई जोगाए, आफू बेपत्ता

हेलम्बु गाउँपालिका–२ चुरेटारका ४५ वर्षीय गणेश ज्योति पनि हेलम्बु किउल बजारस्थित माछा जोगाउन बसे । तर करोडौं लगानीको धर्तीमाता मत्स्य फार्ममा एकाएक बाढीले धमिलो बनाएर ल्याएको झारपतिंगर, काठ पन्छाइरहेका उनी खोला बढेको आवाज सुनेर भाग्न थाले । बाढीले फार्म र सबै खेत बगायो । उनी भाग्दै बजारसम्म जोड्ने गोरेटो उक्लिँदा लिन आइपुगेका छोरी र श्रीमती चित्रकुमारीलाई परैबाट हातको इशारा गर्दै भने, ‘भाग भाग, छोरी लिएर भाग ।’ हेर्दाहेर्दै खेतचौरको लेदो बाढीमा गणेश हराए । ‘हामीलाई त भगाएर बचाउनु भो, तर आफूचाहिँ बेपत्ता हुनुभयो,’ चित्रकुमारीले भक्कानिँदै भनिन्, ‘रातदिन चैन छैन । उहाँले ‘भाग भाग’ भनेको शब्द याद आइरहन्छ ।’

हिन्दु संस्कारअनुसार कुशको शवदाह गर्दै किरियाकर्म गरिरहेका उनीसहित ६५ वर्षीया आमा बेलकुमारीलाई गणेश फर्किहाल्लान् कि जस्तो लागिरहन्छ । ‘परिवारको आधारस्तम्भ उहाँ नै हुनुहुन्थ्यो, अब दुई छोरी र एक छोराको शिक्षा र भविष्य अन्योलमा छ,’ चित्रकुमारीले भनिन् ।

हेलम्बु–२ पाल्चोक शेरा गाउँका ४५ वर्षीय नीलबहादुर खड्कालाई ६६ वर्षीया आमा टीकामाया खड्काले ‘बाढी आयो पाखा लाग्नू’ भनेको अझै सम्झना आइरहन्छ । किउल क्षेत्रमै मत्स्य फार्ममा खटिरहेका खड्का बाढीले सबै बगर बनाएको खबरपछि भाग्दै घर आइपुगेर जोगिए । सबैलाई खबर दिएर बचाउने आफ्नी आमा भने बेपत्ता छिन् । फार्मभन्दा केही तलको खेत र गोठमा आमासहित दुई जनालाई बाढीले छोपेको प्रत्यक्षदर्शीले बताएको र तत्कालै खोजे पनि पत्ता नलागेपछि निराश भएर फर्केको उनले सुनाए । ‘फार्ममा काम गर्ने धेरै जना उहाँकै खबरले जोगियौं, तर आफैं बेपत्ता हुनुभयो,’ उनले भने ।

उस्तै व्यथा बेहोरिरहेका हेलम्बु–१ हल्देका ३५ वर्षीय पूर्णबहादुर तामाङ, ८० वर्षीया नोर्की तामाङको गाउँ र परिवार अहिले शोकमा डुबेको छ । ‘उनीहरूले सबैलाई खबर गरे, भागेर ज्यान जोगायौं, तर दुवै बेपत्ता भए,’ हल्देका सोर्बङ तामाङले भने, ‘दुईसहित हल्देका मात्रै आधा दर्जन मत्स्य फार्ममा काम गर्ने बेपत्ता छन् ।’

हेलम्बु–२ किउलका ३१ वर्षीय माधव भण्डारी पनि हराएका छन् । ‘भण्डारीसहित अन्यले पनि अरूलाई सूचना दिए तर आफू बेपत्ता भए, यो धेरै दुःखद भयो,’ बाढीबाट एकैछिनले बाँचेका मत्स्य व्यवसायी उत्तममणि भण्डारीले भने । अधिकांश मत्स्य फार्म व्यवसायी र अन्य स्थानीयले समयमै सूचना दिएर परिवार र अन्यलाई जोगाए पनि आफू माछा बचाउनतिर लाग्दा बाढीबाट जोगिन नसकेका हुन् ।

‘म पनि माछा जोगाउनमै लागेको थिएँ, भाग्न नसकेको भए मेरो अवस्था पनि उस्तै हुन्थ्यो,’ उनले भने, ‘बाँचे पनि मरेसरह नै भएको छु, तट क्षेत्र सबै बगर बन्यो, अर्बौंको मत्स्य फार्म विलय भयो, यत्रा मान्छे बेपत्ता छन् ।’

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार बाढीमा बेपत्ता हेलम्बुको विभिन्न वडाका १५ जनाको अवस्था बुधबारसम्म खुलेको छैन । स्थानीयबासीबोहक मेलम्ची आयोजनामा काम गर्ने दुई भारतीय, एक चिनियाँ, रुपन्देही र झापाका एक/एकसहित ५ जना हराइरहेका छन् । असार १ मा मेलम्चीमा आएको बाढीले अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । दुई चिनियाँ, एक भारतीय र पाँचपोखरी थाङपाल–२ का एक र हेलम्बु–१ हल्देका एक जनाको शव फेला परेको छ । बेपत्ताहरूको खोजीका लागि हेलम्बुदेखि मेलम्ची, काभ्रेको तटीय क्षेत्र र अन्य शंकास्पद स्थानमा प्रहरी, सशस्त्र र सेना गरी ५ सय ७१ जना सुरक्षाकर्मी खटिइरहेका एसपी अधिकारीले बताए ।

हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टिकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, चौतारा सागाचोकका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु ६ का ५० वर्षीय च्याङबा तामाङ, उनकी श्रीमती ४२ वर्षीया च्याङ, हेलम्बु–३ की साइली तामाङ, हेलम्बु–१ का सोनिल तामाङ, ३५ वर्षीय पूर्ण तामाङ, ५० वर्षीय कामी तामाङ, उनकी आमा ८० वर्षीया नोर्की, माछा फार्ममा काम गर्ने २० वर्षीया गीता थापा, उनका एक वर्षीय छोरा सुदीप र ९० वर्षीय हल्दे तामाङ बेपत्ता छन् ।

हेलम्बु बाहेकका बेपत्ता ५ मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत रुपन्देही घर भएका रेशमलाल सार्की, झापाका होमराज घिमिरे, भारतीय नागरिक विजया बासुमन्तरी, जिनडाओ बासुमन्तरी, चिनियाँ नागरिक सन यु चुवान रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?