रोल्पामा पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

घाइते तीनमध्ये दुई जनालाई हेलिकप्टरबाट बुटवल लगिँदै 
काशीराम डाँगी

रोल्पा — पहिरोले घर भत्किँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते छन् । मंगलबार राति घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका–९ ह्वामा गाउँस्थित ढाम्पा टोलस्थित स्थानीय ४० वर्षका टीकासिंह बूढामगरको घरमाथि पहिरो खस्दा टीकासिंहकी आमा ८६ वर्षकी कर्मिता, बुहारी १८ वर्षकी सुशीला र छोरी १५ वर्षकी श्यामकलाको ज्यान गएको हो । पहिरोमा परी घर भत्कँदा टीकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षका छोरा शक्तिमान घाइते भएका हुन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका टीकासिंह र उनका छोरा शक्तिमानलाई हेलिकप्टरबाट थप उपचारका लागि बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । टीकासिंहको खुट्टालगायत शरीरको धेरै भागमा गम्भीर चोट लागेको छ । उनकी पत्नीलाई सामान्य चोट लागेको घटनास्थल पुगेका डीएसपी नरेशराज सुवेदीले बताए । जिल्लामा केही दिन यता निरन्तर वर्षा भइरहेको छ ।

वर्षा भइरहेका बेला टीकासिंहको दुई तले घर भत्किएको डीएसपी सुवेदीले बताए । उनका अनुसार बिहान ४ बजे खबर पाएपछि घटनास्थल पुग्न ४ घण्टा लागेको थियो । सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर टाढा पर्ने उक्त घटनास्थल लिवनस्थित वागेश्वरी माध्यमिक विद्यालय नजिकै पर्छ । वर्षाले सडक अवरुद्ध भएकाले प्रहरी घटनास्थल हिँडेर पुग्नु परेको डीएसपी सुवेदीले बताए । घटनाको खबर पाएपछि उद्धार गर्न जुटेकाले राति १ बजेदेखि अनिदो भएको प्रजिअ सापकोटाले बताए ।

‘प्रदेश र गृह मन्त्रालयमा सम्पर्क गरेपछि उद्धार र थप उपचारका लागि हेलिकप्टर बोलाउने व्यवस्था मिलाएका छौं,’ प्रजिअ सापकोटाले भने ।

प्रकाशित : असार ९, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?