कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु भएको छ  । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ सुरु भएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सुरुमा निवेदनका पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस गरिरहेका छन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसको तयारीमा रहेका दुवै पक्षका अधिवक्ताहरूलाई समयसीमाबारे स्मरण गराए ।उनले उक्त मुद्दामा सुनुवाइका लागि १५ घण्टाभन्दा १ मिनेट पनि बढी दिन नसक्ने जनाए । ‘निवेदकका लागि हामीले अहिले १२ घण्टा राखिदिन्छौं,’ उनले भने, ‘कसले कति घण्टा बहस गर्ने हो, आफू छुट्याउनुहोला ।’

अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सहमति हुन नसके दुवै पक्षलाई आधाआधा समय छुट्ट्याउने बताए । ‘सहमति नभए सरकारी पक्षका लागि साढे ७ घण्टा र अन्य विपक्षीका कानुन व्यवसायीका लागि साढे ७ घण्टा छुट्ट्याउँछौं,’ उनले भने ।

बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ । विघटन गलत हो भनी मुद्दा हालेका देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन् । दैनिक चार घण्टा सुनुवाइ हुँदा तीन दिनमा उनीहरूको बहस सकिनेछ ।

प्रकाशित : असार ९, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?