संसद्, सरकार र पार्टी तहसनहस गरी गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । 

संसद्, सरकार र पार्टी तहसनहस गरी गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २१ र जेठ २७ गते गरिएको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गरेको उक्त अन्तरिम आदेशपछि पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

'संसद्‌मा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहनाअनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी 'नेकपा' बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्,' नेता नेपालले लेखेका छन्, 'सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक-पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन ।'

आफूहरूले गलत कार्यको खबरदारी गर्दै आएको भन्दै नेता नेपालले अगाडि लेखेका छन्, 'हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं, साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।'

प्रकाशित : असार ८, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?