१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्वास्थ्य सम्बन्धीको मौलिक हक कागजी खोस्टा बन्यो : सिटौला

अर्जुन राजवंशी

बिर्तामोड — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानमा उल्लेख गरिएको मौलिक हकअन्तर्गतको नागरिकको स्वास्थ्य सम्बन्धीको हक कागजी खोस्टा बनेको टिप्पणी गरेका छन् ।

स्वास्थ्य सम्बन्धीको मौलिक हक कागजी खोस्टा बन्यो : सिटौला

उनले स्वास्थ्य नागरिकको जीवनसँग प्रत्यक्ष र महत्वपूर्ण विषय भएकाले संविधानमा मौलिक हक अन्तर्गत उल्लेख गरेको दाबी गरे । तर, सरकारले स्वास्थ्य संकटका बेला समेत नागरिकको स्वास्थ्यतर्फ ध्यान र चासो नदिँदा स्वास्थ्य सम्बन्धिको मौलिक हक संविधानमा कागजी खोस्टाको रुपमा मात्र उल्लेख हुन पुगेको धारणा राखे ।

मंगलबार गृहनगर झापाको भद्रपुरमा जिल्लाका १० वटा स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गर्दै सिटौलाले सरकार नागरिकको स्वास्थ्य सेवामा काम गर्नबाट चुकेको दाबी गरे । ‘हामीले लामो छलफल र महत्वपूर्ण विषयको रुपमा स्वास्थ्यलाई संविधानको मौलिक हकअन्तर्गत लेख्यौं । तर, सरकारले आज संविधानको त्यो व्यवस्थालाई अलिकति पनि कार्यान्वयन गरेन’ उनले भने,‘नागरिक कोभिडले चरम स्वास्थ्य संकटमा परेको बेला समेत राज्यले यतातर्फ नजरअन्दाज गर्‍यो ।’

पूर्व मन्त्री समेत रहेका सिटौलाले जसको नेतृत्वमा सरकार भएपनि अब, गरिब विपन्न जनताले सहजै हासिल गर्न सक्नेगरी स्वास्थ्य सेवा प्रदान गर्न नसके वर्तमान व्यवस्था नै संकटमा पर्ने धारणा राखे । ‘लामो संघर्षबाट प्राप्त मुलुकको अहिलेको व्यवस्था गरिब जनताको लागि हो । त्यसैले जो नेता जुन पदमा पुगेपनि आम जनताले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकेनन् भने यो व्यवस्थालाई टिकाउन सकिदैन’ उनले भने । उनले कोभिडले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै कामहरुबारे राम्रो ज्ञान दिएको बताए । ‘कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ । अब, गाउँगाउँका स्वास्थ्य चौकीहरुको स्तरोन्नति नगरी नहुने अवस्थामा पुर्‍याएको छ’ नेता सिटौलाले भने,‘मुलुकको स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउन सरकार मात्र होइन, हामी सबै लाग्न जरुरी छ ।’

कोभिडका गम्भीर विरामीलाई आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन सिटौलाले गृहजिल्लाका ग्रामीण क्षेत्रका पालिकालाई वितरण गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमार्फत अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।

सिटौलाले जिल्लाका कचनकवल, हल्दिबारी, बाह्रदशी, बुद्धशान्ति र झापा गाउँपालिका तथा बिर्तामोड, अर्जुनधारा, गौरादह, शिवसताक्षी नगरपालिकालाई एक/एक थान र भद्रपुर नगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् । जिल्लामा कोभिड संक्रमित र मृत्यु दर अझै कम नभएकाले थप मानवीय क्षति हुन नदिन अक्सिजन मेसिन वितरण गरेको सिटौलाले बताए । नेपाल चिकित्सक संघसंगको सहकार्यमा सिटौलाले १२ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन र ५० थान पीपीई सेट गृहजिल्ला ल्याएका थिए ।

प्रकाशित : असार ८, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?