१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं महानगरपालिकाद्वारा मेलम्चीलाई २ करोड, पाँचपोखरी र हेलम्बुलाई ५०/५० लाख सहयोग

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । 

काठमाडौं महानगरपालिकाद्वारा मेलम्चीलाई २ करोड, पाँचपोखरी र हेलम्बुलाई ५०/५० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०/५० लाख रुपैयाँ सहयोग गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपत्‌का बेलामा आफूहरुले थोरै भए पनि सहयोग गरेको बताए । धेरै क्षति भएको भए पनि माया र आत्मीयताको कुनै मुल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपत्तिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताए । पानी पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिन पनि आग्रह गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपत्ग्रस्त पालिकाहरुले विपत् व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे ।

विगतमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उनले यस विपत्तिमा भने सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिए । देश विदेशबाट सहयोग गर्न चाहनेले सोही कोषमा जम्मा गर्न पनि उनले आह्वान गरे । उनले थप क्षति हुन नदिनका लागि पुनर्निर्माणको काममा लाग्ने पनि बताए ।

त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सूचना प्रवाह गरेका कारण मानवीय क्षति कम भएको उल्लेख गरे । विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उनको भनाइ छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्यूनीकरणका लागि प्रयास गरिरहेको उनले बताए ।

सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पुर्‍याएको छ । विभिन्न ठाउँबाट राहत संकलनसमेत भइरहेको छ ।

प्रकाशित : असार ८, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?