कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दोधारा-चाँदनी फेरि सडक सम्पर्कविहीन

पहुँचमार्ग बाढीले बगाएपछि पुल निर्माण नै प्रभावित
भवानी भट्ट

कञ्‍चनपुर — महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम बाँकी नै थियो । निर्माण कम्पनीले पुलको कामसंँगै डाइभर्सनहरू बनाउँदा गत वर्षदेखि नै अस्थायी रूपमा पुलमा साना तथा ठूला सवारी आवागमन सुरु भयो । जसका कारण महाकाली पारिको दोधारा–चाँदनीका बासिन्दाले सडक मार्गबाट भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको थियो ।

दोधारा-चाँदनी फेरि सडक सम्पर्कविहीन

शुक्रबारदेखि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन पुलको पहुँचमार्ग भत्काएपछि दोधारा– चाँदनी क्षेत्र फेरि सडक सञ्जालबाट सम्पर्कविच्छेद भएको छ । पैदल यात्री र दुईपांग्रे साधन झोलुंगे पुलबाट आउजाउ गर्न सकिने भए पनि अन्य सवारीसाधनको आवागमन ठप्प भएको छ ।

एम्बुलेन्स, शव वाहन, विवाहलगायत अत्यावश्यक सवारीका लागि फेरि भारतीय बाटो नै प्रयोग गर्नुपर्ने आएको छ । ‘अब एम्बुलेन्ससमेत भारतको बाटो प्रयोग गरेर आउजाउ गर्नुपर्ने बाध्यता आएको छ,’ दोधारा–चाँदनी–६ का वडाध्यक्ष दिलबहादुर सिञ्जालीले भने, ‘अब फेरि मोटरसाइकलकै भरमा झोलुंगे पुलबाटै आवागमन गर्नुपर्नेछ ।’ निर्माण सामग्री तथा अन्य मालसामानसमेत झोलुंगे पुलबाट नै ढुवानी गर्नुपर्ने भएको ।

अस्थायी रूपमै भएपछि नयाँ बन्न लागेको पुल भएर सवारीसाधन चल्न थालेपछि दोधारा–चाँदनीवासीलाई निकै सजिलो भएको थियो । ‘फेरि पुरानै अवस्था आएको छ,’ दोधारा–चाँदनी–१० की कोमल उपाध्यायले भनिन्, ‘वर्षा सुरुकै बाढीले हाम्रो बाटो बगायो ।’ पहुँचमार्ग भत्केपछि पुल निर्माणको काम पनि दुई महिना ढिला हुने निर्माण कम्पनीले जनाएको छ । भदौ अन्तिमसम्म पुलका सबै स्ल्याब ढलान गरिसक्ने योजना थियो । महाकालीमा पानीको बहाव २ लाख २३ हजार क्युसेक पुग्नेबित्तिकै पहुँचमार्ग भत्केपछि एकातिर दोधारा–चाँदनी क्षेत्र सडक सञ्जालबाट सम्पर्कविच्छेद भएको छ भने अर्कोतर्फ पुलको डिजाइन नै परिवर्तन गर्नुपर्ने चर्चा पनि सुरु भएको छ ।

पुल निर्माण स्थलमा महाकालीको चौडाइ २ किलोमिटर छ, पुलको चौडाइ ८ सय मिटर मात्रै छ । दुवै तर्फ ६/६ सय मिटर चौडाइका ठूला पोखरी निर्माण गरिनेछन् । पोखरीको बीचबाट पहुँचमार्ग बनाउनले डिजाइन छ ।

दुवैतर्फ पोखरी निर्माणका लागि २ सय ५३ किलोग्रामभन्दा बढी तौल भएका १ लाख ४३ हजार घनमिटर ढुंगा आवश्यक पर्ने पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेय बताउँछन् । ठूला ढुंगाको अभावका कारण पोखरीका लागि बाँध बनेको छैन ।

‘दुई वर्षदेखि ठूलो ढुंगाको खोजीमा छौं, प्रधानमन्त्रीसम्म पनि यो कुरा पुगिसकेको छ,’ पाण्डेयले भने, ‘तर कतैबाट पनि पहल हुन सकेको छैन ।’ उनका अनुसार पुलको डिजाइनमै ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माणका लागि ठूलो ढुंगाको प्रयोग गर्नुपर्ने उल्लेख छ । महाकालीमा सबैभन्दा ठूलो बाढी २०७० मा आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख ४१ हजार क्युसेक पुगेको थियो ।

त्यसैलाई आधार मानेर २ सय ५३ किलोग्रामभन्दा बढी तौलका ढुंगा प्रयोग गरेर बाँध निर्माण गर्ने डिजाइन तयार भएको हो । ‘अब बाँधमा डिजायन परिवर्तन गर्नुपर्ने जस्तो देखिन्छ,’ पाण्डेयले भने, ‘ठूलो ढुंगा उपलब्ध नभएपछि ग्याबिन जालीमा ढुंगा भरेर पाखरीको बाँध निर्माण गर्ने गरी डिजाइन परिवर्तन गर्नुपर्ने सोचमा छौं ।’ उनका अनुसार ठूलो ढुंगाको सट्टा ग्याबिन जालीको बाँध कमजोर हुने भएकाले नियमित मर्मत गर्नुपर्ने हुन्छ ।

अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ८ सय मिटरमध्ये २ सय ५० मिटर मात्रै खुला गरिएको छ । महाकालीको बहाव २ सय ५० मिटरमा साँगुरिएपछि पहुँच मार्गमा चाप परेको इन्जियिनर पाण्डेयले बताए । उनका अनुसार पक्की पुलले ७ लाख क्युसेकसम्मको बहाव धान्न सक्छ ।

महाकालीमा पानीको बहाव घटेपछि विस्थापित परिवार घर फर्किन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार भीमदत्त नगरपालिका ११ र १२ तथा दोधारा–चाँदनी–१० कुतियाकभरमा सबै विस्थापित घर फर्किसकेका छन् ।

आइतबार साँझदेखि नै महाकालीमा पानीको बहाव घट्दै आएको हो । सोमबार साँझको मापनमा महाकालीमा पानीको बहाव ९० हजार क्युसेक पुगेको छ । आइतबार २ लाख २३ हजार क्युसेक पानी पुगेको थियो । बाढीले जोगुबढा नदी थुनिँदा कुतियाकभरमा २४ र भीमदत्त नगरपालिका–११ र १२ का १२ परिवार विस्थापित भएका थिए ।

प्रकाशित : असार ८, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?