कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसमा नयाँ समीकरणका लागि निधिले थाले सक्रियता

निधि, कोइराला र सिंहबीच छलफल

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले सोमबार सयुक्त लञ्च बैठक गरेका छन् । कांग्रेस उपसभापति बिमलेन्द्र निधिको पहलमा उनकै निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको हो ।

कांग्रेसमा नयाँ समीकरणका लागि निधिले थाले सक्रियता

उनीहरुबीच आसन्न पार्टी महाधिवेशनदेखि नयाँ सत्ता समीकरण र आम निर्वाचनसम्मका बिषयमा छलफल भएको स्रोतले बताएको छ । संस्थापन पक्षमा रहेका निधि र इतरपक्षमा रहेका कोइराला र सिंहबीचको यो छलफललाई कांग्रेसमा नेतृत्वका लागि बिकसित भइरहेको संभावित नयाँ समीकरणको रूपमा व्याख्या गरिएको छ ।

गत शनिबारमात्रै पार्टी सभापति शेरबहादुर देउवा र निधिबीच उम्मेदवारीको बिषयलाई लिएर मनमुटाब बढेको थियो । देउवाले आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलका क्रममा सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए ।

निधिले १३ औं महाधिवेशनमा जनाएको प्रतिबद्धता र सरकारको नेतृत्वका लागि अघि बढिरहेको परिदृश्यमा सभापतिको उम्मेदवार आफूलाई बनाएर सहयोग गर्न आग्रह गरेका थिए । देउवाले आफूले नछोड्ने बताएपछि निधिले संस्थापन र इतर दुवै पक्षका नेताहसँग भावी समीकरणको बिषयलाई लिएर छलफल अघि बढाउन थालेका छन् ।

निधिले उम्मेदवारी घोषणा गरेपछि कांग्रेसमा रहेका परम्परागत गुटहरू भत्कने र नयाँ समीकरण बन्ने सम्भावना बढेको छ । सोमबारको छलफल पनि त्यसै दिशामा केन्द्रीत रहेको निधिनिकट रहेका एक केन्द्रीय सदस्यले बताए ।

यी तीन नेताबीच असार ४ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निधिको कार्यकक्षमा लामो छलफल भएको थियो । त्यही छलफलको सहमतिअनुसार सोमबार लन्च बैठकसहित कुराकानी भएको जनाइएको छ । तीन नेताले पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णपसाद सिटौलासहितका

नेतासँग समेत छलफल गरेर अघि बढ्ने जनाएका छन् । ‘अहिल्यै कस्तो समीकरण बन्ने भन्नेबारेमा कुनै समझदारी बनिसकेको छैन । छलफलकै क्रममा छौ,’ निधि निकट स्रोतले भन्यो,‘सबैसँग छलफल गरेपछि त्यसबारेमा ठोस समझदारी गर्ने प्रयत्न हुन्छ ।’ अबको बैठक क्रमश: सिंह र

कोइराला निवासमा बस्ने तय भएको छ ।

निधिले सोमबार अपरान्ह चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेलसहितका नेताहरूसँग एक पार्टी प्यालेसमा छलफल गर्ने तयारी गरेका छन् । उनले बरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्य बलबहादुर केसीसहितका नेताहरूसँग पनि छलफल गरिरहेका छन् । लामो समय देउवा कोटरीमा रहेका निधिले परम्परागत गुट भत्काएर दुवै पक्षका नेताहरूको सहयोगमा आफू अघि बढ्ने रणनीति बनाएको बताउने गरेका छन् ।

प्रकाशित : असार ७, २०७८ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?