२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महाकालीको बाढी पस्दा ३६ परिवार विस्थापित

भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर जलमग्न
भवानी भट्ट

कञ्‍चनपुर — महाकाली नदीमा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पर्दा ३६ परिवार विस्थापित भएका छन् । तटीय क्षेत्रमा रहेका भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर बस्तीमा बाढी पसेको हो । 

महाकालीको बाढी पस्दा ३६ परिवार विस्थापित

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी–१० को कुतियाकभरमा २४ परिवारले घर छाडेका छन् । बस्ती जलमग्न भएपछि घर छाडेका उनीहरूले आफन्तकहाँ आश्रय लिएका छन् ।

कुतियाकभरमा जोगबुढा नदी तटीय क्षेत्र दुवैतर्फका बस्ती डुबानमा परेका छन् । बाढी घरहरूभित्रै पसेको छ । शान्ति टोल र बैती टोल जलमग्न छन् । बाढी पसेको क्षेत्रका सबैलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । ‘शनिबार साँझदेखि नै बस्तीमा बाढी पसेको हो,’ रेडक्रस सोसाइटी दोधारा–चाँदनी उपशाखाकी सदस्य कोमल उपाध्यायले भनिन्, ‘धेरैजसोका घरभित्रै बाढी पसेको छ, उनीहरू सबै बस्ती छाडेर आफन्तकै घरमा बसेका छन् ।’

महाकाली नदीले भुजेला खोला थुनिँदा भीमदत्त नगरपालिका ११ र १२ नम्बर वडाका १२ परिवार विस्थापित भएका छन् । जोगबुढा र भुजेला महाकालीमा मिसिने सहायक खोला हुन् । महाकालीमा बाढी आएपछि दुवै सहायक खोलाले पनि तटीय क्षेत्रको बस्ती डुबाएका हुन् । ‘हामीहरू तीन दिनदेखि सडकमै बसेका छौं,’ भुजेलाको बाढी बस्ती पसेपछि घर छाडेका प्रकाश सोनाहाले भने, ‘लुगाकपडादेखि अन्नपात सबै भिजेको छ, खाने–लाउने केही छैन ।’ उनका अनुसार शुक्रबार साँझदेखि नै बस्तीमा पसेको बाढीको पानी अझै घटिसकेको छैन ।

महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँचमार्ग पनि बाढीले भत्काएको छ । पहुँचमार्ग भत्केपछि पुल निर्माणको काम ठप्प भएको छ । महाकाली पारि दोधारा–चाँदनी जान अस्थायी रूपमा प्रयोग भइरहेको बाटोसमेत अवरुद्ध भएको छ । महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयका अनुसार एक सय मिटरभन्दा बढी पहुँचमार्ग बाढीले कटान गरेको छ । ‘पुल निर्माणको काम रोकिएको छ, भदौसम्म सबै स्ल्याब हाल्ने योजना थियो,’ उनले भने, ‘अब निर्माण कार्य दुई/तीन महिना पछाडि धकेलिन्छ, बाढी कम नभएसम्म पहुँचमार्ग बनाउन सकिँदैन ।’ तत्काल पहुँचमार्ग निर्माण गरे पनि फेरि बगाउने जोखिम रहेकाले बाँध बनाएपछि मात्रै काम हुने उनले बताए ।

आइतबार दिउँसोदेखि भने महाकालीमा पानीको बहाव केही घट्न थालेको कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए । उनका अनुसार आइतबार दिउँसो १ बजे महाकालीमा जलस्तर १ लाख ८८ हजार क्युसेक थियो । महाकालीमा जलस्तर १ लाख ७५ हजार क्युसेक पुगे जोखिमपूर्ण मानिन्छ । ‘विस्थापित परिवार अझै घर फर्किन सकेका छैनन्,’ डीएसपी थापाले भने, ‘कोही आफन्तको घरमा र कोही सडकमै पाल टाँगेर बसेका छन् ।’ महाकालीमा बाढी घटेपछि अन्य खोला पनि जलस्तर कम हुने र त्यसपछि मात्रै विस्थापितहरू घर फर्किन सक्ने उनले बताए ।

प्रकाशित : असार ७, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?