१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ — निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ । 

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दलको आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएका थिए । मागदाबी आइसकेपछि आयोगले अर्को पक्षसग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपि पठाएर लिखित जवाफ माग्नुपर्ने कानुनी प्रावधान छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि छ । आधिकारिकता मागदाबी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित अयाोगमा निवेदन दिनुपर्छ । यादवले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका ३० जनाको हस्ताक्षरसहित दलको आधिकारिता आफूले पाउनुपर्ने मागदाबी गरेका छन् । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले विवाद निरूपणका लागि ऐनले तोकेको कार्यविधिअनुसारको प्रक्रिया थालनी भएको बताए ।

यसअघि गत माघमा तत्कालीन नेकपामा विवाद चुलिएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय समितिको बहुमत सदस्यको हस्ताक्षरसहित दलको अधिकारिकताको मागदाबी गर्दै आयोगमा निवेदन दिएका थिए । तर, प्रक्रियामै प्रवेश नगर्दा आयोगमाथि प्रश्न उठेको थियो । जसपामा आफूहरूको बहुमत रहेको भन्दै यादवले ऐनको दफा ४३ (ग) बमोजिम दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकताको विषयमा निर्णय गरिदिन आयोगलाई आग्रह गरेका छन् ।

ठाकुर पक्षले पाएको १५ दिनको समयमा जवाफ दिन नभ्याएर समय माग गरे आयोगले थप १० दिन दिन सक्नेछ । त्यसपछि आयोगले दुवै पक्षलाई सहमति गर्ने अवसर पनि प्रदान गर्नुपर्नेछ । यी प्रक्रियाले समय लिने भएकाले विवाद निरूपणका लागि डेढ–दुई महिना लाग्न सक्ने आयोगका अधिकारीहरूको आकलन छ ।

प्रकाशित : असार ७, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?