१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

निधिपछि संस्थापन पक्षबाट गोपालमान श्रेष्ठको पनि सभापतिमा दावी

श्रेष्ठ भन्छन्, ‘शेरबहादुरजीले काँध फेर्ने बेला आएको छ’
एकजना मात्रै उम्मेदवार बनाउने प्रयासमा संस्थापनइतर समूह

काठमाडौँ — कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती दिँदै आफू सभापति उम्मेदवार बन्ने औपचारिकरूपमा बताएको भोलिपल्ट आइतबार संस्थापन पक्षका अर्का नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा दावी गरेका छन् ।  

निधिपछि संस्थापन पक्षबाट गोपालमान श्रेष्ठको पनि सभापतिमा दावी

पटकपट प्रधानमन्त्री र पार्टी सभापतिमा परीक्षण भइसकेका देउवाले ‘काँध फेर्ने’ बेला आएको भन्दै श्रेष्ठले संस्थापन पक्षमा देउवापछिको उत्तराधिकारी आफू भएको दावीसहित नेतृत्वको चाहना प्रकट गरेका हुन् । सभापतिमा देउवाले दावी छाड्नुपर्ने र आफूलाई अघि बढाउनु पर्ने श्रेष्ठले बताए । शनिबार प्रदेश २ का संस्थापन पक्षीय नेतासँगको छलफलमा उपसभापति बिमलेन्द्र निधिले नेतृत्वको दावा राख्दै देउवालाई प्रधानमन्त्री भएर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए ।

देउवा आफैंले सभापतिको उम्मेदवारी घोषणा गर्ने जानकारी पाएपछि श्रेष्ठ आइतबार देउवाले बोलाएको वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँगको छलफलमा उपस्थित नै भएनन् । देउवाले पटक–पटक फोन गर्दा उनको मोबाइल अफ थियो ।

देउवाले फेरि सभापतिको उम्मेदवारी घोषणा गर्न डाकिएको जानकारी भएपछि आफू नगएको श्रेष्ठले कान्तिपुरसँग बताए । ‘शेरबहादुरजीले सभापतिको उम्मेदवारी घोषणा गर्नकै लागि बैठक राख्नु भएको रहेछ । हिजो (शनिबार) बिमलजीले पनि आफू सभापतिको उम्मदवार रहेको भनेर दावी राख्नुभयो । मैले ६ महिनाअघि नै सभापतिजीलाई भेटेरै अब मलाई सहयोग गर्नुहोस् भनेको छु । अहिले त्यही कुरा राख्न किन जाउँ भनेर म गइनँ ।’

पार्टी विभाजित भई देउवा नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन भएपछि श्रेष्ठले लामो समय कार्यबाहक सभापति भएर काम गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले देउवा नेतृत्वको सरकारलाई अपदस्थ गरी शासन आफ्नो हातमा लिएपछि देउवा जेलमा थिए । राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचारको आरोपमा देउवालाई जेलमा राखेको थियो । त्यो कालखण्डमा श्रेष्ठले देउवाको उत्तराधिकारीको रुपमा पार्टीको मोर्चा सम्हालेका थिए ।

‘पार्टीको एघारौं महाधिवेशनका बेला जेलमा रहेका देउवाजीलाई निर्विरोध सभापति बनाउन कार्यबाहक सभापतिको रुपमा मेरो भूमिका रह्यो । त्यसपछि पनि निरन्तर म उहाँसँगै छु । तर अब शेरबहादुरजीले काँध फेर्ने बेला भयो । बरु प्रधानमन्त्री बन्न सक्नुहुन्छ । त्यसमा हाम्रो साथ सहयोग छ । उहाँको (देउवा) टिमको दोस्रो नेता मै भएकाले पार्टी सभापतिमा मलाई सहयोग गर्नुपर्छ भनेर भन्दै आएको छु,’ श्रेष्ठले भने,‘फेरि आफैं सभापतिका लागि उम्मेदवारको घोषणा गर्न लाग्नु भएको जानकारी पाएपछि आइतबारको बैठकमा म नगएको हो ।’

१३ औं महाधिवेशनमा आफ्नो समूहलाई एकगठ बनाएका देउवाका लागि १४ औं महाधिवेशन सहज देखिएको छैन । त्यही बुझेर वागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँगको छलफलमा अधिकांशले देउवालाई आफ्नै समूहलाई एकगठ बनाउन सुझाएका छन् । एकगठ बनाउन नसकेमा संस्थापनपक्षमा पहिरो जाने विश्लेषण उनीहरुको थियो ।

अनौपचारिक तहमा उम्मेदवारको तयारी गर्दै आएका देउवाले शनिबारदेखि खुलेरै आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । सातै प्रदेशका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल सकेपछि देउवाले आफ्नो अभियानलाई अघि बढाउने भएका छन् । ‘मैले अहिल्यै उम्मेदवारी घोषणा नगरौं कि भन्ने पनि लागेको थियो । तर, बाहिर धेरै साथीहरूलाई उठ्ने हो कि होइन भन्ने शंका भएछ । त्यही शंका मेट्न पनि मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको हुँ,’ आइतबारको बैठकमा देउवाको भनाई उत्धृत गर्दै सहभागी एक केन्द्रीय सदस्यले भने,‘जति प्रतिस्पर्धी भए पनि उहाँले आफैं लड्ने मनस्थिति बनाउनु भएको छ ।’

देउवाले उम्मेदवारी घोषणा गरेपछि त्यसको पराकम्प संस्थापनइतर पक्षमा पनि परेको छ । संस्थापइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल आफैं अघि बढेर देउवालाई टक्कर दिने योजनामा छन् । तर, पौडेल यो समूहमा पनि पौडेल एकल प्रत्याशी छैनन् । संस्थापनइतरपक्षमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाले पनि नेतृत्वमा इच्छा जाहेर गरेका छन् ।

संस्थापन इतरपक्षमा नै धेरै उम्मेदवार बन्दा त्यसको लाभ देउवालाई हुने भन्दै समूहबाट एकजनामात्रै उम्मेदवार बनाउन प्रयास भइरहेको नेता अर्जुननरसिंह केसीले बताए ।

‘सभापतिजीले उम्मेदवारी घोषणा गरेर छलफल गर्नु भएको जानकारी हामीलाई पनि भएको छ । हाम्रो पक्षको छलफल पनि अब हुन्छ । धेरै साथीहरु नेतृत्वमा आउने चाहना राखेर तयारी गरिरहनु भएको छ, सबैलाई मिलाएर एकमात्रै उम्मेदवार बनाउने हाम्रो प्रयास जारी छ,’ केसीले भने ।

नेतृत्वका आंकाक्षी शेखर कोइरालाले पौडलले अभिभावकको भूमिका निर्वाह गरेमा संस्थापनइतर पक्षमा सर्वसम्मत हुने वातावरण बन्ने बताए । ‘एउटामात्रै उम्मेदवार हुने कि नहुने भन्ने रामचन्द्रजीमा निर्भर छ । उहाँ सिनियर नेता हो । यस हिसाबले शेरबहादुरजीलाई हराउन म नै सक्छु भन्ने लागेको छ । यो स्वभाविक पनि हो । बिमलेन्द्रजीको उम्मदेवारी दिने निर्णयले झनै आशा पलाएको पनि होला,’ कोइरालाले भने,‘स्थिति उहाँले (पौडेल) सोचे जस्तो छैन ।’ कोइरालाले पनि संस्थापनइतर पक्षबाट एकमात्रै उम्मेदवार बनाउने कोसिस हुने बताए ।

तेस्रो धारको नेतृत्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको भूमिका भने अझै प्रष्ट छैन । १३ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा देउवालाई सहयोग गरेक थिए । उनीनिकट नेताहरूका अनुसार आफैं नेतृत्वका लागि अघि सर्ने वा कसैलाई सहयोग गर्ने भन्नेमा सिटौला प्रष्ट छैनन् । ७४ को आमनिर्वाचनको परिणामपछि देउवासँग असन्तुष्ट भएर सिटौलाले संस्थापन कित्ता छाडेका थिए । पछिल्लोपटक देउवा र सिटौलाबीचको सम्बन्ध सुधार भएको सिटौलानिकट एक केन्द्रीय सदस्यले बताए । देउवाले पनि उपसभापति निधिको क्षतिपुर्तीस्वरुप सिटौलालाई आफ्नो समूहमा ल्याउने कोसिस गरेका छन् । तर, देउवासमूहमा गएको खण्डमा सिटौलाले आफूलाई साथ दिँदै आएका युवा नेता गगन थापा र प्रदीप पौडेललाई गुमाउनु पर्ने हुन्छ । थापा र पौडेलले देउवा समूहमा आफूहरु जान नसक्ने जानकारी सिटौलालाई गराइसकेका छन् ।

प्रकाशित : असार ६, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?