३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिनियाँ पक्षले रोङ्सीमा जमेको ताल खुलायो

‘चिनियाँ टोलीले तालबाट सुरक्षित रूपमा पानीलाई निकास दिएकाले तत्काललाई तामाकोसी तटीय क्षेत्रमा संकट टरेको छ’
केदार शिवाकोटी

दोलखा — पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको तालबाट पानीको निकास गराउन चिनियाँ पक्ष सफल भएको छ । शुक्रबार राति चीनको तीङग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि पानीको निकास दिइएको हो । 

चिनियाँ पक्षले रोङ्सीमा जमेको ताल खुलायो

ताल बनेको रोङसी खोलाबाट चिनियाँ टोलीले सुरक्षित रूपमा पानीको निकास गराएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । पहिरोले थुनिएको तालमा एक लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको उनले जानकारी दिएका छन् । सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए ।

‘एकै पटकमा ताल फुटाए तामाकोसी नदीमा पानी बहाव उच्च हुने र ठूलो संकट आउन सक्ने थियो,’ उनले भने ‘चिनियाँ टोलीलाई पटकपटको आग्रहमा उनीहरुले तालबाट सुरक्षित रुपमा पानीलाई निकास दिएका छन् ।’ तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको घिमिरेले बताए ।

माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भने उनले आग्रह गरेका छन् । रोङसीको निकासपछि तामाकोसी बहावमा केही उतारचढाव आएको छ । तामाकोसीको बहाव घटने र बढ्ने भइरहेको माथिल्लो तामाकोसी आयोजनाका आयोजना वरिष्ठ इन्जिनियर विमल गुरुङले बताए । यद्यपि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आइतबार बिहानैबाट चिनियाँ पक्षले तालबाट पानीको निकास दिने गरी काम थालेको थियो ।

ताल फुटाउने कि न फुटाउने भन्नेमा चिनियाँ पक्ष अन्योलमा परेको थियो । सुरक्षित रुपमा थुनिएको खोलालाई निकास दिइएको चिनियाँ पक्षले जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । ‘तत्कालका लागि संकट टरेको छ,’ उनले भने, ‘तर तटीय क्षेत्रका बासिन्दालाई पानीको बहाव घटबढ भइरहने हुँदा सतर्कता अपनाउन भनेका छौं ।’ नदी तटीय क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानमा हुन माइकिङ गरिएको छ ।

प्रकाशित : असार ६, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?