कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

देउवा फेरि सभापतिमा उठ्ने

प्रदेश १ र प्रदेश २ का संस्थापन पक्षीय केन्द्रीय पदाधिकारी तथा सदस्यसँग छलफल गरेका देउवाले अरु प्रदेशकासँग पनि भेटघाट गर्दै 

काठमाडौँ — भदौमा पार्टी महाधिवेशन हुने भएपछि कांग्रेसमा नेतृत्वका आकांक्षी तातिन थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा दुईदिने केन्द्रीय कार्यसमिति बैठक सकिनासाथ प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा जुटेका छन् ।

देउवा फेरि सभापतिमा उठ्ने

उनले शनिबार प्रदेश १ र प्रदेश २ का संस्थापनपक्षीय केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बोलाएरै सभापतिमा आफ्नो प्रतिस्पर्धा हुने बताउँदै सहयोग गर्न आग्रह गरेका छन् । आइतबार वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग परामर्श गर्ने तयारी छ । सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग एकसरो कुराकानी गरेपछि देउवाले आफ्नो प्रतिस्पर्धाको औपचारिक तयारी अघि बढाउने भएका छन् ।

संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले प्रतिस्पर्धाको तयारी अघि बढाएका छन्, जसले देउवालाई चुनौती खडा गरेको छ । निधिले शनिबारको बैठकमा देउवालाई पार्टी सभापति नभई प्रधानमन्त्रीका लागि अघि बढ्न प्रस्ताव गरेका थिए । ‘तपाईं प्रधानमन्त्री हुनुहोस्, तपाईंको समर्थनबाट मलाई पार्टी सभापतिमा अघि बढाउनुहोस्,’ उनको भनाइ उद्धृत गर्दै देउवा निकट स्रोतले भन्यो, ‘यस पटक म उम्मेदवार हुन्छु ।’ देउवाले ‘मै प्रतिस्पर्धा गर्छु, तपार्इं लड्ने भए तपाईंलाई पनि अधिकार छ, लड्नुहोस्’ भनेर जवाफ दिएका थिए । निधिले ‘सभापति लड्नका लागि मात्रै नभई लामो समयदेखि सहयोग र समर्थन गर्दै आएकाले आफूले समर्थन खोज्ने अधिकार सुरक्षित भएको बताएका थिए ।

१४ औं महाधिवेशनमा आफूलाई सघाउने बचन अघिल्लो महाधिवेशनकै बेला देउवाबाट आएको निधिले धेरैअघिदेखि नै बताउँदै आफ्नो उम्मेदवारीको तयारी गरिरहेका छन् । उनले यसअघि पनि देउवालाई भेटर आफू उम्मेदवार हुन चाहेकाले सहयोग गर्न आग्रह गरेका थिए । आमन्ने–सामन्नेमा आ–आफ्नो दाबी राखिएको भने यो पहिलोपल्ट हो । सकेसम्म देउवालाई विश्राम लिन लगाएर उनकै समर्थनमा अघि बढ्ने, नभए आफ्नो छुट्टै टिम बनाएर जाने निधिको तयारी छ । ‘देउवा र निधिबीच एक प्रकारको विश्वास टुटिसकेको छ,’ देउवानिकट नेताहरू भन्छन्, ‘पछिल्लो पटकको राजनीतिक घटनाक्रम र सरकार निर्माणका पहलकदमीमा देउवाले निधिलाई अघि सारेका छैनन् । शनिबार दुवैले गरेको उम्मेदवारी दाबीले पनि देउवा–निधिबीचको सम्बन्धमा दरार आएको बुझ्न सकिन्छ ।’

प्रदेश २ अघि प्रदेश १ का केन्द्रीय सदस्यहरूसँग भएका छलफलमा निधिको उम्मेदवारीको तयारीलाई महत्त्वका साथ विश्लेषण गरिएको थियो । संस्थापन पक्षबाट एउटै उम्मेदवार बनाउन पहल गर्न देउवालाई धेरैजसो सदस्यले सुझाएका थिए । कतिपयले सर्वसम्मतिमा नेतृत्व चयनको पहल थाल्नसमेत भनेका थिए । निधिको उम्मेदवारीलाई केही सदस्यले ‘बार्गेनिङ कार्ड’ का रूपमा हेरेका थिए । तर, निधिले आफू उम्मदेवारीको तयारीबाट पछि नहट्ने बताउँदै आएका छन् । उनी पछिल्लो समय आफ्नो टिमको गृहकार्यमा समेत अघि बढेका छन् ।

संस्थापनइतर पक्षबाट देउवासँग भिड्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित करिव आधा दर्जन आकांक्षी देखिएका छन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले धेरैअघिदेखि नेतृत्वको दौडधुप गरिरहेका छन् । तेस्रो धारको नेतृत्वमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने आफैं अघि बढ्ने वा कसको कित्तामा जाने भन्ने टुंगो लगाउन सकेका छैनन् । पार्टी नेतृत्वका लागि प्रतिस्पर्धी भएका देउवालाई राष्ट्रिय राजनीतिमा भने साथ लिएर अघि बढ्नुपर्ने बाध्यतामा पौडेल–सिटौला छन् । देउवालाई प्रधानमन्त्री बनाउन पौडेल र सिटौला यतिबेला सबैभन्दा बढी सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बहिर्गमन गराउन अरू विकल्पले पार नलाग्ने भएपछि देउवालाई अघि सार्नुपर्ने बाध्यतामा उनीहरू पुगेका हुन् ।

देउवा प्रधानमन्त्री बन्ने/नबन्ने भन्ने विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । नेतृत्वको सार्वजनिक छवि र जनमत गुमाउँदै गएका देउवालाई प्रधानमन्त्री बनेर महाधिवेशनमा जाँदा सबैभन्दा बढी लाभ मिल्नेछ । यो बुझ्दाबुझ्दै देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यतामा होमिएका पौडेलका लागि महाधिवेशन झनै पेचिलो र चुनौतीपूर्ण छ । प्रधानमन्त्री बनेर महाधिवेशनमा जाँदा देउवाले आफ्ना लागि धेरै अनुकूल हुने बाटो देखेका छन् । त्यसैले अदालतमा विचाराधीन मुद्दाप्रति नै उनको ध्यान केन्द्रित भइरहेको उनीनिकट नेताहरू बताउँछन् ।

पौडेल पनि नेतृत्वमा नछाड्ने मनस्थितिमा छन् । कोइराला दाजुभाइ र सिंह आपसमा मिल्न नसक्ने र पछि उनीहरू आफूलाई नै सहयोग गर्ने ठाउँमा आउने बुझाइ पौडेलको छ । दोस्रो पुस्ताका आकांक्षीहरू पनि स्वास्थ्य र क्रियाशीलताको हिसाबले यसैपटक नेतृत्वका लागि अघि बढ्नुपर्छ भन्ने दबाबमा देखिन्छ । युवापुस्ताबाट कल्याण गुरुङले पनि आफू उम्मेदवार हुने घोषणा गरेका छन् ।

कोरोना महामारी, बाढीपहिरो र राष्ट्रिय राजनीतिमा देखा परेको संकटका कारण भदौमा महाधिवेशन गराउन कांग्रेसलाई चुनौतीपूर्ण छ । क्रियाशील सदस्यताको टुंगो लगाउने काम त्यति सहज छैन । आफ्ना लागि अनुकूल परिस्थिति कुर्दाकुर्दै देउवालाई यी सबै प्रतिकूल परिस्थितिका बीच महाधिवेशन गराउने दायित्वबाट पछि हट्ने सुविधा भने छैन । भदौमा महाधिवेशन भएन भने कांग्रेसलाई संवैधानिक रूपमै पार्टीको वैधानिकता जोगाउन समस्या पर्छ । महामन्त्री पूर्णबहादुर खड्काले भदौभित्र महाधिवेशन गर्नुको विकल्प नभएको बताए । ‘पार्टीको महाधिवेशन सभापति, वरिष्ठ नेता वा कुनै पदाधिकारीको मात्रै होइन, यो त कांग्रेसको महायज्ञ हो,’ उनले भने ।

प्रकाशित : असार ६, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?