१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नदीहरू थुनिँदा तटीय क्षेत्रमा त्रास

आश गुरुङ

लमजुङ/दोलखा — मंगलबार बिहानै मर्स्याङ्दीको बाढीले घर छुन थालेपछि मनाङको चामे गाउँपालिका–५ पारि चामेकी मेलिना गुरुङ हतार–हतार भाग्न भ्याइन् । उनीसँगै ज्यान जोगाएर भागेका छिमेकी ५ जनाको परिवारको तलेखुमा बास छ । शनिबार पनि बाढी उर्लिएपछि उनको मनमा चिसो पस्यो । शनिबार चामेदेखि माथिल्लो क्षेत्रमा मर्स्याङ्दी घरी थुनिने, घरी बग्ने गरेको छ । 

नदीहरू थुनिँदा तटीय क्षेत्रमा त्रास

चामेका सबै घर जोखिममा परेपछि मेलिनाका ३ दिदीबहिनी माडास्थित कारागारको भवनमा बसेका छन् । ‘दिदीबैनी उता, म यता । घरमात्रै उभिएको छ । अरू केही छैन । साह्रै गाह्रो भो,’ उनले भनिन् । नासोंमा उनका दाइ तुलसी गुरुङको घर पनि बगाएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले मर्स्याङ्दी बढेर आएमा फेरि घर बगाउने जोखिम रहेको बताए । ‘मर्स्याङ्दी थुनिने र बाढी ह्वात्तै आउने समस्या छ । पानी रोकिएको छैन,’ उनले भने ।

मर्स्याङ्दीमा बाढी आउँदा नासों गाउँपालिका–१ का ५५ घर पूरै डुबानमा छन् । बाढीले धारापानीमा एक दर्जन र चामेमा पाँच घर बगाएको छ भने पाँच घर डुबानमा छन् । बाढीमा जलविद्युत्, बेलिब्रिज र पुल पनि बगेका छन् । डीएसपी सुवास खड्काले मनाङ ङिस्याङ गाउँपालिकास्थित हुम्डेमा शनिबार मर्स्याङ्दी नदी आधा घण्टा थुनिएको बताए ।

हुम्डे विमानस्थलको उत्तरी छेउदेखि डेढ सय मिटरमाथि रहेको थुम्का खसेपछि मर्स्याङ्दी थुनिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले ढुंगा बिछ्याएर बनाएको सडक माथिबाट भासिएर १ सय मिटर तल खसेको बताए । ‘सडक भासिएर मर्स्याङ्दीमा पहिरो खस्यो,’ उनले भने, ‘केहीबेर थुनिने, बाढीले नै खुलाउने र फेरि केहीबेर थुनिने गर्दागर्दै दायाँपट्टि च्याप्दै मर्स्याङ्दी बग्न थालेको छ । दायाँबाट भने पहिरो खसिरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले चामेमा घट्टेखोलाको बाढीले ढुंगामुढा बगाएर केही समथर भागमा थुपारेपछि बाढीले तालको रूप लिएको बताए । ‘पानी निरन्तर परिरहेको छ । माथिल्लो क्षेत्रमा पानी पर्नाले पहिरो खसेर थुनिने र बग्ने समस्याले झन् जोखिम बढायो,’ उनले भने । सुरक्षाकर्मीले छेउमा रहेको मुढा हटाउने प्रयास गरे पनि सम्भव नभएको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीले बताए ।


यसैबीच, मर्स्याङ्दी नदीको तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । हुम्डेमा मर्स्याङ्दी थुनिएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबार साँझ सूचना जारी गर्दै गोरखाको मर्स्याङ्दी नदीको तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरेको हो । थुनिएको मर्स्याङ्दी खुल्दै जाँदा बहाव बढ्दै गएको जानकारी प्राप्त भएकाले जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सचेत रहन भनिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए ।

मर्स्याङ्दीको माथिल्लो क्षेत्रमा वर्षाका कारण बाढी आउने, पहिरोले ढुंगा, माटो तथा रूखले नदी थुनिने, ताल बन्ने र खोलिने क्रम केही दिन जारी रहन सक्ने भन्दै सम्भावित जोखिमबाट बच्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको हो ।

रोङ्सीको बहाव सहज बनाउने प्रयास

चीनमा रोङ्सी खोलाको बहाव पहिरोले थुनिएर बनेको ताल फुटे तामाकोसीमा बाढी आउन सक्ने भन्दै दोलखा, रामेछाप र सिन्धुलीका तटीय क्षेत्रमा उच्च सतर्कता छ । रोङ्सी चीनबाट बगेर दोलखाको लप्ची उपत्यकामा आई तामाकोसीमा मिसिन्छ । चीनमा भएको भारी वर्षापछि उर्लिएको सहायक खोला थुनिनु तामाकोसीमा बाढी आउने संकेत भन्दै तीन जिल्लाका प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराएका हुन् ।

रोङ्सी थुनिएर ताल बनेको छ । पानी ओभरफ्लो हुन थालेपछि तामाकोसीको जलस्तर क्रमिक बढेको छ । रोङ्सीको बहाव सहज बनाउन ताल फुटाउन चिनियाँ टोलीले प्रयास गरिरहेको छ । सीमावर्ती चीनको तिङग्री काउन्टी सीमा जोडिएको लप्ची (६० र ६१ नम्बर सीमास्तम्भ) नजिकै पहिरो गएर रोङ्सी खोला थुनिएको हो ।

निकास खुलाउन शनिबार बिहानै उक्त क्षेत्रमा पुगेको चिनियाँ टोलीले प्रयास गरिरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘पहिरोले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको पनि खबर आएको छ । चिनियाँ टोलीले निकास खुलाउने प्रयास गरिरहेको छ तर खुलिसकेको छैन,’ उनले भने ।

तिङ्ग्री काउन्टीको रोङ्सी गाउँमा पहिरोले बस्ती पुरिएको जानकारी आएपछि चिनियाँ सुरक्षाकर्मीको टोली शुक्रबार उक्त क्षेत्र गएको थियो । उक्त गाउँ हेर्न गएको टोलीले नै खोला थुनिएर ताल बनेको देखेको हो । तामाकोसीमा सम्भावित बाढीबारे चिनियाँ पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको हो । रोङ्सी गाउँमा पहिरो एक दर्जन घर पुरिएका छन् । पहिरोले खोलामा अवरोध भएको शुक्रबार नै अनुमान गरिए पनि शनिबार बिहान ३ बजेमात्रै थुनिएको यकिन भएको थियो ।

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर फुटाउने काम भइरहेको जानकारी आएको प्रजिअ घिमिरेले बताए । तामाकोसीमा मिसिने सहायक आठ खोलानालामध्ये रोङ्सी सबैभन्दा ठूलो हो । नेपालतर्फ करिब ७५ किलोमिटर लामो तामाकोसीको तटीय क्षेत्रमा दोलखा, रामेछाप र सिन्धुलीका धेरैवटा बस्ती र बजार पर्छन् । रामेछाप सदरमुकाम र विमानस्थल किनारमै छ । तामाकोसीमा जलविद्युत् आयोजना पनि छ । सिन्धुलीको खुर्कोटनजिक तामाकोसी र सुनकोसी दोभान छ । इन्द्रावती, तामाकोसी, भोटकोसी सबै सुनकोसी नदीमा मिसिएर सप्तकोसीमा पुग्छन् ।

रोङ्सी खोलाको बहावलाई सामान्य अवस्थामा ल्याउन समय लाग्ने भएकाले तामाकोसी तटीय क्षेत्रमा जोखिम कायमै रहेको प्रजिअ घिमिरेले बताए । ‘सुरक्षित ढंगले ताल फुटाउने प्रयास भइरहेको खबर आएको छ । कति समय लाग्छ भन्ने टुंगो छैन,’ उनले भने । बाढी आउन सक्ने आकलनमा नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि तामाकोसी जलविद्युत् आयोजनाको जलाशय घटाइएको छ । तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटर रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । तामाकोसीमा प्रतिसेकेन्ड ६ सय घनमिटर बाढीको बहाव आए पनि ३ सय नदीमा छोडेर ३ सय आयोजनाको बाँधमा पठाउदा जलाशयले डेढ घण्टा रोक्न सक्नेछ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निर्माण गरिएको छ । शनिबार साँझबाट तामाकोसीको जलस्तर क्रमिक बढिरहेको तटीय क्षेत्रका बासिन्दाले बताएका छन् ।

मध्यरातमा माइकिङ

शुक्रबार मध्यरात रामेछाप सदरमुकाममा प्रहरीले माइकिङ गर्दै तामाकोसीमा बाढी आउन सक्ने सूचना गर्‍यो । मस्त निद्रामा रहेका स्थानीयवासी उक्त सूचनापछि डरले निदाएनन् । रोङ्सी खोला पहिरोले थुनिएको खबर पाएपछि स्थानीय प्रशासनले राति पौने १० बजेपछि तामाकोसी किनारका बासिन्दालाई उच्च सतर्कता प्रहरीले माइकिङ गरेको थियो । ‘मस्त निद्रामा थियौं, प्रहरीले माइकिङ गरेपछि अहिले नै आइहाल्छ कि जस्तो भयो,’ मन्थली–२ गडुवारीका शंकर माझीले भने, ‘नदी हेर्दै रात कट्यो ।’

गडुवारी र आकाशे गरी तामाकोसी किनारमा झन्डै ३ सय परिवारको बाक्लो बस्ती छ । त्यसबाहेक गाईखुरा, मन्थलीघाट, कुनाउरी, हात्तीटार, मसानटार, देवीटार, भटौली, रजगाउ खल्लेरी, हलेदे, पन्थली, अब्बासबेंसी, खिम्ती र जुजारबेंसीलगायतका बस्ती नदी किनारमै छन् । तामाकोसीको सतह बढ्दा यी सबै बस्ती डुबानमा पर्ने जोखिम छ ।

खिम्तीदेखि मन्थलीसम्मका नदी किनारका बासिन्दा शनिबार पनि तामाकोसीको बाढी नियालिरहेका थिए । ‘अब रात परेर घरभित्र पस्ने बेला भयो कतै बाढी ह्वात्तै आयो भने के गर्ने होला ?,’ देवीटारका विकास मगरले भने, ‘सरकारले के सूचना कतिबेला दिन्छ र भाग्नुपर्ने हो भनेर मनैदेखि त्रासदीमा छौं ।’

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले तामाकोसीलगायत लिखु र सुनकोसीमा बहाव उच्च हुने सम्भावना रहेकाले सतर्कता अपनाउन शनिबार सूचना जारी गरेका छन् । रामेछापको सिमानामा पूर्वतर्फ लिखु र पश्चिम तथा दक्षिणमा सुनकोसी नदी छ । सिन्धुपाल्चोकको बाढीका कारण रामेछापका दक्षिणी पश्चिमी क्षेत्रसमेत उच्च जोखिम छ ।

सिन्धुपाल्चोकमा इन्द्रावतीको बाढी र रोङ्सी खोला चीनतिर थुनिएको खबरले सुनकोसी नदी किनारमा पनि स्थानीयमा त्रास छ । सिन्धुलीको गोलन्जोर–७ खुर्कोट बसपार्कका बासिन्दा डराएका छन् । खुर्कोट बजारभन्दा एक किलोमिटर माथि तामाकोसी र सुनकोसी दोभान छ । इन्द्रावती, तामाकोसी, भोटकोसी सबै सुनकोसी नदीमा मिसिने भएकाले कुन बेला कताबाट बाढी आउँछ भन्ने त्रासमा बस्नुपरेको स्थानीय बताउँछन् ।

यसअघि सिन्धुपाल्चोकको जुरे पहिरोले सुनकोसी नदी थुनिँदा बसपार्क बजार बगाउने डरले खाली गरिएको थियो । ‘सिन्धुपाल्चोकको बाढीले तहसनहस बनाएको खबरले त्रसित बनाएको थियो । फेरि चीनतिरबाट तामाकोसी हुँदै बाढी आउने भन्ने सुनिएको छ,’ बसपार्क बजारमा पसल गर्दै आएकी मुना श्रेष्ठले भनिन्, ‘सुनकोसी नजिकै भएकाले जुनसुकै बेला बजारमा पस्न सक्छ, हामी जाग्राम बस्छौं ।’ बजार सुनकोसी तटको तीन/चार मिटरमात्र उचाइमा छ । तामाकोसीको अवस्था हेरेर सबैलाइ सतर्क रहन अपिल गरिएको गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले बताए । ‘नदी किनारका सबैलाई सचेत रहन खबर गरिएको छ, बाढी बढ्दै गएमा उद्धार गर्न हामी तयार बसेका छौं,’ उनले भने । सुनकोसी गाउँपालिकाको नेपालथोक, झाँगाझोली रातमाटा, चैनपुर, खाल्टे, मुलकोट, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, बितिजोर, मुर्कीबेंसी, डाँडभन्ज्याङ र फिक्कल गाउँपालिकाको खाङसाङ, रत्नावतीलगायतका बस्ती सुनकोसी तटमा पर्छन् ।

साथमा टीकाप्रसाद भट्ट (रामेछाप) र राजकुमार कार्की (सिन्धुली)

प्रकाशित : असार ६, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?