कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निधिलाई देउवाले भने, 'सभापतिमा म अघि बढिसकें, तपाईं पनि लड्ने भए लड्नुस् तर म छोड्दिनँ'

सभापति उम्मेदवार बन्न संस्थापनमै देउवा र निधिको टक्कर

काठमाडौँ — आगामी महाधिवेशनमा संस्थाप पक्षबाट पार्टी सभापतिको उम्मेदवार को बन्ने भन्नेमा सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधिबीच टक्कर बढेको छ ।

निधिलाई देउवाले भने, 'सभापतिमा म अघि बढिसकें, तपाईं पनि लड्ने भए लड्नुस् तर म छोड्दिनँ'

सभापति देउवाले शनिबार प्रदेश २ अन्तर्गत रहेका पार्टीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँगको बैठकमा उपसभापति बिमलेन्द्र निधिले देउवालाई सभापतिको उम्मेदवार नभई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

उनले सभापतिमा आफूले प्रतिस्पर्धा गर्ने बताउँदै त्यसका लागि समर्थन जनाउन देउवासँग आग्रह गरेका हुन् । देउवाले आफूनिकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर १४ औं महाधिवेशनमा आफैं सभापतिका लागि प्रतिस्पर्धा गर्ने भएकाले सहयोग गर्न आग्रह गरेपछि निधिले त्यस्तो प्रस्ताव अघि सारेका थिए । तर, देउवाले देउवाले निधिको प्रस्ताव अस्वीकार गर्दै आफैं अघि बढ्ने बताए ।

शनिबारको बैठकमा सहभागी एक नेताका अनुसार आफू पछि नहट्ने बताउदै देउवाले बरु दुवैजना उम्मेदवार हुनसक्ने बताएका थिए । ‘सभापतिका लागि मै लड्ने हो, तपाईलाई पनि अधिकार छ, लड्नुहोस्,’ देउवाको भनाई उत्धृत गर्दै ती नेताले भने । यसको जवाफमा निधिले आफूले लामो समयदेखि देउवालाई सहयोग र समर्थन गरेकाले सभापति लड्नमात्रै नभई समर्थन माग्ने अधिकारसमेत रहेको बताएका थिए ।

निधिले यसअघि पनि सभापति देउवालाई भेटेरै आफूले सभापतिमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका थिए । तर, अहिलेको जस्तो दुवैबाट औपचारिक दावी प्रस्तुत भएको थिएन ।

२ नम्वर प्रदेशअघि १ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूसँग पनि देउवाले आफू उम्मेदवार हुने घोषणा गर्दै सहयोगको आग्रह गरेका थिए । केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, सीता गुरुङ्गलगायतका केही नेताहरुले संस्थापनपक्षबाट दुईजना उम्मेदवार हुनु राम्रो संकेत नभएको बताउँदै निधिलाई मिलाउन आग्रह गरेका थिए । त्यतिबेला देउवाले निधि उम्मेदवार भएर छाड्ने भएकाले कुराकानी गर्नुको अर्थ नहुने आसयको भनाई राखेका थिए ।

निधिले उम्मेदवारीको तयारी अघि बढाएदेखि नै देउवा उनीप्रति असन्तुष्ट छन् । पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रममा समेत देउवाले निधिलाई अघि बढाएका छैनन् । निधिले देउवाको समर्थन नपाए पनि आफूले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले पछिल्लोपटक आफ्नो टिम बनाउने तयारी गरिरहेका छन् । भदौमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता रहेपछि कांग्रेसमा महाधिवेशनको माहोल तातिएको छ । देउवासँग भिड्न संस्थापनइतर पक्षमा पनि धेरैले उम्मेदवारी दिने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला नेतृत्वको प्रतिस्पर्धामा छन् । युवा नेता कल्याण गुरुङले पनि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रकाशित : असार ५, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?