१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनाङको हुम्डेमा आधा घण्टा थुनियो मर्स्याङ्दी

आश गुरुङ

लमजुङ — माथिल्लो मनाङको हुम्डेमा मर्स्याङ्दी नदी आधा घण्टा थुनिएको छ । त्यहाँस्थित प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काले मनाङ गाउँतर्फ जाँदा बायाँपट्टी सडकबाट पहिरो गएर मर्स्याङ्दी थुनिएको बताए ।

मनाङको हुम्डेमा आधा घण्टा थुनियो मर्स्याङ्दी

शनिबार हुम्डे विमानस्थलको उत्तरी छेउदेखि डेढ सय मिटर माथि रहेको थुम्का खसेपछि मर्स्याङ्दी थुनिएको हो । मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले ढुंगा विछ्याएर बनाएको सडक माथिबाट भासिएर १ सय मिटर तल खसेको बताए । ‘सडक भासियो । मर्स्याङ्दीमा पहिरो खस्यो । मर्स्याङ्दी थुनियो’, उनले भने, ‘केहीबेर थुनिने, बाढीले नै खुलाउने, केहीबेर थुनिने, खुलाउने गर्दागर्दै अहिले दायाँपट्टी च्याप्दै मर्स्याङ्दी बग्न थालेको छ ।’

हुम्डेमा मर्स्याङ्दीको बाढीले दायाँपट्टी लो–फेलिङ स्कुलतर्फ च्याप्दै लगेको छ । दायाँपट्टीबाट पहिरो खस्न थालेको छ । डीएसपी खड्काका अनुसार माथि थुनिएर बगेपछिको असर तल पर्न थालेको छ । तल्लो क्षेत्रमा बाढी बढेको उनले बताए । ‘हुम्डेमा साँढे १ बजेतिर आधा घण्टाजति थुनिएको हो । अहिले खुलेपछि बाढी बढेर आएको छ’ उनले भने । उनका अनुसार बाढी ठूलो भएर आउँदा चामेलगायत बस्तीका ठाउँमा मर्स्याङ्दी वारिपारिसम्म बगेको छ ।

यस्तै, चामेमा घट्टेखोलाको बाढीले ढुंगामुढा बगाएर केही समथर भागमा थुपारेपछि बाढीले तालको रुप लिएको छ । माथिबाट बाढी बढेर आउनु र तल थुनिएपछि माथिल्लो मनाङ जानका लागि चामेमा निर्माण गरिएको बेलिब्रिजको माथिबाट बाढी बग्न थालेको छ । पारिपट्टीका घरहरु डुबानमा परेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले पानी निरन्तर बगेको र बाढी बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पानी खुलाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित : असार ५, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?