२४ घण्टामा १ हजार ६८८ जनामा कोरोना पुष्टि, थप ३४ जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार

२४ घण्टामा १ हजार ६८८ जनामा कोरोना पुष्टि, थप ३४ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

हालसम्म ३२ लाख ६२ हजार ५८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ । क्वारेन्टाइनमा भने ४४१ जना रहेका छन् ।

प्रकाशित : असार ५, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा नेपाललाई खोप सहयोग रोकियो : नेता थापा

कान्तिपुर संवाददाता

लन्डन — पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाएका छन् ।

शुक्रबार जूममार्फत आयोजित 'कोभिडविरुद्ध हाम्रो अभियान संवाद शृंखला’लाई सम्बोधन गर्दै थापाले भने, 'गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो ।'

उनले अगाडि भने, 'संसद् चलेको भए संसद्‌ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो । तर सरकारले त्यो अवसर पनि गुमायो ।' पूर्वमन्त्री थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि बताए । 'अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०–५० अर्ब रुपियाँ उठिसक्थ्यो', उनले भने, 'नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति व्यहोर्नु परेको छ ।'

आफू स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ-फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गएको बताए । 'प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ', उनले जिकिर गरे ।

उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दाबी पनि गरे । 'महामारीमा सबैभन्दा महत्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०-३५ दिनपछि नेपालमा कोरोना 'केस' देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन', उनले भने ।

थापाले आउँदो एक-डेढ वर्ष नेपाली कांग्रेसले सरकार चलाउने अवसर पाउने विश्वास व्यक्त गर्दै तर त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने जनाए । 'नेपालको राजस्व कर्मचारीको तलब, भत्ता दिनमात्रै पुग्छ, विकास निर्माणको काम गर्न ऋण लिनु पर्ने अवस्था छ। त्यसैले नेपालभित्रै लाखौं रोजगारी कसरी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्नेतर्फ अहिलेदेखि नै तयारी गर्न जरुरी छ', उनले भने । उनले नेपाली कांग्रेसभित्र 'विधानको शासन’ आवश्यक रहेकोमा पनि जोड दिए ।

'कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार' विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकहरुले कोभिडका कारण जागिर गुमाएको जनाउँदै श्रम सम्झौता सकिएर घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई अन्तर्राष्ट्रिय उडान स्थगित हुँदा ठूलो समस्या व्यहोरिरहेको बताइन् । संग्रौलाले छुट्टीमा आएका श्रमिकहरु पनि सजिलै फर्कन नसक्ने अवस्थाले धेरैले रोजिरोटी गुमाउनु परेको जनाइन् ।

उनले खाडी मुलुक तथा मलेसियामा कार्यरत नेपालीका समस्याबारे आफूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री लगायतको पटक-पटक ध्यानाकर्षण गरेको तर सरकारले कुनै वास्ता नगरेको गुनासो गरिन् ।

कन्सल्टेन्ट आयुर्वेदिक सर्जन डा मदन भण्डारीले कोभिडका कारण उत्पन्न तनाव व्यवस्थापनबारे प्रस्तुति दिए । कार्यक्रममा मध्यपूर्वस्थित विभिन्न जनसम्पर्क समितिका पदाधिकारीहरुले कोभिडका कारण नेपाली कामदारमा परेको असरबारे जानकारी दिएका थिए ।

प्रकाशित : असार ५, २०७८ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×