कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

केदार शिवाकोटी

दोलखा — पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो ।

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताए । ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उनले भने, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’

धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको घिमिरेले बताए । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो । ‘ताल बनेको खोला फुटाउने काम सुरु भएको छ,’ घिमिरेले भने, ‘सम्भावना कतिको हुन्छ, अझै यसै भन्न सकिदैन ।’

ताल फुटाउन चिनियाँ टोली पुगे पनि कति जना परिचालन गरिएको खुलाइएको छैन । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले सुनाए । उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने छ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ ।

चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर शुक्रबार रातिबाट मुख्य सहायक खोला थुनिएको हो । चीनसँग सिमा जोडिएको ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ । तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार ५, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?